लकडाउनमा इलाम बजार अनुगमन, तरकारी र फलफूलको मूल्य अत्यधिक, कुहिएको फलफूल बेचेर उपभोक्ता ठग्दै

बैशाख १९, इलाम । लकडाउनको समयमा इलाममा बजार हरेक बस्तुको भाउ महङगिएको छ । खाद्यय सामाग्रीदेखि तरकारी र फलफूलको मूल्यमा बृद्धि भएको हो । खाद्यान्न मौज्दात पर्याप्त भएकाले मूल्य नबढेको सरकारले दाबी गरेपनि बजारमा मूल्य भने बिगतको तुलनामा वृद्धि भएको छ । कच्चापदार्थ, ढुवानी भाडालगायत कारण देखाउँदै होलसेलरहरुले मूल्य बृद्धि गरेका छन् । होलसेलमा बढेपछि खुद्रामा स्वाभाविक रूपमा वृद्धि हुने इलाम उद्योग बाणिज्य संघले जनाएको छ ।

लकडाउनको समयमा तरकारी तथा खाद्यय सामाग्रीको मूल्य बढेको गुनासो आएपछि जिल्ला प्रशासन, इलामनगरपालिका, कर कार्यालय, प्रहरी प्रशासन, उद्योग बाणिज्य संघ लगायतको टोलिले बिहिबार इलाम बजारमा रहेका खाद्यय सामाग्रीको होलसेलर एवं तरकारी र फलफूल पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा खाद्यय सामाग्रीको मूल्य केही बृद्धि भएको पाइएको थियो । तर तरकारी र फलफूलको मूल्य ब्यपारीले धेरै बढाएर उपभोक्तालाई ठगेको अनुगमनका क्रममा पाइएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी सफल पोर्तेलले बताउनुभयो । उहाँका अनुसार केही फलफूल पसलेले उपभोक्तालाई म्याद नाघेको, कुहिएको र महङगो मूल्यमा बिक्रि गरेको पाइएकाले आइन्दा यस्तो कार्य नगर्न सुझाव दिएको यस्तो कार्य गरेको पाइएमा कडा कार्वाही गर्ने चेतावनी दिएको बताउनुभयो । बजार अनुगमनको क्रममा चामल बोरामा एकसयदेखि २ सय, तेल काटुर्ननमा डेढसय रुपैंयाँ सम्म बढेको पाइएको बताइएको छ ।

प्रभावकारी नियमन हुन नसक्दा बजारमा मनपरी मूल्य वृद्धि भएको सरोकारवाले जनाएका छन् । केही ब्यपारी बाहेक अधिकाँश ब्यपारीले आफनो पसलमा मूल्य सूची समेत नराख्दा उपभोक्ताहरु ठगिँदै आएका छन् । नेपाल पत्रकार महासंघका प्रदेश १ उपाध्यक्ष सोमनाथ सुसेलीले इलाममा लकडाउनको समयमा तराई सहित जिल्ला बहिरबाट तरकारी ल्याउन नपाइने भनिरहेको भएपनि यहाँका केही ब्यपारीले मध्यरातमा २÷३ वटा पिकअपमा तराईबाट तरकारी अझै ल्याइरहेको बताउनुभयो । जसले गर्दा कोरोना भाइरस संक्रमणको त्रास फैलिरहेकोले प्रहरी प्रशासनले यसमा अझ कडाई गर्न आग्रह गर्नुभयो । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारीले भने तराई क्षेत्रबाट तरकारी राति इलाम आइरहेको भन्ने कुरा आफूलाई थाहा नभएको र प्रहरीले हरेक नाकाहरुमा कडाइ गर्दै आएको बताउनुभयो ।