इलाम, १७ कात्तिक :जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान इलामले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्व तथा प्रतिभालाई आठ विधामा सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ। समाजमा उल्लेखनीय योगदान पुर्याएका व्यक्ति तथा विभिन्न क्षेत्रमा प्रतिभा प्रदर्शन गर्दै समाजको लागि प्रेरणाको स्रोत बनेका व्यक्तिहरूलाई सम्मान गर्दै थप प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष बासु बस्नेतले जानकारी दिनु भएको छ ।
प्रतिष्ठानले विगतका बर्ष बाट हरेक बर्ष सम्मान तथा पुरस्कृत गर्दै आएको छ । यस बर्ष प्रतिष्ठानको कार्यसमिति समिति बैठकले विभिन्न क्षेत्रमा महत्त्वपूर्ण कार्य गर्ने आठजना व्यक्तिलाई सम्मान गरिने मंगलबार प्रकाशित प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
यस बर्ष ‘आदर्श नागरिक सम्मान’ गायत्री श्रेष्ठलाई नगद ७७ हजार ७७७ रुपैयाँ सहित प्रदान गरिनेछ। त्यस्तै, ‘आदर्श समाजसेवी सम्मान’ सोमनाथ बाँस्तोलालाई ५० हजार १०१ रुपैयाँ र ‘आदर्श शिक्षक सम्मान’ ठाकुरप्रसाद शिवाकोटीलाई ३३ हजार ३३३ रुपैयाँसहित प्रदान गरिनेछ।
यसैगरी, गायक तथा संगीतकार मानसिंह थुलुङलाई ५० हजार १०१ रुपैयाँसहित ‘इलाम सिर्जना सम्मान’ प्रदान गरिनेछ। ‘उत्कृष्ट कृषक सम्मान’ देउकुमार राई र ‘अग्रणी महिला सम्मान’ दिपा गुरुङलाई जनही ३३ हजार ३३३ रुपैयाँ सहित प्रदान गरिने प्रतिष्ठानका सचिव विमल वैद्यले जानकारी दिनु भएको छ ।
त्यस्तै, ‘रामश्री नारायणप्रसाद शिक्षा पुरस्कार’ नेत्र दहाललाई १५ हजार १०१ रुपैयाँ र ‘मधु–जनक उत्कृष्ट विद्यार्थी सम्मान’ पवन खनाललाई १० हजार १०१ रुपैयाँसहित प्रदान गरिनेछ।
प्रतिष्ठानले आगामी २०८३ मंसिर ५ गते इलाम नगरपालिका–१ स्थित साखेजुङ बहुउद्देश्यीय कभर्ड हलमा सम्मान तथा पुरस्कार वितरण समारोह आयोजना गर्न लागेको जनाइएको छ ।
प्रतिक्रिया