हल्ला मात्र भयो काम भएन, स्थानीय तहले भीटीएम किट अझै किनेन

इलाम, जेठ ११ । कोरोना भाइरसको परीक्षणको दायरा बढाइएको इलाममा स्वाब संकलन गर्ने किट भिटिएमको अभाव देखिन थालेको छ । जिल्लामा आरडिटी मात्र परिक्षण गर्दै आएकोमा केहिदिन अघिदेखि परिक्षणको दायरा बढाउन भन्दै भिटिएम ल्याएर पिसिआर परिक्षणका लागि धरान, बिराटनगर पठाइदै आएको छ ।

स्वास्थ्य कार्यालयमा एकसय २० थान मात्र स्वाब परीक्षण गर्ने किट भिटिएम आएको थियो । त्यसमध्ये हाल ४६ जनाको स्वाब संकलन गरेर पठाएकोमा १६ जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ भने ३० जनाको रिपार्ट आउन बाँकि रहेको छ । स्वास्थ्यमा अब ८९ थान मात्र भिटिएम रहेको छ । ८९ थान भिटीएम भारत सहित बिदेशबाट आएर जिल्लाका पालिकाहरुमा बनाएको क्वारेन्टाइनमा बसेकाहरुको स्वाब परीक्षण गरीने बताइएको छ । तर त्यो पर्याप्त छैन । क्वारेन्टाइनमा बस्नेको सङख्या दिनहुँ थपिदैं गएको छ । यता जिल्लाका दशै तहका पालिकाहरुले किट खरीद गर्ने भनेपनि हालसम्म गरेका छैनन् । जसले गर्दा भिटिएम अभाव हुने निश्चित देखिएको छ । प्रदेश सरकारसंगै भिटिएम अभाव भएको समाचारहरु आइरहेको समयमा स्थानीय सरकारले भिटिएम आफै खरीद गर्ने भन्दै आएको छ । तर भिटिएम खरीद गर्न चुनौति देखिएको छ ।

स्थानीय सरकारलाई भिटिएम खरीद गर्ने गरीको ब्यबस्था स्वास्थ्य कार्यालयले मिलाउने गरी काम थालेको कार्यालयका कोभिड १९ फोकल पर्सन बिमल बरालले बताउनुभयो । यता जिल्लामा हालसम्म आरडिटी बिधिबाट ६३५ जनाको कोरोना परीक्षण भइसकेको छ । सबैको रिपोर्ट नेगेटिभ आएको छ । बरालका अनुसार जिल्लामा हाल ५५ जना क्वारेन्टाइनमा बसेका छन् । सूयोदय नगरपालिकाले बनाएको क्वारेन्टाइनमा १६, इलामनगरपालिकामा १० जना, माई नगरपालिकामा ६ जना, रोङ गाउँपालिकामा १३ जना, माईजोगमाई गाउँपालिकामा ६ जना र चुलाचुली गाउँपालिकामा ४ जना रहेका छन् ।