इलाम, १२ असार : इलाम नगरपालिका वडा नं. ८ न कार्यालयको आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत बालमैत्री कार्यक्रम सञ्चालन शीर्षकमा विनियोजित बजेटबाट शुक्रबार एकदिवसीय बालमैत्री अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।
वडा अध्यक्ष दलमान तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्यहरू सोमकुमारी गुरुङ, सरुना विश्वकर्मा, रुपबहादुर खड्का र रमेश कुमार बुढाथोकीको सहभागिता रहेको थियो। साथै पूर्व वडा अध्यक्ष होमबहादुर बस्नेत, पूर्व वडा सदस्यहरू, वडा अन्तर्गतका विषयगत समितिका अध्यक्ष तथा प्रतिनिधि, सरकारी तथा निजी विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थी, टोल विकास संस्थाका प्रतिनिधि, शहरी स्वास्थ्य केन्द्र तिल्केनीका प्रमुख बसन्त कुमार सुवेदी, महिला स्वास्थ्य स्वयंसेविका लगायत गरी करिब ११० जनाको उपस्थिति रहेको थियो।
कार्यक्रममा बालअधिकार, बाल संरक्षण, बालमैत्री स्थानीय शासन, बाल सहभागिता तथा बालमैत्री वातावरण निर्माणका विषयमा विस्तृत अभिमुखीकरण गरिएको थियो। सहभागीहरूलाई बालमैत्री वडा निर्माणमा समुदाय, विद्यालय, अभिभावक तथा सरोकारवालाको भूमिका र जिम्मेवारीबारे जानकारी गराइएको थियो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी सहायक निरीक्षक मीरा ओली, मानव अधिकारका लागि महिला मञ्च इलामका अध्यक्ष शारदा उप्रेती, इलाम नगरपालिकाको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता शाखा प्रमुख गौरा भट्टराई र एस. सङ्कल्प नेपालका कार्यक्रम अधिकृत यामबहादुर कटुवालले सहजीकरण गर्नुभएको थियो।

वडा कार्यालयले बालमैत्री स्थानीय शासनको अवधारणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै बालबालिकाको अधिकार संरक्षण, सुरक्षित वातावरण निर्माण तथा बालमैत्री समाज निर्माणका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। कार्यक्रम सहभागीहरूको सक्रिय सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको वडा कार्यालयले जनाएको छ।
प्रतिक्रिया