पशुपतिनगरमा ‘सूविधा पास’मा भारतीय गाडी प्रवेश शूरु

पशुपतिनगरमा ‘सूविधा पास’मा भारतीय गाडी प्रवेश शूरु

राजिप न्यौपाने

पशुपतिनगर : सूर्योदय नगर उद्योग वाणिज्य संघको पहलमा पशुपतिनगर भन्सार कार्यालयले आइतबार (आज)देखि पशुपतिनगर नाकाबाट निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारी साधनलाई नजिकको पशुपनितगर बजारसम्म आवतजावत गर्न ‘सुविधा पास’ उपलब्ध गराउन थालेको छ ।
तीन वर्षदेखि भारतीय सवारी साधनलाई यो सुविधा दिइएको थिएन । भन्सार कार्यालयले विहीबार सरोकारवालाहरुसंगको छलफल पछि आइतबारबाट नाकाबाट प्रवेश गर्ने भारतीय जीप, कार र मोटरसाइकल आदिलाई ‘सुविधा पास’ दिने निर्णय गरेको हो ।
सूर्योदय नगर उद्योग वाणिज्य संघले भन्सारलाई पत्रचार गरेर ‘सुविधाको पास’ उपलव्ध गराउन माग गर्दै आएको थियो ।
पशुपतिनगर भन्सार कार्यालयका प्रमुख प्रेम बहादुर लामाले पशुपतिनगर बजारको तल्लो छेउ सम्मका लागि ‘सुविधा पास’ उपलव्ध गराउने व्यवस्था गरेको बताए ।
इलामका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाले भारतीय पर्यटकको आवागमन बढाउन भारतीय गाडीलाई सुविधा पासको व्यवस्था गर्ने निर्णय गरेको बताए । उनले भने ‘व्यपारीक सम्भावना भएको बजार भएपनि कतिपय असहजताका कारण भारतीय पर्यटक आउन सहज वातावरण नभएकाले त्यस क्षेत्रको व्यपारीक चहल पहल ओरालो लाग्ने क्रममा छ ।’ यो निर्णयले पशुपनितगरको व्यपार र पर्यटन व्यवसायलाई सहयोग गर्ने उनले बताए ।
सूर्योदय उद्योग वाणिज्य संघ र सूर्योदय होटल एसोसिएसन, पर्यटन व्यवसायसँग आबद्ध संघसंस्थाले सीमा नजिकको बजारसम्म भारतीय सवारीसाधनलाई ‘सुविधा पास’मा प्रवेश दिन माग गर्दै आएका थिए । कोभिड १९ को प्रकोप पछि ‘सुविधा पास’ बन्द थियो ।
सूर्योदय नगरपालिकाका मेयर रण बहादुर राईले व्यवसायीले यात्रुसंग चर्को मुल्य असुलेको गुनासो आइरहेकाले मुल्य सूची, भाडा दरमा एकरुपता ल्याएर सेवा प्रदान गर्न सुझाव दिए । उनले भने ‘कानुन अनुसार स्वच्छ र पारदर्शी सेवाका लागि सबैले सहकार्य गर्नु आवश्यक देखिएका छ ।’
‘सुविधा पास’ बन्द भएपछि सूर्योदय नगर उद्योग वाणिज्य संघले सरोकारवालाहरुसंग सेवा पुर्ववत खुलाउने सम्बन्धमा पल गरिरहेको संघका अध्यक्ष प्रमोद राईले बताए । अध्यक्ष राईले भने ‘पशुपतिनगर क्षेत्र भारतका व्यपारीमा निर्भर बजार हो, भन्सारको पछिल्लो निर्णयले यहाँका व्यपार र पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पर्ने छ ।’
अध्यक्ष राईले भने ‘भारतीय नम्बर प्लेटका निजी प्रयोजनका सवारीसाधनले नेपालसँगको सीमा नाँघेर पशुपतिनगर बजारसम्म आउन ‘सुविधा पास’ पाउँदा नेपाली बजारमा चहलपहल बढ्ने छ ।’ यसअघि भारतीय गाडीले २४ घण्टासम्म नेपालको सीमाभित्र सवारी सञ्चालन गर्न दैनिक पाँच सय रुपयाँ रकम तिरेर अस्थायी अनुमतिपत्र लिर्ने गरेको थियो ।
झापाको मेची भन्सार कार्यालयले असोज १० देखि नै सुविधाको पासमा भारतीय गाडी नेपाल आउने व्यवस्था गरेको छ । अन्नपुर्ण पोष्टबाट