logo
  • २०८३ असार १३, शनिबार | Sat, 27 Jun 2026
  • हराभरा बन्दै जलवायु अनुकुल नमुना गाउँ बेलासे

    हराभरा बन्दै जलवायु अनुकुल नमुना गाउँ बेलासे


    सविता पाण्डे , इलाम १३ असार :
    तीन वर्ष अघिसम्म हिउँदमा सुख्खा बाँझो रहने र वर्षादमा आकाशे पानी पर्दामात्र खेतीबाली लगाइने गरेको इलाम नगरपालिका ११ स्थित बेलासेका जमिनमा अचेल बाह्रैमास खेती गरिन्छ । नजिकै माई खोला भएपनि खोलाभन्दा उचाइमा रहेकैले सिञ्चाइ अभाव भएर हिउँदभरि यहाँका खेतबारी नाङ्गै देखिन्थे । दुई वर्षअघिमात्र यो ठाउँलाई जलवायु अनुकुलन नमुना गाउँ घोषणा गरेर सोलार लिफ्टिङ प्रणाली मार्फत खोलाको पानीले सिञ्चाइ हुन थालेपछि भने यहाँका खेतीयोग्य जमिन हराभरा बन्ने गरेका हुन् ।
    स्थानीय बासिन्दाका अनुसार सिञ्चाई पुगेर बाह्रैमास खेती हुन थालेपछि यहाँका किसानको आम्दानी बढेको छ । ‘पहिले पानी नहुँदा धेरै खेत बाँझै थियो । अहिले सिञ्चाइ पुगेपछि तरकारी लगाउन थालेका छौँ । आम्दानी पनि बढेको छ,’, स्थानीय बुद्ध लोक्तामले भने, ‘खेती विस्तार गर्न नसक्दा घरखर्च धान्न समेत कठिनाइ थियो ।’ बेलासेमा अचेल जलवायु मैत्री खेती विस्तार हुन थालेको लोक्तामको भनाइ छ । यहाँका जमिनमा विभिन्न किसिमका तरकारीबालीसहित केरा, सुपारी, तोरी जस्ता नगदेबाली लहलहाउन थालेका छन् ।
    जलवायु परिवर्तनबाट पर्ने असर न्युनीकरण गर्दैै स्थानीय समुदायको जीवनस्तर उकास्ने र गाउँलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित इलाम नगरपालिकाले जलवायु अनुकुलित गाउँको अवधारणा अघि सारेर यसै अनुरुप कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ । जलवायु अनुकुलन नमुना गाउँ घोषणापश्चात आर्थिक वर्ष २०८०/८१ मा इलाम नपा, क्यानेडियन राजदूतावास र नामसालिङ सामुदायिक विकास केन्द्र (एनसीडीसी)को साझेदारीमा ६५ लाख ४५ हजार रुपैयाँ लागतमा सोलार लिफ्टिङ प्रणाली जडान गरेर माईखोलाको पानी गाउँसम्म पुर्‍याइएपछि सिञ्चाइ सुविधा र जलवायुमैत्री खेतीको अभ्यास सुरु भएसँगै बेलासे हराभरा बनेको हो ।
    सुख्खाग्रस्त क्षेत्र भएको, गाउँदेखि मास्तिरका पानीका मुहानहरु सुकेकोले सोलार लिफ्टिङ प्रणालीबाट पानी तानेर करिव एक हेक्टर जमिनमा सिञ्चाई सुविधा पुर्‍याइएको एनसीडीसीका कार्यक्रम संयोजक सुवोध निरौलाले जानकारी दिए । पाँच वर्षे वेलासे जलवायुुु अनुकुलन योजना निमार्ण गरी योजनाअन्तर्गत उत्पादकत्व वृद्धि गर्न घर बगैैँचा कार्यक्रम, साना सिञ्चाई प्रणाली स्थापना, बायोग्याँस निर्माण, वैकल्पिक आर्यआर्जनको लागि लघु उद्यम कार्यक्रम, सुधारिएको खोर तथा गोठ, सुधाएिको चुलो जस्ता गतिविधि समेटिएको निरौलाले बताए ।
    ‘क्लाईमेट र्स्माट एग्रिकल्चर’ को अवधारणसहित जलवायु मैत्री कृषि प्रणाली अघि बढाउन कार्यक्रम सञ्चालन गरिएको हो,’ संयोजक निरौला भन्छन्, ‘कृषि तथा खाद्य सचेतना, जलवायु अनुकुलन सचेतना जगाउन समुदायलाई क्षमता अभिवृद्धि, पानी व्यवस्थापन र जलवायुमैत्री कृषि जस्ता सचेतनाका कार्यक्रमहरुमा सहभागी गराईएको छ ।’ त्यसपछि किसानहरू व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेको उनको भनाइ छ ।
    पहिले महिलाहरूले टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता भएकोमा अहिले सिञ्चाइ तथा सरसफाइका लागि पानी सहज उपलब्ध भएपछि श्रम र समय दुवै बचत भएको स्थानीय बताउँछन् । स्थानीय पदम लोक्तामका अनुसार सोलार लिफ्टिङ प्रणालीले सिञ्चाइ मात्र होइन, सरसफाइका काममा समेत ठूलो राहत दिएको थियो । ‘खानेपानी त बोकेर ल्याउनुपर्थ्यो, तर सिञ्चाइ र सरसफाइका लागि लिफ्टिङको पानीले धेरै सहज बनाएको थियो’, उनले भने ।
    योजनाअन्तर्गत वेलासेमा सोलार लिफ्टिङ प्रणालीसहित दुईवटा बायोग्याँस प्लाण्ट जडान, २० वटा सुधारिएको चुलो निर्माण, एउटा कुटानी पिसानी मिल जडान र तरकारी तथा फलफूलका विरुवा वितरण गरिएको एनसीडीसीका इन्जिनियर घनेन्द्र भण्डारीले जानकारी दिए । उनले भने ‘सोलार लिफ्टिङ प्रणालीबाट प्रति सेकेण्ड पाँच लिटर पानी गाउँमा झर्‍थ्यो । यसबाट २० घर परिवारलाई सुविधा पुगेको थियो ।’ गत असोज १८ र १९ गतेको बर्षाद् र भेलबाडीले यहाँको सोलार लिफ्टिङ प्रणालीमा क्षति पुर्‍याएको र पानी तान्ने मोटर बगाएको कारण अहिले सञ्चालनमा नभएको जानकारी दिँदै उनले पुनः सञ्चालनका लागि साढे तीन लाख रुपैयाँ खर्चिएर मर्मत गर्ने प्रकृया अगाडि बढाइएको बताए ।
    वडा नं. ११ का वडाध्यक्ष टासी जवेगुले पनि यो परियोजनाले स्थानीयको जीवनस्तर सुधारमा महत्वपूुर्ण योगदान पुर्‍याएको भन्दै सोलार लिफ्टिङ प्रणालीको मोटर सेट बगाएर क्षति पुगेकोले मर्मत कार्य अघि बढाइने बताए ।
    अहिले स्थानीयले कुलोमार्फत आएको पानी तथा अन्य वैकल्पिक स्रोत प्रयोग गरिरहेका छन् । बेलासेमा सोलार लिफ्टिङ प्रणालीको वैकल्पिक स्रोतको रुपमा कुलो सिञ्चाई पनि निर्माण भएको छ । इलाम नगरपालिकाको साना सिञ्चाई कार्यक्रममार्फत यहाँ लाभे डुमे्रखोल्सा हुदै बेलासी सिञ्चाई योजना सम्पन्न भएको हो ।

    सिञ्चाई सुविधा पुगेपछि २० घरधुरीमा रहेका एकसय १२ जनाको पाँच हेक्टर जमिनमा सिञ्चाई सुविधा पुगेको साना सिञ्चाई कार्यक्रमका फोकल पर्सन बासु पोख्रेलले जानकारी दिए ।
    २३ लाख ७६ हजार दुईसय ५५ रुपैयाँ लागतमा यो योजना निर्माण सम्पन्न भएको हो । स्वीस सरकारको ३०, नेपाल सरकारको २०, कोशी प्रदेश सरकारको २०, इलाम नपाको २० र स्थानीय उपभोक्ताको १० प्रतिशत लागत साझेदारीमा सिञ्चाई कार्यक्रम सम्पन्न गरिएको पनि फोकल पर्सन पोख्रेलले बताए ।
    स्थानीय किसानहरू भने सोलार प्रणाली छिट्टै सञ्चालनमा आए कृषि उत्पादन अझै बढाउन सकिने बताउँछन् । हिउँदमा कुलोको पानी पनि कम हुने हँुदा सोलार लिफ्टिङ प्रणाली नै उत्तम हुने र स्थानीयलाई राहत मिल्ने बुद्ध लोक्तामको भनाइ छ । उनले सोलार लिफ्टिङ प्रणाली मर्मतको लागि माग गरिएको पनि बताए ।
    सोलार प्रणालीको मर्मत तथा पुनः सञ्चालनका लागि नगरपालिकाले आवश्यक प्रक्रिया अघि बढाइसकेको इलाम नगरपालिकाका नगर प्रमुख केदार थापाले बताएका छन् । नगरपालिका र उपभोक्ताको लागत साझेदारीमा मर्मत गरि आगामी आ.व.मा सञ्चालनमा ल्याइने नगर प्रमुख थापाको भनाइ छ ।
    इलाम नगरपालिका नगर कार्यपालिकाको कार्यालय, प्रकृति रिसोर्सेस सेन्टर र सहयात्रा नेपालले २०८१ सालमा पाँच वर्षे इलाम नगरपालिकाको स्थानीय जलवायु अनुकुलन योजना तयार गरेर यससम्बन्धी नगरभरि कार्यक्रम गर्न थालिएको छ ।
    कार्ययोजनाले इलाम नपाभित्र पनि पहिरो, भलबाढी र खडेरी जस्ता जलवायुजन्य प्रकोपबाट जनधनको क्षति तथा कृषि उत्पादनमा कमी आएको, कृषिबाली, पशुपंक्षी तथा जैविक विविधता प्रभावित भई अन्ततोगत्वा मानव समुदायको बहुपक्षीय जोखिम बढेर गएको, नयाँ मिचाहा प्रजातिहरु देखिएको, स्थानीय रैथाने गैर काष्ठ वनपैदावर उत्पादन घटेको अनि खानेपानीको उपलब्धतामा कमि आउनुका साथै पानी मुहानहरु सुकेको जस्ता जलवायुको परिवर्तनका असर तथा प्रभावहरु देखिएको उल्लेख गरेको छ । कार्ययोजनामा प्रकोपका दृष्टिकोणले वडा नं. ११ लाई उच्च सङ्कटासन्न क्षेत्रको रुपमा औँल्याइएको छ ।
    पाँच वर्षमा नपाभित्रका विपन्न, महिला तथा दलित वर्गहरुको अनुकूलन क्षमता अभिवृद्धि गर्न ४७ करोड १० दश लाख रुपैयाँ बराबरका वडास्तरीय विस्तृत स्थानीय अनुकूलन कार्ययोजना तयार गरिएको छ । त्यसका लागि जलवायु मैत्री गाउँ, जलवायु मैत्री कृषि प्रविधि विकास र प्रसार, पानी मुहान संरक्षण, रिचार्ज पोखरी निर्माण, कृषक र वन्यजन्तु बीचको द्वन्द्ध निवारण, बालीको रोगकीरा व्यवस्थापन अभियान सञ्चालन गरिनेछ ।
    त्यस्तै भूक्षय र पहिरो नियन्त्रण तथा नदी कटान नियन्त्रणको लागि नदी व्यवस्थापन तालिम, वृक्षारोपण, तथा जैविक आभियान्त्रिकी (बायोइन्जिनियरिङ), गरा सुधार, कृषि वन प्रवद्र्धन, खडेरी, बढी वर्षा सहने तथा रोग किरा प्रतिरोधक बाली प्रजातिहरुको प्रवद्र्धन, बाली उपचार शिविर, माटो परिक्षण शिविर, दिगो माटो व्यवस्थापन, खोलाको पानी लिफ्टिङ सिञ्चाई जस्ता काम हुनेछन् । वन व्यवस्थापन, जैविक विविधता संरक्षण, वृक्षारोपण तथा अग्नि नियन्त्रण तालिम तथा उपकरण प्रदान, आकस्मिक प्रकोपमा उद्धार र राहत, पूर्व सूचना प्रणालीको स्थापना, आकस्मिक स्वास्थ्य सेवा, फोहोरमैला व्यवस्थापन, ढल व्यवस्थापन, जीविकोपार्जन तथा महिला लक्षित सीप विकास, वैकल्पिक जिविकोपार्जन, पर्यटन विकास, जलवायु कोष, जलवायु सचेतना केन्द्र स्थापना पनि गरिनेछ ।



    निगरानी    
  • २०८३ असार १३, शनिबार १३:४५ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP