इलाम ,७ असोज :इलाममा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको छ। इलाम नगरपालिका–९ भञ्ज्याङस्थित मेची राजमार्गमा चेकजाँचका क्रममा प्रहरीले ना.४ ख ८९९६ नम्बरको फुलबडी ट्रकबाट १ हजार ५०४ किलो ६१० ग्राम गाँजा बरामद गरेको हो।
राजदुवाली सडकको अवस्थाका कारण ठूला सवारीसाधनलाई केचना–कञ्चनजङ्घा सडकखण्डतर्फ डाइभर्सन गर्ने क्रममा उक्त ट्रक प्रहरीको निगरानीमा परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
प्रहरीले ट्रक रोक्न खोज्दा चालकले ट्रक स्टार्ट अवस्थामै छाडेर फरार भएपछि शंका लागेर खानतलासी गरिएको थियो। खानतलासीका क्रममा ट्रकमा फल्स बटम बनाएर त्रिपालले छोपिएको अवस्थामा ४१ वटा बोरामा राखिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ।
ट्रकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई तौल गर्दा उक्त परिमाणको गाँजा पुष्टि भएको जिल्ला प्रहरी प्रमुख कुलदिप चन्दले जानकारी दिनु भएको छ।
घटनापछि फरार चालकको खोजी भइरहेको छ। बरामद गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रतिक्रिया