कोरोना असर, कुखुरा किसान मारमा, किसानको तरकारी बारीमै नष्ट

बैशाख १८, इलाम । कोरोनाको संक्रमण संगै लकडाउनले गर्दा इलामका बोइलर कुखुरा पालक किसान मारमा परेका छन् । विगत १ महिना देखिको लकडाउनले जिल्लाका विभिन्न स्थानमा लामो समय देखि ब्यवसायीक कुखुरा पाल्ने किसान मारमा परेका हुन्् ।

समयमा डिलरले कुखुरा नउठाइदिदा र दाना उपलब्ध नगराइदिदा कुखुरा मर्ने अवस्थामा पुगेको किसानको भनाई छ । चल्ला हालेको ४५ दिन देखी ६० दिन सम्ममा किसानले कुखुरा बिक्री गर्नुपर्ने हुन्छ तर अहिले ६० दिन देखी १०० दिन सम्मका बोइलर कुखुरा खोर मै लडिरहेका छन् । कति मरे, कति बाँकी छन् तेस्को लेखा जोखा गर्न समेत अब गारो हुन थालेको किसान बताउछन् । इलाम नगरपालिका ९ गोलाखर्कमा करिब १५ घरपरिवारले पालेको कुखुरा लकडाउनले बिक्री नहुदा मर्ने अवस्थामा पुगेको छ । उक्त क्षेत्रमा रहेका ३ हजार बोइलर कुखुरालाई अहिले मकै र च्याख्लाको भरमा जोगाउने प्रयास भइरहेको बरबोटेका किसान घनश्याम राईले बताउनुभयो । पटक पटक डिलरलाई फोन सम्पर्क गर्दा फोन नउठाउने गरेको किसानको गुनासो छ । थोरै लगानीमा पनि छिटै मुनाफा लिन सकिने भएपछि धेरैले इलाममा कुखुरा पाल्दै आएका छन् । केही दिन अघि इलाम नगरपालिका ४ बरबोटेका एक युवाले केही संचार माध्यमलाई समस्या राखेपछि डिलरले कुखुरा उठाइदिएको थियो । लकडाउन संगै जिल्लामा बोइलर कुखुरा बिक्री सुन्यको अवस्थामा पुगेको छ ।

सकारले कृृषि र पशुजन्य बस्तुको ओसारपोसारमा कुनै रोक नभएको बताउदै आएपनि किसानले चेकजाँचको नाममा विभिन्न झन्झट बिहोर्दै आएका छन् । लकडाउन लम्बिएसँगै बोइलर कुखुरामा लगानी गरेका किसानको करौडौ रुपैयाँ बालुवामा पानी हाले सरह भएको छ । सरकारले समयमै आवश्यक तयारी नगर्दा इलामको कृषि क्षेत्र पनि धराशायी बन्दै गएको छ । लकडाउनका कारण उत्पादन तथा वितरण ठप्प हुँदा एकातिर लाखौं किसान, व्यवसायी आर्थिक मारमा परेका छन् भने अर्कोतर्फ भविष्यमा कृषि उपजको चरम अभाव हुने सम्भावना समेत बढेको छ । लकडाउनका कारण उपभोक्ता बजार निस्केर भनेजस्तो तरकारी किन्न नपाइरहेका बेलामा इलामका किसान भने बारीमै तरकारी कुहाउन बाध्य छन् । लिन कोही नआउने र लाने उपाय पनि नभएका कारण श्रम तथा ऋण गरेर गरेको लगानी डुब्ने चिन्ताले किसानलाई सताएको छ । पहिला व्यापारी घरमै आउँथे, अहिले बोलाउँदा पनि नआउने इलामे किसानको गुनासो छ । लकडाउनले गर्दा हाट बजार बन्द हुँदा तरकारी बजारमा लगेर तरकारी बिक्रि गर्न नपाएको इलाम नगरपालिका ४ बरबोटेका किसान गंगा राईले बताउनुभयो । खेतबारीमै तरकारी कुहिरहेका बेलामा इलाम बजार सहित जिल्लाका बिभिन्न बजारमा तरकारी महँगिएको छ । मल, बिउ तथा खाद्य उपजको ढुवानी तथा उपलब्धतालाई सहज बनाउन किसान तथा यस क्षेत्रका उद्योगी व्यापारीको माग छ । लकडाउनका कारण दूध उत्पादक किसान समेत मर्कामा छन् । डेरी तथा उद्योगले किसानको दूध बिक्रि हुन छाडेको छ । खरीद गर्नेले पनि पहिलाको भन्दा आधा कम खरीद गरीरहेका छन् ।

प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका राज्यमन्त्री राम रानाले आवश्यक निर्देशिका तथा राहतका विषयमा तयारी भइरहेको जनाएको छ । कृषि क्षेत्रमा तत्कालीन र दीर्घकालीन राहतका कार्यक्रम पनि ल्याउने तयारी गरेको बताइएको छ ।