कोरोना कहर, लोकतन्त्र र निरपेक्ष राष्ट्र प्रणाली

कोरोना कहर, लोकतन्त्र र निरपेक्ष राष्ट्र प्रणाली

नेत्रप्रसाद निरौला
संसारभरी नै कोरोना महामारीले असर पारेको बेला हामी पनि अछुतो रहन सकेनौं ।म लगाएत मेरा परिवारका अन्य तीनजना सदस्यहरु यो कोरोना महामारीको शिकार भयौं । झण्डै १५ दिन जति छुट्टै बसेर आराम गरीयो र यस माहामारीलाई जित्न सफल भइयो । यस महामारीबाट जोगिने एकमात्र उपाय यहि रहेछ ।
झोलिलो कुराहरु बढी मात्रामा खाने ,पानी प्रशस्त पिउने ,पानीको बाफ लिने, आफ्ना घर वरिपरि रहेका ताजा फलफूल र तरकारी जस्ता खाद्य वस्तुहरूको प्रयोग सकेसम्म वढी गर्ने र उच्च मनोबलका साथ आराम गर्ने साथै ज्वरो घटाउने लगायतका चिकीत्सकको परामर्शमा केही औषधीहरु प्रयोग गर्नुपर्ने रहेछ ।
व्यक्तिपिच्छे यसका लक्षणहरु फरक पर्ने रहेछ र असरहरू पनि व्यक्तिको प्रतिरक्षा प्रणाली लगायत अन्य शारिरीक अवस्थामा भर पर्ने रहेछ । त्यसकारणले कुनै अप्ठ्यारो अवस्थामा देखिए सम्भव भएसम्म नजीकैको चिकित्सकसंग सहयोग लिन पनि जरुरी पर्ने रहेछ । तर, मैले यहाँ यसको रोगथामका बारेमा चर्चा गर्न खोजेको हैन, यस रोग निदान गर्न छुट्टै एकान्तमा वस्दा मनमा आएका केहि तर्कनाहरुलाई प्रस्तुत गर्न खोजेको मात्र हुँ ।
यसपटक केहि अनुभव भयो यो एकान्तबाासको बेला देशको राजनीति, कर्मचारीतन्त्र अथवा भनौ सिंगो राज्य संयन्त्र कति निरपेक्ष रहेछ भन्ने, पहिले पनि केहि सामान्य अनुभव त थियो तर यसपटक भने अझ प्रष्ट भयो ।
यो राज्य संयन्त्र, राजनैतिक दल, कर्मचारीतन्त्र अथवा भनौं यो राज्य कसका लागि के गरेर वसीरहेछ भन्ने यसपटक मलाई पटक पटक मनमा प्रश्न उठिरहयो, उत्तर खोज्ने धेरै प्रयास गरें, तर सकिन । राजनैतिक दलका नेताहरु जहाँ जस्तो अवस्थामा पनि भाषण गर्दा जनता भन्ने शब्द पटक पटक प्रयोग गरिरहन्छन् । यहाँ प्रश्न उठ्छ जनता भनेको को हो? नयाँ ताजा जनादेश जनतासंग लीने, राजनीति जनताका लागि, सम्पूर्ण राजनीति, राजनैतिक परिवर्तनहरु, प्रजातन्त्र, लोकतन्त्र अथवा अन्य सम्पूर्ण परिपाटी जनताकालागि भन्ने गरिन्छ, तर जनताले के साच्चै राज्यवाट लाभ प्राप्त गरेका छन त ? यसको लेखा जोखा अहिले सम्म कसैले गरेको छ ? हाम्रो देशमा राजनीति गर्ने र नेतृत्वमा पुग्ने केही नेताहरु लगायत उनीहरुका वरिपरी झुम्मिने आफना कार्यकर्ता र आफन्त तथा केहि पुँजीपति वर्ग आफ्नो पहुँचमा राज्यका सेवा तथा सुविधाहरु सजिलैसँग प्रयोग गर्न सक्छन, त्यही भएर उनीहरु सर्वसाधारण जनतालाई पनि यहि अवस्थामा छन् भन्ने ठान्दछन् तर सर्वसाधारण नागरिकहरुको अबस्था यस्तो पटक्कै छैन । उदाहरणका लागि राज्यकोषवाट पैसा झीकेर विदेशमा गएर उपचार गराउनेलाई सर्वसाधारण जनता सरकारी अस्पतालमा हप्तौ लाइनमा लागेर, अरु थुप्रै दुख कष्ट सहेर गरीने उपचारको समस्या के थाहा ? अथवा उपचारका क्रममा निजी अस्पतालमा महंगो उपचारका कारण हुने पिडा के थाहा ? तर, जनतालाई ,जनताका लागि भन्ने रटान कहिले छोड्दैनन राजनैतिक कार्यकर्ता ।
म कोरनाको समस्या भएर एकान्तमा बसिरहेको बेला एउटा फोन आएको थियो, सम्भवत, नगरपालिकाको कुनै शाखाबाट हुनुपर्छ, घरको सबैभन्दा मुल मान्छे बिरामी भएको कारणले कतै जाने अवस्था नरहेको र कोरोना लक्ष्यण भएको तथा सार्वजनिक यातायात पनि नभएको, कारणले कम्तीमा पनि नजिकै अथवा घरमै कोरोनाको टेस्ट गर्ने व्यवस्था मिलाइदिन अनुरोध गरेको थिएँ तर उहाँहरुले नियममा नमिल्ने भनेर फोन राखी दिनु भयो । एउटा नागरिकलाई समस्या परेको बेला राज्यसँग भएको स्रोत र साधन उपयोग गरेर सहयोग गर्नु अनुचित हो र भलै नियममा अथवा कानुनमा नलेखिएको होस, हरेक कार्यालयहरु जाँदा नागरिकले केही सेवा र सुविधा चाह्यो भने अथवा आफ्नो समस्याका समाधान कालागि सामान्य ब्यक्तिगत सुविधाको आशा गर्यो भने नियमले कानुनले मिल्दैन भन्ने उत्तर आउँछ तर हरेक कार्यालयहरु लगायत सिङ्गो राष्ट्र नै कानुनसम्मत हिँडेको जस्तो लाग्दैन,अस्त ब्यस्त जस्तो लाग्छ । होटल, रेष्टुरेन्ट, आदिमा खोपहरु भेटिन्छन र खोपहरुमा भएको अनियमितता समाचारमा जताततै भेटिन्छ । के यो कानुनसम्मत हो र अथवा यस्ता बेतिथिहरू धेरै भेटिन्छन् । राष्ट्र सेवक कर्मचारीहरुले यो संकटकालमा केही बढी समय दिएर नागरिकहरुकाका लागि इमान्दारितापूर्वक खटिइदिदा के कानुन बिग्रन्थ्यो र ! कानुन जनताकालागि हो कि कानुनका लागि जनता हुन् ।
यो कोरोनाको समस्यामा नागरिकलाई त्यतिधेरै राज्यबाट सहयोग भएजस्तो मलाई लाग्दैन,आफ्नै प्रयासले आफ्नै बलबुताले ,नागरिकले बाँच्नको निमित्त जेजति प्रयासहरु गरे ,राज्यको सहयोग सारै कम रहयो,वरु कोरोनाको समयमा राष्ट्र अस्त व्यस्त भएको बेला धेरैले यसबाट नाजायज फाइदा लिन खोजेको नै बढी देखियो । नागरिकलाई समस्या परेको बेला सहीरूपमा सहयोग गर्न छोडेर राज्य मान्छेको मृत्यु भएपछि त्यसको व्यवस्थापन गर्न हतार गरे झै लाग्दछ । बन्दा बन्दीलाई कढाई साथ लागू गर्न प्रयोग गरीएका सुरक्षाकर्मीहरुलाई नागरिकको सेवा सुविधामा अथवा नागरिकलाई आवश्यक पर्ने सुविधा उपलब्ध गराउन प्रयोग गर्न सकिएको भए अझ राम्रो हुने थियो कि जस्तो लाग्दछ ।
यसभन्दा अगाडिका राजनीतिक व्यवस्थाहरुमा प्रशस्त बेथितिहरु रहे ,नाताबाद, कृपावाद,चाकडी , राज्य शक्तिको दुरुपयोग गरियो जसले गर्दा सर्वसाधारण नागरिकहरूले राज्यबाट कुनैपनि सेवा सुबिधा प्राप्त गर्न सकेनन भनेर नागरिकहरूले पटकपटक विद्रोह गरेर अहिलेको राजनैतिक प्रणाली संघीय गणतन्त्र स्थापना गरेको हुन् तर यो संघीय गणतन्त्र,अगाडिका कुनैपनि व्यवस्थाभन्दा सुध्रिएको र उपलब्धिमुलक तथा सर्व साधारणले नागरिकले अनुभूति गर्न सक्ने हुन सकेन,झन वेथिति मौलाएको चै अनुभूति नागरिकले गर्न थाले। दलीय झगडाले राजनीति अस्तब्यस्त बन्दै गयो, सरकारसँग नजिक केही ब्यक्तिहरुलाई बाहेक अधिकांश नागरिकले परिवर्तनको महसुस गर्न सकेका छैनन्। कर्मचारी प्रशासन झन निरपेक्ष बनेर,कागची घोडा चडेर दौडीरहेछ,निजी स्वार्थमा रुमल्लिरहेको छ । राजनीतिक नेतृत्वहरु आफ्नो वर्चस्व बचाउन हर प्रकारका गतिबिधिहरुमा आँखा चिम्लेर बसिरहेको भान हुन्छ ्रअहिले नागरिकलाई ठुला सपना भन्दा,ठूला विकास निर्माणका काम भन्दा,रेल, पानीजहाज ,चुलामा ज्ञास भन्दा , सुशासन, नागरिक सहयोग, शान्तिसुरक्षा,राजनीतिक स्थिरता आदिको वढी आवश्यकता देखिन्छ ।
.