काठमाडौँ ,९ जेठ :
नेपाली रैथाने तथा स्वस्थ जैविक (अर्गानिक) उत्पादनलाई स्वदेश तथा विदेशमा बजारीकरण गर्ने लक्ष्य राखेको मुना कृषि लिमिटेडको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। ललितपुरको हेरिटेज गार्डन पार्टी प्यालेसमा सम्पन्न सभाले कम्पनीलाई नयाँ गति दिने उद्देश्यका साथ नेतृत्व परिवर्तन र महत्त्वपूर्ण नीतिगत निर्णयहरू गरेको छ।
विषम परिस्थितिबीच लगानीकर्ताको अग्रसरता
कम्पनीमा देखा परेको विषम परिस्थितिलाई समन्वय गर्न गठित समितिकी संयोजक रिता बस्ताकोटीको सभाध्यक्षता तथा गैर-आवासीय नेपाली संघ (NRNA) का पूर्व अध्यक्ष कुल आचार्यको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो।

सभामा अध्यक्षलगायत पुराना सञ्चालक समिति अनुपस्थित रहे पनि कम्पनीको अस्तित्व रक्षा, सेयरधनीहरूको हित र संस्थाको भविष्य संरक्षणका लागि संस्थापक सेयरधनीहरू सहित ७५ प्रतिशतभन्दा बढीको उत्साहजनक उपस्थिति रहेको थियो।
पुराना समिति खारेज, लेखापरीक्षण पुनः गरिने
साधारण सभामा साविकको सञ्चालक समिति उपस्थित नभएका कारण आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन प्रस्तुत हुन सकेन। जसका कारण सभाले उक्त पुरानो प्रस्तावलाई खारेज गर्ने निर्णय गरेको छ। संस्थाको वास्तविक आर्थिक अवस्था पत्ता लगाउन नयाँ सञ्चालक समिति मार्फत पुनः संस्थाको लेखापरीक्षण (अडिट) गराई आगामी साधारण सभामा पेस गर्ने निर्णय पारित गरिएको छ।
५ सदस्यीय नयाँ कार्यसमिति चयन
साधारण सभाले पुरानो सञ्चालक समितिलाई खारेज गर्दै ५ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत रूपमा गठन गरेको छ। नयाँ समितिको अध्यक्षमा रिता बस्ताकोटी, प्रबन्ध निर्देशक डा. कवीन्द्र कँडेल,सञ्चालक दीपक कर्ण र सञ्चालक पुष्कर जङ्ग थापा रहेका कार्यसमितिले विज्ञ सञ्चालकमा ठाकुर खनाल नियुक्त गरेको छ । सभामा बहुमत सदस्यहरूले छलफलमा भाग लिँदै कम्पनीलाई अब पूर्ण रूपमा पारदर्शी, जिम्मेवार, कानुनसम्मत र व्यवस्थित ढङ्गले अगाडि बढाउन नयाँ कार्यसमितिलाई सम्पूर्ण अधिकार प्रत्यायोजन गरेका छन्।
नवनिर्वाचित अध्यक्ष रिता बस्ताकोटीले सम्पूर्ण सेयरधनी, सल्लाहकार, कर्मचारी, कृषक, उत्पादक, उपभोक्ता तथा व्यावसायिक साझेदारहरूलाई सम्बोधन गर्दै अब पुराना सञ्चालक समितिसँग कुनै पनि आर्थिक कारोबार, लेनदेन, लिखत वा संस्थागत सहमति नगर्न आग्रह गरेकी छन् । कम्पनीका सम्पूर्ण आधिकारिक कार्यहरू अब नयाँ सञ्चालक समिति मार्फत मात्र सञ्चालन हुने जानकारी गराइएको छ।
कम्पनीमा२०३ जना लगानीकर्ता रहेका छन् । जसमा ४०% गैर-आवासीय नेपाली (NRN) र ६०% नेपाली लगानीकर्ता रहेकाछन् । नेपाली रैथाने र स्वस्थ जैविक (अर्गानिक) उत्पादनको स्वदेशी तथा विदेशी बजारमा प्रवर्द्धन मुख्य उदेश्य रहेको कम्पनीको काठमाडौँमा ५ वटा र पोखरामा १ वटा गरी कुल ६ वटा शाखाहरू सञ्चालनमा छन् ।
गैर-आवासीय नेपालीहरूको अग्रसरतामा सुरु भएको यस कम्पनीले आगामी दिनमा ‘मुना अब नमुना’ भन्ने नाराका साथ सरोकारवाला सबैको हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ। अध्यक्ष बस्ताकोटीले कम्पनी प्रति देखाउनु भएको माया, विश्वास र सहयोगका लागि सम्पूर्ण सेयरधनी तथा शुभेच्छुकहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दै नयाँ अभियानमा साथ दिन अपिल गरेकी छन् ।
प्रतिक्रिया