त्यो पर्दैन

त्यो पर्दैन

सीता आस्था ढुङ्गेल

तिमीलाई के के पर्छ के पर्दैन त्यो थाहा छैन मलाई

मलाई सिर्फ एक मुठ्ठी श्वास थाहा छ ।

मलाई तिमीले बनाएको बतासे रेल पर्दैन

पानी जहाजको अँध्यारो खेल पर्दैन

तिम्रो जस्तो सुविधा सम्पन्न महलको रवाफ र अहङ्कार बोक्ने गाडी पर्दैन

पर्दैन सरकार मलाई त्यो पर्दैन ।

मलाई त्यो पाइप लाइनको ग्यास पर्दैन

तारे भिरमाथिको भ्युटावर पर्दैन

रातो कार्पेटमाथि उभिएको व्यभिचार पर्दैन

तिम्रो निर्वस्त्र मुस्कान र निर्लज्ज कानुन उस्तै छ

मलाई तिम्रो कुनै आश्वासन पर्दैन ।

भो ! जे जे दिएका छौ पुग्यो

अब तिमीले दिने कुनै पनि `त्यो´ पर्दैन

मैले मागेको हैन आफ्नै गाँस काटेर बनाएको

मेरो ढुकुटीमा मेरो अधिकार खोजेको हो

आज एक मुठी अक्सिजनसँग

एक अञ्जुली पानीसँग

आफ्नो भोक साट्न खोजेको हो मैले ।

कहिले हर्जना भनेर लुटिए

कहिले तिरो भनेर लुटिए

कहिले राजस्व भनेर लुटिए

कहिले जरिवाना भनेर लुटिए

कहिले जन्मदर्ता भनेर

मृत्युु दर्ता भनेर कहिले

घरनक्सा भनेर कहिले

लिलामी , बेरुजु र बक्यौता भनेर लुटिए

ढुकुटी आफ्नै हो म पनि नागरिक हुँ भन्ने भ्रममा

धेरै पटक चुनावमा झुक्किए ।

म अब तिम्रो प्राणका निम्ति झुक्किन्न

मलाई आज आफ्नै प्राणको अन्तिम मूल्य अक्सिजन चाहिएको छ

तिमीहरू जे सुकै गर मलाई मेरो साम्राज्य चाहिएको छ

मेरो लुटिएको ढुकुटी चाहिएको छ

मलाई तिम्रो कुनै पनि `त्यो´ पर्दैन ।