जोसमुनी सम्प्रदायको ईतिहास र माईपोखरी संरक्षणमा नारयणदील, निर्मलमाई साधुको योगदान

Share This
  •  
  • 142
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    142
    Shares
जोसमुनी सम्प्रदायको ईतिहास र माईपोखरी संरक्षणमा नारयणदील, निर्मलमाई साधुको योगदान


मिनेन्द्र अगुवा लिम्बु

     डा.स्वामी प्रपन्नाचार्यको खोज अनुसार बि.स. १७७० मा पश्चिम नेपाल बर्तमान अर्घाखाँची जिल्लाको अर्घावामरुकमा लालमणी मरासिनीका नाती, दिशै पंण्डित मरासिनीका छोराकोरुपमा जन्मिएका शशिधर मरासिनीले भारतको गुजरात प्रान्त जुनागढ़ राज्यको गिरिनारमा भगवान दत्तात्रेयको  दर्शन गरे पश्चात त्यस बेलाका प्रख्यात सिद्ध ज्योतिर्मुनी भुरेबाबा शिवस्वामीका सम्पर्कमा आए पछी आफ्ना गुरु ज्योतिर्मुनीको नाममा मुनि सम्प्रदायको स्थापना गरे ।

क्योकालेश्वर शिव मन्दिरको पुननिर्माण गरे । शाशिधरले गुरु आज्ञाले मुनि सम्प्रदायको स्थापना गरेपछी पहिलो नेपाली शिष्य रामबुद्धमुनिलाई बनाए । जोसमुनी परम्परामा ज्योतिर्मुनी,शाशिधरमुनि ,रामबुद्धमुनि,गोबिन्दमुनी.हरिशर्मामुनी सम्म पौडी क्योकालेश्वर मठको महन्त परम्परा नेपाली नै रहयो ।  हरिशर्मामुनी नै नेपालीहरुमा प्रथम महामहोपाध्यायको  उपाधी प्राप्त गर्ने विद्धवान थिए । हरिशर्मामुनीले धर्मानन्दमुनिलाई शिष्य बनाएर महन्तको पदभार समेत दिए/यहि देखि गडवाली महन्तको परम्परा चल्यो । बि.स.१८१० तिर शशिधरमुनि आफ्नो जन्मभूमि अर्घावामरुक नेपाल आएर धर्म र समाजमा व्याप्त जातपात ,छुवाछुतको बिकराल समयमा बि.स.१८२० तिर  रेसुङ्गामा जोसमुनी सम्प्रदायको स्थापना गरेका थिए । शशिधरमुनिका शिश्यहरुमा मायामण्डल ,मोक्षमण्डल ,शेषधर,धौकलदास, अटल कार्की काजी ,प्रेमदिलदास थिए । यिनै शाशिधरमुनिका शिष्यहरू बाट नेपाल भरि जोसमुनी सम्प्रदायको प्रचार प्रचार  गर्ने क्रममा प्रेमदिलदासलाई पूर्वी नेपाल तर्फ पठाएका थिए । प्रेमदिलले पूर्वमा बैदिकदिल,ज्योतिदिल,स्यामदिल,आदीलाई जोस्मुनी सम्प्रदायमा दीक्षित गराए । बैदिकदिल, ज्योतिदिलले  बि.स, १८५० मा भोजपुर छिनामखुका मेवाकर्ण कोयु राईलाई जोसमुनी सम्प्रदायका चेला बनाए । मेवाकर्ण राई दीक्षित भए पछी अगमदिलादास योगपट नाम राखियो

  अगमदिलादासले रामदिलदास, स्वरुपदिलदास ब्रामण लगायतलाई शिष्य बनाएर किरात,राई,लिम्बू,कामी,दमाई,लगायतको समुदायलाई जाँड,रक्सि,मांस,सुर्ती शेवन जस्ता दुर्व्यसन र गरिबी बाट छुटाउने  सामाजिक कामहरु गरे । छुवाछुत,जातपात,र हिन्दु धर्म भित्रको धार्मिक बिकृतिहरु प्रति कडा प्रहार गर्दै जोसमुनी सम्प्रदायमा दीक्षित (कानफुकुवा) भएर चेला भए पछी सबै जातजातीहरुले समानरुपमा सम्मानपूर्वक धर्म कर्म गर्न पाउने गरि कट्टर हिन्दु धर्म सस्कार भित्र क्रान्तिकारी, प्रजातान्त्रिक हिन्दु धर्म सम्प्रदायको रुपमा जोसमुनी सम्प्रदायको उदय भयो । त्यसै कारणले कट्टरपन्थी हिन्दु धर्म सस्कार भित्र यो जोसमुनी सम्प्रदायलाई  प्रतिबन्ध लगाईएको कारणले ठूलो सम्प्रदायको रुपमा फस्टाउन सकेन ।

 बि.स, १८८० सालमा ईलाम जिल्लाको आम्चोकका लामिछाने ब्रामण स्याउन्द वल्लभका पाँचौ छोराको रुपमा जन्मिनु भएका श्रीकृष्ण लामिछाने जोसमुनी धर्म सम्प्रदायमा अगमदिलदास पछी प्रेमदिलका चेला स्यामदिलादास वा सिद्धिदास (भगीरथ गुरुङ) का चेलाको रुपमा दीक्षित भए पछी सन्त ज्ञ।नदिलादासको नाम बाट प्रसिद्ध भए । ईलामका रनबहादुर कार्कीद्धारा लिखित  ईलामदर्शनमा उल्लेख भए अनुसार सन्त ज्ञनदिलादासले जातपात,छुवाछुत,लगायतका सामाजिक बिकृति,विसंगतिको बिरुद्ध चेतनाको दियो बाल्दै ओखलढुङ्गा रुम्जाटारको गुरुङ बस्ति बाट जोसमुनि धर्म प्रचार गर्दै करिब तीन सय साधु सन्त लिएर पूर्वी नेपालको ईलाम आईपुग्दा ईलामका कर्मकाण्डी बाहुनहरुले तत्कालिन बडाहाकिम कर्णेल जगराजसिंह थापालाई उजुरी गरेर पक्राउ गरि छ महिना सम्म  जेल समेत हाले । पछी रणोदीप प्रधानमन्त्री भाएको समयमा जोसमुनी धर्म प्रचार नगर्ने सर्तमा जेलमुक्त भए पछी दार्जिलिङ्ग, सिक्किम सम्म पुगेर आफ्नो मतको प्रचार गर्ने क्रममा त्यहाँका ईसाई पादरीहरु संग धार्मिक मत नमिले पछी धार्मिक शास्त्रार्थ गर्ने जित्नेले हार्नेको शास्त्रलाई डढाएर जित्नेको धार्मिक मतमा दीक्षीत हुनुपर्ने सर्तमा क्रिस्चियन ईसाई पादरीहरु शास्त्रास्तमा हारेकोले उनीहरुको बाईबल डढाई त्यो खरानीसंग मह मुछेर साना साना गोलीको माला बनाई लगाउन र त्यही खरानी(बिगौत) निधारमा लामो धर्सो पारेर बिजयको प्रतिक टिकाको रुपमा लगाउने प्रचलन बसाएकाले त्यही घटना देखि जोसमुनी धार्मिकक मतमा खरानी लगाउने खागी र खरानी नलगाउने त्यागि सम्प्रदायको बिकास भएको हो । जोसमुनी धर्म सम्प्रदाय नेपालको ओखलढुंगाको रुम्जाटार, ईलामको माईपोखरी, माबु, बर्दुधाम, झापाको बिर्तामोड हुदै  ,दार्जिलिंगको , आसाम, मणिपुर, वर्मा (म्यान्मार)सम्म फैलिएको छ।

   डा.स्वामी प्रपन्नाचार्यका अनुसार शशिधर मुनिले पौडी गडवालमा १७ औ शताब्दीमा आफ्ना गुरु  ज्योतिर्मुनी भुरेबाबाको नाममा चलाएको मुनि सम्प्रदाय (१) मधुनन्द महाप्रभुका  शिष्य महागुरु फाल्गुनन्द सरस्वती पाँचथरको भातेकाण्ड मुद्धा पछी जोसमुनी बाट छुटिएर सत्यहाङमापन्थी भए/(२)अटल कार्कीबाट गीतापाठी पन्थ चलेको छ । (३)  रङगबुल जोसमुनि काण्ड (पादरीहरु र सन्त ज्ञानदिलदाससंगको शास्त्रार्थ काण्ड) देखि खागी सम्प्रदाय चलेको छ । (४)अगमदिलदासका चेलाहरु बाट त्यागी जोसमुनी परम्परा चलेको छ । यी समेत अचेल जोसमुनी सम्प्रदाय चार समुहका विभाजित भएका छन्

     ईलाम माईपोखरीका नरबहादुर मुखिया सामाजीक अन्याय अत्याचारको बिरुद्ध सत्यको पक्षमा उभिदा जेल परेर जेल सरुवाहुदै बिरगंज कारागारमा तीन वर्ष सम्म बस्दा कारागारमा नै भेट भएका सन्त ज्ञ।नदिलादासकै चेला इलाम बर्दु(लक्ष्मीपुर) को लायदील साधु (…लिम्बू) बाट जोसमुनी धर्म सम्प्रदायको धार्मिक शिक्षा बाट नारायणदिल साधुको नाममा दीक्षित भएर ईलाम घर  फर्किए पछी आफ्नो श्रीमती बथली सुनुवार/मुखियालाई समेत लयदिल साधु बाट नै जोसमुनी धर्म सम्प्रदायको निर्मलमाई साधुको नाममा दीक्षित गरि लयदिल साधुको चेला बनाएर ईलाम जिल्लाको माईपोखरी क्षेत्रमा बि.स. २००७ साल अघि देखि नै शिवालय मन्दिर र साधु कुटी बनाएर जोसमुनी धार्मिक मतको प्रचार गरि चेला बनाउदै समाज सुधारको कार्य गर्नुका साथै मुख्य गरि माईपोखरी क्षेत्रको बनजंगल ,पोखरी वरिपरी प्राकृतिक विविधताको जगेर्ना गर्नमा नै नारायणदिल साधु र निर्मलमाई साधुहरुले जीवन सर्पण गर्नु भयो ।

 नारायणदिल साधु र निर्मलमाई साधुहरुले नापी सर्वेको समयमा माईपोखरी र सुलुबुंग क्षेत्रका त्यस बेलाका केही भूमाफियाहरूको नाममा मईपोखारीको जग्गा नापी गर्न नदिदा धेरै पटक निर्मम कुटाई खाएर मुद्धामामिला गर्दै अहिलेको माईपोखरी क्षेत्रलाई संरक्षण गर्नु परेको पीडा यो पंतिकारलाई निर्मलमाई साधुले बारम्बार सुनाउनुहुन्थ्यो । नारायाणदिल साधु बाजेले दार्जिलिंग, सुकिया,र सन्दकपुर क्षेत्रहरु बाट धुपीसल्ला, लोठसल्ला , चाँप, लालीगुराँस र अन्य प्रजातिका बनास्पतिहरु ढाकरमा रातभर  बोकेर ल्याई सबै घर व्यबहार छोडेर रातबिरात,पानी झरी, भोक,तिर्खा नभनी माईपोखरी वरिपरी रोपेर माईपोखरी क्षेत्रको प्राकृतिक संरक्षणमा पुर्याएको योगदानको बारेमा  ईलामका बासिन्दा र माइपोखरीको प्राकृतिक संरक्षणमा खटिएका सबैलाई राम्ररी थाहा छ । उहाँहरुको सम्मानमा धेरै खोजकर्ता, लेखकहरुले आफ्ना पुस्तक र पत्रपत्रिकाहरुमा समेत योगदानको कदर गर्दै लेखेका छन् ।

    निर्मलमाई साधु जीवनको अन्तिम घडी सम्म पनि माईपोखरी क्षेत्रको प्रकृति संरक्षणको निरन्तरताको लागि अत्यन्त चिन्तित हुनुहुन्थ्यो । माइपोखरीको प्राकृतिक संरक्षण  निरन्तरताको लागी गुठी वा निश्वार्थ धार्मिक संस्था स्थापनाको आवश्यकताको कुरा गर्नु हुन्थ्यो। त्यसैले उहाँको भावनाको कदर गर्दै मईपोखारीमा नारायणदिल र निर्मलमाई साधुले  सबै भन्दा पहिले स्थापना गरेको शिवालय मन्दिर र माईपोखरी क्षेत्रको प्रकृति संरक्षणको लागि केहि वर्ष अघि मैले नै “ माईपोखरी शिवालय मन्दिर तथा प्रकृति संरक्षण समिति ” नामको संस्था जिल्ला प्रसासन कार्यालय ईलाममा दर्ता समेत गरिदिएको थिए । उहाँहरु पछी अरु कसैले ठुला ठुला भवनको मन्दिरहरु बनाए होलान तर नारायणदिल साधु र निर्मलमाई साधुले बनाएको साधु कुटी र शिवालय मन्दिर नै मईपोखारीको सबै भन्दा पुरानो साधु कुटी र खास शिव मन्दिर हो । उहाँहरुले रोपेका बोट बिरुवाहरु अचेल धेरै फडानी भईरहेकोले चराचुरुंगीको चिरबिर र मईपोखारीको पानी समेत हराएर जाने खतरा बढेर गईरहेको छ ।   ईलाम जिल्लाको मात्र नभएर पूर्वी नेपालकै प्राकृतिक शौन्दर्यले भरिपूर्ण  प्रकृतिको अनादधुन बज्ने भूस्वर्ग प्राकृतिक पर्यटनको अथाह सम्भाबना बोकेको मईपोखारीको संरक्षण तर्फ स्थानीय सरकार देखि सम्बन्धित सबैको निरन्तर प्रयास हुन् जरुरी छ । यसको लागि स्थानीय बासिन्दा र घुम्न आउने पर्यटकहरु बाट समेत यस क्षेत्रको मुस्कान छर्दै आगन्तुकहरुको स्वागतमा फुलेका लालीगुराँस,चाँप,लगायतका  प्राकृतिक बस्तु र शौन्दर्यको जगेर्ना गर्नु जरुरी छ ।

  चिया बिस्तार योजना जसबिरे ईलामको जागीरको सईनोले ती महान आत्माहरु संग साधु सत्संग र मेरो जीवनको साईनो जोडिन पुग्यो । सईनोले नारायणदिल र निर्मलमाई साधुहरु बाजे ससुरा,बजु सासु समेत पर्नु हुन्छ । निर्मलमाई साधु बाट दीक्षा समेत लिएर उहाँको चेला हुन् पाउँदा म आफु लगायत हजारौले गर्ब महसुस गर्नु हुन्छ । उहाँहरुले आदर्श र मानवियता शिक्षाको दीयो जलाएर बैकुण्ठबासको यात्रामा गईसक्नु भयो।उहाँहरुको योगदान सरकार र समाजले कदापि भुल्न हुदैन/  मईपोखारीको प्राकृतिक संरक्षरण र शौन्दर्यको सम्झाना गर्दा नारायणदिल साधु र निर्मलमाई साधुले गरेको प्राकृतिक संरक्षण र जोसमुनी धार्मिक सम्प्रदाय बाट पुर्याएको धार्मिक,सामाजिक योगदानको समेत उच्च सम्मान गरौ ।