इलाम : नेपाल ट्रेड युनियन कांग्रेस इलामले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीलाई ज्ञापन पत्र बुझाउँदै श्रमिकको न्युनतम पारिश्रमीक २५ हजार निर्धारण गर्न माग गरेको छ ।
युनियनको केन्द्रिय कार्यक्रम अन्तरगत आज इलामका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल मार्फत ज्ञापन पत्र पठाउँदै यस्तो माग गरेको हो ।
नेपाल ट्रेड युनियन काँग्रेस इलामका अध्यक्ष जीवन सुवेदीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय इलाम पुगेको प्रतिनिधि मण्डलले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भण्डारीलाई पठाएको ज्ञापन पत्रमा नेपालको श्रम ऐन, २०७४ मा व्यवस्था भए अनुसार प्रत्येक २÷२ वर्षमा त्रिपक्षिय सहमतीका आधारमा श्रमजीविहरुको न्युनतम पारिश्रमिक निर्धारण गरी लागु गर्नुपर्ने विषयमा युनियन कटिबद्ध रहेको उल्लेख गरिएको छ । ज्ञापन पत्रमा भनिएको छ ‘यही व्यवस्था बमोजिम २०८० आषाढ मसान्तमा त्रिपक्षिय आधारमा न्युनतम पारिश्रमिक निर्धारण गरी श्रावणदेखि लागु गर्नुपर्नेमा सरकार, रोजगारदाता र ट्रेड युनियनबीच पटक– पटक छलफल हुँदा पनि सहमतिमा पुग्न नसकेको अवस्था छ ।’
श्रमजीविको पारिश्रमिकको सन्दर्भमा नेपाल ट्रेड युनियन काँग्रेस विगतदेखि नै न्युनतम पारिश्रमिक श्रमिकको जीवनयापनको निमित्त सहजता प्रदान गर्ने हुनु पर्दछ भन्ने कुरा उठाउदै आइरहेको र यही अडानमा अडिग रहेको ज्ञापन पत्रमा उल्लेख छ ।
ज्ञापन पत्रमा रोजगारदाताका साथै सरकार समेत श्रमजीविको न्युनतम पारिश्रमिकमा गम्भीर नभएको उल्लेख गरिएको छ । ज्ञापन पत्रमा भनिएको छ ‘सरकार आफै कानुन विपरित देशमा दुई प्रकारको न्युनतम पारिश्रमिक निर्धारण गरी गम्भीर विभेद गरिरहेको छ । सरकारी कार्यालयमा कार्यालय सहयोगीलाई समेत मासिक रु.२६,०००÷– तोकेको अवस्थामा वर्तमान समयको कहालीलाग्दो मुल्य वृद्धि, महंगीमा मासिक रु.१५,००० मा श्रमजीविले कसरी जीवनयापन गर्दछन् भन्ने गम्भीर प्रश्न हामीमाझ उठेको छ ।’
इुनियनले सरकारलाई सोधेको छ ‘विशेषतः अनौपचारिक र उत्पादन क्षेत्रमा संलग्न लाखौं श्रमिकलाई बजार मुल्य वृद्धिको दाँजोमा अव्यवहारिक र अपुग पारिश्रमिक निर्धारण गरी कसरी उत्पादकत्व वृद्धि र देश समृद्ध बनाउन सकिन्छ ?’
ज्ञापन पत्रमा भनिएको छ ‘वर्तमान समयको मूल्य वृद्धि र महंगीलाई समेत ध्यानमा राखी नेपाल ट्रेड युनियन काँग्रेसले मिति २०८० आषाढ ४–६ सम्म काठमाण्डौंमा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनमा व्यापक छलफल गरी कम्तीमा श्रमिकको पारिश्रमिक न्युनतम मासिक २५ हजार हुनुपर्ने निर्णय गरेको छ । यहि निर्णयानुसार विभिन्न छलफल र संवादमा समेत यही अडान राख्दै आएको छ । यसको निमित्त उत्पादकत्व वृद्धि कार्ययोजनामा पुर्ण सहयोग गर्न नेपाल ट्रेड युनियन काँग्रेस प्रतिबद्ध छ ।’
युनियनले आकासिदो महंगीको वर्तमान अवस्थामा चिया बगान लगायत सबै क्षेत्रका श्रमिकहरुलाई एकरुपता कायम हुनेगरी न्युनतम पारिश्रमिक मासिक २५ हजार निर्धारण नभए श्रमजीविहरुको हकहित र अधिकारका लागि नेपाल ट्रेड युनियन काँग्रेस कडा भन्दा कडा कदम चाल्न बाध्य हुने उल्लेख गरेको छ ।
नेपाल ट्रेड युनियन कांग्रेसको ७७ वटै जिल्ला समितिले प्रमुख जिल्ला अधिकारीमार्फत श्रम मन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
विहिबार युनियनले श्रमिकको न्युनतम पारिश्रमिक २५ हजार निर्धारण गराउन दबाब दिने उदेश्यले ज्ञापनपत्र बुझाएको जनाएको छ । अहिलेको कहालीलाग्दो महँगीमा वर्तमान पारिश्रमिकले श्रमिकहरुले दैनिक जीवनयापन गर्न कठिन हुने भएकोले पारिश्रमिक २५ हजार पु¥याउन सरकारलाई दबाब दिएको ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले जानकारी दिए ।
युनियन सदस्यहरुले असार २७ गते न्यूनतम पारिश्रमिक २५ हजार निर्धारण गर भन्ने एस.एम.एस. प्रधानमन्त्री , श्रम मन्त्री र श्रम सचिवलाई पठाएको थियो ।
यसैगरी असार २९ गते सात वटै प्रदेश समितिले प्रदेश सरकार र असार ३१ गते केन्द्रीय समितिले श्रम मन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको ट्रेड युनियन कांग्रेसका उपमहासचिव बलदेव तामाङले जानकारी दिए ।