इलाम ,४ भाद्र : इलाम नगरपालिका वडा नम्बर १ का विभिन्न क्षेत्रमा कुकुरहरूलाई रेबिजविरुद्धको खोप लगाउने अभियानअन्तर्गत आज १५० वटाभन्दा बढी कुकुरलाई खोप सेवा प्रदान गरिएको छ।
वडा नम्बर १ को त्रिवेणी बजार, गैरी, सीटीईभीटी, नेपालटार बजार, छ्याङपुरलगायतका क्षेत्रमा खोप सेवा सञ्चालन गरिएको वडा अध्यक्ष गायत्री राम बस्नेतले जानकारी दिनुभयो।
अभियानअन्तर्गत भदौ ५ गते विभिन्न स्थानमा खोप कार्यक्रम सञ्चालन गरिने भएको छ। बिहान १० बजे झुत्रेको जौबारी टोल, १०ः३० बजे चतुरे मोड, दिउँसो १ बजे जनता आधारभूत विद्यालय आसपास, ३ बजे पण्डितगाउँको रिमालडाँडा र ३ः३० बजे बन्चरे गोलाईस्थित गोपाल कटुवालको घरमा खोप सेवा सञ्चालन गरिने जनाइएको छ।
वडा कार्यालयले उक्त क्षेत्रका सम्पूर्ण कुकुरधनीहरूलाई आफ्ना कुकुरलाई अनिवार्य रूपमा रेबिजविरुद्धको खोप लगाउन अनुरोध गरेको छ। खोप अभियान सफल बनाउन सहयोग गर्नुहुने इलाम नगरपालिकाको भेटेरिनरी शाखाका प्रमुख रूपमान लिम्बु, पशुप्राविधिक प्रकाश लुइटेललगायतको टोली, साहेजुङका भेटेरिनरी प्राविधिक, सीटीईभीटीका विद्यार्थी लगायतको उपस्थिति रहेको जनाइएको छ ।
प्रतिक्रिया