परासी : आलोचना बढेपछि कोरोना संक्रमित आशंकका गरिएका बिरामीलाई प्रदेश ५ को प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरिएको छ । प्रादेशिक अस्पतालले कोरोनाको आशंकामा भर्ना नगरेर अन्यन्त्र पठाएका पश्चिम नवलपरासी रामग्राम नगरपालिका-१६ हकुईका ३५ वर्षीया एक युवकको प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।
बिरामीका परिवारले परासीदेखि काठमाडौंसम्मका चारवटा अस्पताल धाउँदा समेत उनलाई भर्ना गर्न सकिएको थिएन।
खोकी लाग्ने, टाउको दुख्ने र ज्वरो आएपछि उनले परासीकै एक निजी अस्पतालमा उपचार गराएका थिए । त्यसपछि पृथ्वीचन्द्र जिल्ला अस्पताल पुगेका उनलाई अस्पतालले प्रादेशिक अस्पताल बुटवल पठाएको थियो । बुटवलले कोरोनाको आशंका भन्दै पुरानो मेडिकल कलेज चितवन पठाएको थियो । उक्त अस्पतालले समेत भर्ना नगरी बिरामीलाई काठमाडौं पठाइएको थियो ।
काठमाडौंको कलंकीस्थित एक निजी अस्पतालले शंकास्पद देखेपछि उनलाई टेकु पठाएको बिरामीका आफन्तले बताए । बिरामीको अवस्था जटिल बन्दै गएको र कुनै पनि अस्पतालले भर्ना लिन नमानेपछि आफन्तले आश मारेर पुन: घर ल्याएका थिए ।
घर ल्याउने क्रममा बिरामीका आफन्तले पुनः पृथ्वीचन्द्र अस्पताल परासीमा ल्याएका थिए । एम्बुलेन्समा ल्याएका बिरामीलाई चिकित्सकले छुन समेत मानेका थिएनन् । जिल्ला अस्पतालमा आइसोलेसन वार्ड छ । तर चिकित्सकले उपचारका क्रममा लगाउने पोशाक र अन्य सामाग्री नभएको र रोग सर्ने भन्दै बिरामीलाई नहेर्ने जनाएपछि प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल र स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले बुटवल अस्पतालसँग समन्वय गरेका थिए ।
चिकित्सकले बिरामीको उपचार नगराएको भन्दै आलोचना हुन थालेपछि मुख्यमन्त्री कार्यालयको समेत ध्यानआकर्षण पश्चात उनलाई प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो । बिरामीको उपचारका बारेमा प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्र खनालसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
हाल उनलाई प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरब ढकालले बताए । उनलाई अक्सिजन दिएर राखिएको छ । ‘हिजो रातीदेखि बिरामीलाई आइसोलेसनमा राखेर उपचार गरिएको छ । आज बिहान थ्रोड स्वाबबाट नमुना संकलन गरेर परीक्षण गर्न पठाइएको छ,’ प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेट खनाललाई उद्दृत गर्दै स्वास्थ्य प्रमुख ढकालले भने। उनको अवस्था सुधारोन्मुख हुँदै गएको उनले बताए ।
प्रतिक्रिया