logo
  • २०८३ बैशाख ११, शुक्रबार | Fri, 24 Apr 2026
  • भारतीय सहयोगमा बन्न लागेको इलाम अस्पतालको आकस्मिक भवन  शिलान्यास

    • निगरानी
    • २०८३ बैशाख ११, शुक्रबार १७:१५ गते
    भारतीय सहयोगमा बन्न लागेको इलाम अस्पतालको आकस्मिक भवन  शिलान्यास

    सविता पाण्डे , इलाम , ११ बैशाख : इलाम अस्पतालको  आकस्मिक भवनको शिलान्यास गरिएको छ । नेपाल भारत सहयोग अन्तर्गत निर्माण हुन लागेको  भवनको शुक्रबार  भारतीय दुतावासकी  काउन्सिलर  गीताञ्जली ब्रेन्डन  र इलाम नगरपालिका प्रमुख केदार थापाले संयुक्त रुपमा  शिलान्यास गर्नु भएको छ । शिलान्यास पछि भारतीय दुतावासका काउन्सिलर  गीताञ्जली ब्रेन्डनले यो परियोजना नेपाल भारत सुदृढ विकास साझेदारीको महत्त्वपूर्ण उदाहरण रहेको बताउनु भएको छ । यस परियोजनाले स्वास्थ सेवा सहज र प्रभावकारी बनाउन सघाउ पुर्याउने उहाँले बताउनु भएको छ । भारत सरकारको यस किसिमको ९ वटा परियोजना इलाम जिल्लामा संचालनमा रहेको बताउनु भएको छ ।


    इलाम नगरपालिका र भारती राजदुतावास बीच २०८२ कार्तिक २४ गते  सम्झौता भएको र भारतीय राजदुतावासले स्वीकृत गरेको कुल रकम  १९ करोड ७५ लाख ४४ हजार ४२० रुपैया  रहेको नगर प्रबक्ता नुतनदेव दुलालले जानकारी दिनु भएको छ ।


    जसमध्ये इलाम नगरपालिकाको लागत सहभागिता रकम २ करोड १९ लाख ५० हजार रहेको छ ।    भवन निर्माण तर्फ १४ करोड १५ लाख ४४ हजार ४२० रुपैया खर्च हुनेछ भने स्वास्थ उपकरण तथा सामाग्री खरिदमा ५ करोड ६० लाख खर्च हुने जनाइएको छ ।


    इलाम अस्पताल आकस्मिक भवनको पहिलो फेजको कार्यक्रम अन्तर्गत निर्माण कार्य समयमा  सम्पन्न गरी इलामका नागरिकलाई गुणस्तरीय स्वास्थ सेवा उपलब्ध गराउन सहज हुने इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताउनु भयो । इलाम नगरपालिकाले भारतीय राजदुतावासमा अस्पताल निर्माणको लागि गरेको  पहल सार्थक बनेको  भन्दै प्रमुख थापाले  आगामी दिनमा पनि सहयोग  प्राप्त हुनेमा आशावादी रहेको  बताउनु भएको छ । पहिलो फेजको कार्यक्रमको ६० प्रतिशत कार्य सम्पन्न भएपछि दोस्रो फेजको कार्यक्रमको लागि प्रक्रिया अघि बढाइने प्रमुख थापाले बताउनु भएको छ ।

    कार्यक्रममा इलाम नगरपालिकाका पुर्व प्रमुख तथा पुर्व संघीय सासद महेश  बस्नेतले इलामका  नागरिकको स्वास्थ स्थितिलाई मध्यनजर गर्दै स्वास्थ सेवालाई उच्च तहमा पुर्याउन महत्त्वपूर्ण कार्यको थालनी भएको बताउनु भयो ।

    निर्माण २०८२ फागुन १४ गते  ठेक्का सम्झौता भैइ निर्माण थलिएको छ ।  अर्थ डिजाइनर्स एण्ड डेभलपर्स  प्रा.लि. ले २०८४ जेठ १५ गते सम्म काम सक्ने ठेक्का प्राप्त गरेको छ ।
    २०३३ सालमा भारत सरकारको सहयोगमा निर्माण भएको अस्पतालको पुरानो भवन जीर्ण भएपछि उक्त भवन भत्काएर नयाँ भवन बनाउन लागिएको हो । शिलान्यासकै अवसरमा नगरपालिकाकालाई प्रारम्भिक रुपमा २ करोडको चेक हस्तान्तरण गरिएको छ ।

    शिलान्यासको अवसरमा काउन्सिलर ब्रैन्डनलाई इलाम नगरपालिकाले  मिनि दमकल उपलब्ध गराइदिन अनुरोध पत्र समेत बुझाइएको छ । भौगोलिक विकटताका कारण ठुला दमकलहरु पुग्न समस्या भएकाले सानो दमकल आवश्यक रहेको नगर प्रवक्ता नुतनदेव दुलालले  बताउनु भयो  ।

    कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।



    निगरानी    
  • २०८३ बैशाख ११, शुक्रबार १७:१५ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP