इलाम , ७ असोज :इलामको रोङ गाउँपालिका–५ देवनथापमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
बुधबार राति करिब ७ः३० बजे देवनथापबाट झापातर्फ जाँदै गरेको प्र.१–०४–००१ त १२३६ नम्बरको दाउरा बोकेको ट्र्याक्टर आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको थियो।
दुर्घटनामा ट्र्याक्टरको अगाडिको भागले थिचिएर झापा मेचीनगर नगरपालिका–५ नकलबन्दा निवासी तिजु धिमालका ४० वर्षीय छोरा अमित धिमालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी इरौटार र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले कानुनी प्रक्रिया पूरा गरी आज बिहान मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर, झापा पठाएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो।
प्रतिक्रिया