जुनु ढकाल कार्की
‘दिन भरी कोसंग बसेर अहिले स्वांङ्ग पार्दै आउनु परेको । यति लामो दिनमा कमसेकम श्रीमतीले के खाई , के गर्दै छे होला भनेर एक कल फोन त गर्न सकिन्छ नि ।’ गोपाल घर भित्र पस्ना साथ रमिलाले ठाडै निल्ने प्रयास गरी । गोपाल काँधमा झन्डिएको कालो ब्याग टेवल माथि राखेर टोपी फुकाल्दै टुसुक्क छेउको मेचमा बस्छ । दिन भरीको थकाइलाई मेटाउन लामो सुस्केरा तानेर सानो स्वरमा भन्छ , ‘रमिला पहिला मलाई १ गिलास चिसो पानी देउ न है अनि मेरो कुरा सुन ।’ गोपालको कुरा भुईमा खस्न नपाँउदैै झन चर्को स्वरमा रमिला कराई ‘दिन भरी अफिसका मैयाहरुले दिएनन पानी ? बुढीले के खाई कसो गरि त हैन उल्टै बाटै बाट नै मसंगै खाजा, पानी माग्न तिमीलाई अलिकति पनि लाज लाग्दैन है ?
गोपाल चुपचाप मोजा खोलेर बाथरुममा छिर्छ । धाराको पानी पिउँछ । हात मुख धोएर कोठामा पस्छ र सिरानीमा टाउको राखेर आज बिहान देखि दिन भरीका कुराहरु झल्झली सम्झन थाल्छ । बिहान खाना दिने बेलामा श्रीमती रमिलाको झर्को फर्को, बाटोमा जाँदा मोटर साइकल बिग्रेर समस्या, अफिस ढिलो पुगेकै निहुँमा हाकिमले आफूलाई थर्काएको, लेखा फाँटमा कार्यरत भएकोले दिन भर हिसाव किताव मिलाँउदा मिलाउदै खाजाको त के कुरा आज पानी सम्म पनि खान नभ्याएको तितो क्षण अनि मोटर साइकल मर्मत गर्न दिएर भोको पेटमा थकित शरिर लिएर हिड्दै लखतरान भएर घर आउँदा श्रीमतीको रुखो ब्यवहार ।
गोपाल यस्तै केके सोच्दै बिस्तारामा ढल्कन्छ । त्यही बेलामा उसको मोवाइल फोनमा रिङ्ग बज्छ । यसो हेर्छ फोन हाकिमको रहेछ । हे भगवान अफिसमा त थर्काए थर्काए हुँदा हुँदा अव त घरमा पनि आइ पुग्न पाएको छैन हाकिम कै कल आँउछ । उसले थकित स्वरमा फोन उठायो हेल्लो सर ? उता बाट आवाज आयो गोपाल जी घर पुग्नु भयो तपाई ? हेर्नुस्न आज बिहान मलाई पनि अलिक तनाव थियो । तपाई लाई ठूलो स्वरमा केके भने । पछि मलाई नै पछुतो भयो । सरी है गोपाल जी । बरु मैले एउटा कुरा भन्न खोजेको थिए ।
गोपालले लामो सास फेर्दै भन्यो भन्नुस न सर के कुरा होला ? हाकिमले भन्यो । आज बिहान देखि नै मेरो टाउको भारी भएर आई रहेछ । दिमाग भरी केके कुराहरु खेली रहेका छन् । तपाईको समय छ भने एक छिन हामी २ जना कतै भेटेर दुख सुख शेयर गर्दै चिया खाँउ न है । तपाईको के छ फूर्सद । गोपाललाई खुशी पनि लाग्यो हाकिमले पहिलो पटक उसलाई चिया खाने निम्तो दिएको देखेर । उ हतार हतार बिस्ताराबाट उठ्यो । लुगा अघि, बिहान लगाएकै थियो । फेरेकै थिएन । टोपी टिपेर मिलाउदै भान्छामा पस्यो । श्रीमती मोवाइल हातमा लिएर कसैसंग भिडियो च्याटमा ब्यस्त थिइन । श्रीमान टोपी लगाँउदै कतै जान लागेको देखेर भनिन ‘घर आइपुग्न पाको छैन । कस्को फोन आयो र फेरी बाहिर जान लागेको । अव भने म तिमि संग नसक्ने नै भएँ ।’
गोपालले रमिलाको हात समाउन खोज्दै नम्र स्वरमा भन्यो ‘रमिला मलाई बुझने कोसिस गर आज अफिसमा अलिक तनाव थियो । हाकिम सावले एकछिन काबेली चमेनामा बसेर चिया खाँउ आउ भन्नु भयो । म चाँडै फर्कन्छु है । ’
रमिलालाई पुगी हाल्यो । उनी पड्कीन थालीन । उही पुराना आरोप । उही पुराना विश्मयहरु । गोपाल उनको कुरै नसुनी हतार हतार जुत्ता लगाएर हाकिमले बोलाए तिर यति छिटो छिटो लम्कियो कि मानौ उ इमरजेन्सीमा राखिएको बिरामी हेर्न जाँदैछ । आज मोटर साइकल थिएन हिडेरै बाटो लाग्यो ।
काबेली चमेना एण्ड खाजा घरमा गोपाल पुग्दा हाकिम अघि नै आएर पानी पिउदै थिए । मोटो कदको, कालो बर्णको, ओठ माथि हल्का जुँगाको रेखी भएको, दैनिक अफिस जाँदा पनि प्राय धेरै दिन सम्म एउटै सर्टमा देखा पर्ने, लवाई हेर्दा पनि ब्यक्तित्व झल्कन्छ भन्छन् । गोपालको हाकिम अर्थात श्याम कुमार शर्माको ब्यक्तित्वमा खासै निखार कहिले पनि देखिएन । कार्यालयमा सधै जसो निरास मात्र देखीने र झट्ट अनुहारमा हेर्दा निधारमा बग्रेल्ती पिडाका रेखाहरु स्पष्ट देख्न पाइन्थ्यो श्याम कुमार शर्माको ।
गोपाललाई देख्ना साथ बस्ने इशारा गर्देै हाकिमले भने , ‘गोपाल जी तपाईलाई मैले दुख दिए है ।’ गोपालले हाकिमको सामुन्नेको बेन्चमा बस्दै भन्यो ‘ठिक छ सर, के दुःख र । श्याम कुमारले आफ्नो चश्मा खोलेर टेवल माथि राखे अनि रसिला आँखा मिचेर लामो सास लिए । देख्दा लाग्थ्यो आज श्याम कुमारले आफूलाई धेरै महत्वपुर्ण कुरा भन्न खोजी रहेछन ।
श्याम कुमारले वेटरलाई इशारा गर्दै २ बोतल वियर मगाए । गोपाललाई अप्ठ्यारो लाग्यो । उसले हाकिम तिर पर्केर भन्यो ‘सर वियर लिने र भन्या ?’ गोपालले अरु पनि केही भन्न खोज्दै थियो । श्याम कुमारले उसको मुख बन्द गरिदिए ‘आज वियर खाने हो अनि मनका कुराहरु पोख्ने हो ।’ गोपाल अन्यौलमा प¥यो । वेटरले २ वटा गिलास र २ बोतल वियर ल्याएर राखी दियो । श्याम कुमारले अव २ प्लेट भटमास साँघेको अनि २ प्लेट मटन मगाए । श्यामले आफ्नै हातले २ वटा गिलासमा बियर राखे र दुवैले गिलास उठाउदै पिउन शुरु गरे ।
श्याम कुमारले भटमास बुजो हाल्दै वियरले निल्दै कुरा शुरु गरे । ‘परिवार त्यसमा पनि बिशेष गरि आफ्नी श्रीमतीले कुरा नबुझिदिए पछि त्यो भन्दा ठूलो तनाव अरु नहुने रहेछ ।’ गोपालले हाकिमको कुरा सुनेर आफ्नै दाहिने हातले देब्रै हात चिमोट्यो के म विपनामा नै छु त ?
हाकिमले वियरको बोतल रित्याउदै, कुराहरु ओकल्दै थिए ‘म २२ बर्षको कलिलो उमेरको हँुदा मेरी आमाले वुवासंग कुरा गरेको सुने । हजुर अव त यो श्यामको बिहे गरिदिनु पर्छ है तपाई वास्तै गर्नुहुन्न । पल्ला घरको मुकुन्द भाईको २१ बर्षको छोरो मुरारीको बिहे भई सक्यो । अव त मुरारी बाबु बन्ने बेला हुन लागि सक्यो । माथिल्लो घरको कविराजकी छोरी मोहिनीको पनि १९ बर्षकै उमेरमा पोहोर बिहे गरिदिए । हाम्रो छोरो भने २३ लाग्यो । मैले केटी देखेको छु भोली बिहानै ठूलो बुवालाई लिएर केटी मागेर आँउनु है ।’
आमाले युवतीको बारेमा सबै सुनाउनु भयो । बुधबारेकी रत्न पाण्डेकी कान्छी छोरी सपना, अस्ति म बजार जाँदा बाटोमा भेटेकी, राम्री केटी सिलस्वभाव राम्रो भएकी आदी इत्यादी । बाले केटी ठिकै भएपनि आर्थिक हैसियद नमिल्ने सुझाउनु भयो । आमाले विवाह गर्ने सबैको हैसिय नमिल्ने तर्क पेस गर्नुभयो । अबेर सम्म गन्थन चल्दै थियो । म निदाएछु ।
हाकिमले धेरै बोतलहरु खाली गरिसकेको हुन्छ । संगै आफ्नो पिडाहरु पनि सुनाउदै जान्छ । त्यस पछि बुवाको ठूलो बुवा अर्थात मेरो हजुर वुवा केदार शर्मालाई अगाडी लगाएर बुवा बुधबारे रत्न पाण्डेको घरमा केटी माग्न भोली पल्ट बिहानै लाग्नु भयो । त्यो बेलामा विवाह गर्दा केटा केटीको मन्जुरी भन्दा पनि अभिभावकको निर्णय र सरसल्लाह महत्वपुर्ण हुन्थ्यो । मेरो बुवा र हजुरवुवा झमक्क साँझ पर्दा हाम्रो घरको आँगनमा टुप्लुक्क आई पुग्नु भयो । मलाई पनि कुरा के भयो होला सपना पाण्डे म भन्दा १ ब्याच पछाडी पढेकी केटी मैले पनि देखे कै हो राम्री पनि लाग्थ्यो तर बिबाह गर्ने बारेमा नै चाही मैले सोचेको थिइन । आज बुवाहरु सोही केटीलाई म संग बिहे गरीदिन माग्न जानु भएको मेरो उमेरले पनि केही चासो लाग्नु स्वभाविकै थियो । म मेरै कोठाबाट बुवाहरुले ल्याउनु भएको नयाँ खवर बारे कान ठाडो बनाएर सुन्न आतुर थिए ।
बुवा र हजुर वुवा आ आफूले लौरो एकातिर फ्याकेर सिकुवामा बस्नु भयो । भित्र भान्छामा केलाउदै गरेको साग हालेको नाङ्गलो हातैमा बोकेर आमा कुदेर बाहिर आएर बुवालाई सोध्न थाल्नु भयो । बुवा बोल्नु अगाडी नै हजुर बुवाले पाण्डेसंग हाम्रो नातो गाँसिने भयो है श्यामकी आमा अव बिहेको तयारीमा लागे भो भन्नु भयो म पनि गदगद भए सपना पाण्डे मेरी हुने खवरले । त्यो बेला पुसको दोश्रो हप्ता बितेको थियो । माघ महिनाको ५ गते श्याम र सपनाको बिहे गर्ने निधो गरेर आएका छो भन्ने कुरा पनि बुवाहरुबाट सुने मैले ।
घरमा बिहेको चटारो थियो म भने अफिस भर्खर भर्खर जान शुरु गरेको थिए । अफिस जाँदा र आँउदा घुमाउरो नै भए पनि बुधबारेको बाटो जान आउन थाले । कारण सपनासग भेट हुन्छ कि भन्ने आशाले । एक दिन म अफिस जाँदै गर्दा सपना उसकी आमा र दाजुसंग बजार जाँदै थिई बाटैमा जम्काभेट भयो तर कोही बोलेनन म पनि लाजले फटाफट हिडे । अहिले जस्तो मोवाइल फोन त्यस बेला थिएन । ल्याण्ड लाइन फोन हुन्थे कसको नम्बर कति हो थाहा नै हुदैनथ्यो । सपनालाई कल गर्ने आँट गरिन मैले । केवल बिहेको दिन मात्र गन्न थाले ।
कहानी सुनाउदा सनाउदै हाकिम साहेव धेरै माति सकेका थिए । मैले भने मातिने गरि पिएको थिइन । हल्का मात्र पिउदै थिए । हाकिमले यसरी मंसिर ५ गते सपना पाण्डेसंग आफ्नो मागी बिहे भएको त्यस दिन मात्र सपनासंग राम्रोसंग देखादेख र बोलचाल भएको त्यस पछिका दिनहरुमा पनि आफू अफिस जाने बेलुका अफिसबाट फर्के पछि पनि सपना मेरी आमासंग को गुनासो मलाई सुनाइ रहन्थी । मेरी आमाले हाम्रो विवाहमा बेहुलीको मुख हेर्दा सुनको गहना नदिएको गुनासो त सपनाले मलाई सुहागरात कै दिनमा गुनासो पोखेकी थिर्ई । पछिल्ला दिनहरुमा मेरो परिवार भन्दा उसको माइती परिवारको खान्दान राम्रो भएको बारे हरेक दिन जस्तो बादविवाद भई रहन्थ्यो । विवाह भएको करिव २ बर्षमा हाम्री एउटी छोरी पनि भईन । छोरी जन्मे पछि सुत्केरी स्याहार गर्न भनि माइतीबाट सपना लाई लिन आए । १ महिना माइती बसेर आउने भनेर गएकी छोरी सहितकी सपना ४ महिनामा मात्र घर आइन । मलाई छोरी देख्न मन लाग्दा अफिस जाँदा आउदा एक छिन ससुराली पसेर आउने गर्थे । घर जाँउ भन्दा खानपिन मिल्दैन अहिले नजाने भन्ने जवाफ आउथ्यो ।
४ महिनामा डोलीमा चढाएर बाजा गाजा सहित सपना घरमा आइन । त्यस पछिका दिनहरु हाम्रो घरमा झन अशान्तिका आए । आमाले नातिनि छुनै नहुने फोहोरी बुढी रे । मैले मेरी छोरी बोक्न खोज्दा सोमत नभएको ढंग नभएको मान्छे रे । यस्तै कयौ कुराहरुले म पागल जस्तै हुन्थे । एक दिन मेरी आमा नानीलाई कपडा किनेर ल्याइदिने भनेर शहर जाँदा बसको ठक्करबाट ठाँउको ठाँउ बित्नु भयो । मेरो पिडाको सिमा भएन । बुवा पनि आमाले छोडर गए पछि बुहारीले पनि तातो चिसो राम्ररी नहेरे पछि आसाम तिर दाजु भाई भेट्न जाने भनेर हाल सम्म फर्केर आउनु भएको छैन । मेरी छोरी समृद्धी पनि कलेज पढ्ने भई तर कहिले पनि मलाई बुझ्ने कोसिस गरिन । आमाको लहै लहैमा लागेर आमा छोरी भएर मलाई दिनानु दिन मानसिक यातना दिई रहन्छन् आज पनि त्यही यातनाको सिकार थिए म ।
हाकिमले राम कहानी सुनाई रहँदा रातको १ बजेको थियो । चमेना एण्ड खाजा घरको साहुजी हामीलाई कुरी रहेको तथा घरी घरी टेवलमा टाउको राखेर उघी रहेको थियो । मैले घडी हेरे र भने सर अव त रात धेरै छिपिई सकेको छ । हामी घर जानु पर्छ । सरको मोटर साइकल म चलाएर घर सम्म छोडी दिन्छु । हाकिम त्यहाँबाट उठ्न सक्ने अवस्थामा थिएनन् । मलाई पनि मोटर साइकल चलाउन सक्छु भन्ने हिम्मत भने थिएन । ए हजुर दुध आयो दुध ढोकाबाट आएको आवाजले म झल्यांस ब्यूझे । रमिला मेरो छेउमै चियाको कप लिएर मुस्कुराई रहेकी थिइन हजुर कति धेरैबेर सुत्नु भएको उज्यालो भई सक्यो । बल्ल थाहा भयो मत सपनामा पो रहेछु ।
प्रतिक्रिया