तोयानाथ भट्टराई
अशोक दाईले अन्तिम स्वास फेर्दा म पन्द्र बर्षको थिए । कदले फुच्चे थिए । कलिलो दिमाग थियो । मलाई साहै चम्किलो लाग्थ्यो उनी । उनको ‘मन’ मनपरेको की चटक्क मिलेको शरिर थाहा छैन ।
उसबेला पञ्चकन्या गाउँ विकास समितिका अध्यक्ष अशोक श्रेष्ठ करिब करिब युवाहरुका लागि आकर्षक व्यत्तित्वको नाम थियो । विकृतीका विरुद्ध आवाज बुलन्द गर्न सक्ने भएकाले पनि उनलाई मन पराउने हजारौ थिए ।
आइतबारे बजार नजिक उनको घरै छेउमा पञ्चहरुको समूहले गोली हानेर अशोक दाईको हत्या गरेको खबर भाइटिकाको भोलि पल्ट थाहा पाए । १९ कार्तिक २०५१ को राती उनको हत्या गरिएको थियो । खबर पाएपछि पुरै इलाम आइतबारेमा जम्मा भएको थियो । आँशु नबगाउने सायद कोहि थिएन । हत्यारा प्रति आक्रोस र अशोक प्रति श्रद्धा छचल्की रहेको थियो त्यहाँ । अहिलेको सूर्योदय नगरपालिका ११ आइतबारे शोकमग्न थियो ।
कांग्रेस नेता दिपक अधिकारीका अनुसार २००७ सालको क्रान्तिमा अशोकका हजुरबा मनमोहन श्रेष्ठको घरलाई सेल्टर बनाएर तत्कालीन सत्ता विरुद्ध प्रचार अभियान चलेको थियो । मनमोहनका माइला छोरा सिंह बहादुरका जेठा छोरा अशोक श्रेष्ठले त्यही विरासतबाट उठेर नेपाली कांग्रेसको राजनीतिमा होमीएका थिए । २०४६ सालको पञ्चायत विरुद्धको आन्दोलनमा सकृय सहभागिताले उनलाई रानीतिक उचाई दियो । पञ्चायत सत्ताले उनलाई पिच्छा गरेपछि केहि समय भारत निर्वासित बनेका उनी प्रजातन्त्र स्थापना पछि नेपाल आएका थिए । उनीसंगै मदन दास पनि निर्वासित भएका थिए ।
उनी प्रजातन्त्र स्थापना भएपछिको पहिलो स्थानीय निर्वाचनमा गाउँ विकास समिति अध्यक्ष भएपछि पञ्चहरुले हडपेका कतिपय सरकारी सम्पतीको खोजीमा लागे । यो पञ्चहरुलाई पचेन र उनको हत्या गरेको अशोकका कान्छा भाई रविन श्रेष्ठ बताउँछन् ।
उनी निष्ठाको राजनीतिमा विश्वास गर्दथे । अहिले पनि सबै दाजु भाईमा अशोकको राजनीतक चेत भएझै लाग्छ । माइला भाई सिदार्थ झापाको सनिअर्जुन नगरपालिका २ को वडाअध्यक्ष छन् । साईलो कविन्द्र र कान्छो रविन पनि राजनीतिमा गहिरो चासो राख्दछन् ।
अशोक दाईको हत्या पछि उनकी श्रीमती अनीता, छोरी बन्दना र छोरा आशिषको छहारी गुम्यो । अशोकको वियोगमा आँशु झार्नेहरु पनि अशोकलाई बिर्सन थाले । अशोकको सालिक निर्माण भयो । उनको शालिकलाई गिरीजा प्रसाद कोइरालाले अनावरण गरे । अशोकको परिवारलाई भने उनीहरुको अवस्था के छ भनेर कसैले चासो गरेन ।
सालिक बनेपछि पनि त्यसको संरक्षणमा कांग्रेसले चासो राखेन । परिवारले नै चासो दिन शुरु गरेपछि भने कांग्रेसले उनलाई सम्झने कर्मकाण्ड थालेको छ ।
मेची राजमार्गको पेटीमा उनकै घर माथी ठडिएको सालिकले कांग्रेसलाई नियाली रहेजस्तो लाग्छ । जनअधिकार रक्षाका लागि अशोकले घर छोडे र भारतमा बसेर नेपालको प्रजातन्त्रीक यात्रामा साथ दिए । घर छोडेका अशोकका घरमा भाउजु अनितालाई सत्ताका शुरक्षाकर्मीले दैनिक केरकार गर्दथे । सबैको मुहारमा प्रजातन्त्र देख्न चाहन्थे । प्रजातन्त्र भनेको नागरिकको मुहारको खुशीले मापन गर्दछ । प्रजातन्त्र आयो । त्यो व्यवस्था पनि ढल्यो । देशले संघिय लोकतान्त्रीक गणतन्त्र पायो । मुलुकले नयाँ संविधान पायो । सुन्ने गरिन्छ ‘यो अहिले सम्मकै उत्कृष्ट संविधान हो ।’ आज पनि नागरिकको भागमा लोकतन्त्र परेको छैन । गाँस, बास र कपासको अभावमा नागरिकले ज्यान फाल्नु पर्ने दिन कायमै छ । नागरिक अधिकार कुण्ठीत गर्ने प्रयास कुनै न कुनै रुपमा भइरहेकै छ । धेरै पर नजाउँ नागरिकमा खुशी खोजने अशोकको परिवारको मुहारमा कहिले कांग्रेसले खुशी खोज्यो ? जवाफ कसले दिन्छ ।
चुनावको सम्मुखमा देशले अशोकहरु खोजी रहेको छ । जनताको विश्वास बोक्ने शिखरीलो मान्छे खोजी रहेको छ । विकृतीका विरुद्ध आवाज बुलन्द गर्ने एउटा मान्छे खोजी रहेको छ । ओरालो लाग्दै गरेको देशलाई जुरुक्क उठाउने पात्र खोजी रहेको छ । फोहोरी राजनीतिले नागरिकमा निराशा मात्रै बाढि रहेको छ । यसका पात्रहरुको कर्मको पल हो यो । मुलुक अहिले निर्वाचनको माहौलमा छ । यो निर्वाचन पछि पनि मुलुकले गति लिन्छ भन्नेमा नागरिकले आशा गर्न सकेका छैनन् । अशोक सहिदको विश्वव्यापी मान्यतामा पर्ने सहिद हैनन् । उनले राज्य सत्ताका विरुद्ध बोलेको कारण सत्ताले सफाया गरेका पात्र हैन्न् । तर, समाजलाई सुधार गर्ने महान यात्रामा थिए । उनको ध्यान समुन्नत समाज बनाउने तर्फ केन्द्रित थियो । उनी त्यसका लागि लड्दै थिए । समाज सुधारक योद्धाको रुपमा सायद कांग्रेसले सहिद घोषणा गरेको हो ।
आज अशोक दाईको २८ औ स्मृती दिवसको अवसरमा एउटा गितको सम्झना आई रहेछ ः
‘लास माथी फुल राख्दैमा सहिदको सपना पुरा हुन्न हजुर ।’