खेलाडीको समस्यामा सरकार बेखबर, इलामका २४ जना फूटबल खेलाडी सहित रेफ्रि र प्रशिक्षकलाई राहात

खेलाडीको समस्यामा सरकार बेखबर, इलामका २४ जना फूटबल खेलाडी सहित रेफ्रि र प्रशिक्षकलाई राहात

इलाम, साउन २९ ः कोरोना महामारीले देशको हरेक क्षेत्रमा असर पारेको छ । देशको अर्थतन्त्र नै धराशयी भइसकेको छ । अर्कोतर्फ शिक्षा क्षेत्र पनि तहस नहस पारेको छ । यसरी हरेक क्षेत्रमा असर पारिरहँदा खेलकुद क्षेत्र पनि नराम्ररी प्रभावित भएको छ । सिंगो देशको खेलकुद क्षेत्र यतिखेर ठप्प छ । खेल क्षेत्रलाई नै ब्यबसायिक बनाएर जीवीकोपार्जन गर्ने खेलाडीको भबिष्य पनि यतिखेर कोरोनाले चुर्लुम्म पारेको छ ।

धेरै खेलाडीहरु खेल क्षेत्रबाट पलायन हुने अवस्था आइसकेको छ । खेल क्षेत्रलाई ब्यबसायीक बनाउने सपना बोकेका खेलाडीको भविष्य अन्योलमा परेको छ । खेलाडीहरुको अवस्था के कस्तो छ, उनीहरु यतिखेर कस्तो समस्या भोगिरहेका छन् भन्ने बारेमा सरकारले अझैसम्म सम्बोधन गरेको छैन । कोरोनाले देशको खेलकुद क्षेत्र ठप्प भइरहेको अवस्थामा इलाम पनि यसबाट अछुतो छैन । बिगत पाँचमहिनादेखि इलामका खेल मैदानहरु सुनसान छ । खेलाडीहरु गुमनाम छन् । इलाममा बढीजसो फूटबल खेलहरु ह्ुने भएपनि अहिले ठप्प छ । गाउँ गाउँमा हुने फूटबल खेलमा स्थानीय खेलाडीहरु किनमेल निकै हुने गर्दथ्यो । उनीहरुको थोरै भएपनि आम्दानी श्रोत बनेको थियो फूटबल । तर अहिले फूटबल सहित सबै खेल ठप्प हुँदा उनीहरुको आम्दानीको श्रोत समेत गुमेको छ । जिल्ला स्तरका बिभिन्न क्लबका रहेका धेरै खेलाडीहरु जिल्ला स्तरमै भएपनि ब्यबसायीक फूटबलर बन्दै थिए । तर उनीहरुमा कोरोना प्रमुख बाधक बनेर उभिएको छ । जसले गर्दा जिल्लामा उत्पादन हुँदै गरेको मजबुद फूटबल कमजोर बन्ने स्थितीमा पुगेको छ ।

यसैक्रममा खेलाडीहरुको हौसला बढाउनका साथै ब्यबसायीक फूटबल क्षेत्रमा फर्कन प्रेरणा मिलोस् भनेर खेलाडीलाई राहात बितरण गरीएको छ । अखिल नेपाल फूटबल संद्ध (एन्फा) को सहयोगमा इलाम जिल्लाका २४ जना खेलाडीलाई सदरमुकाममा बिहीबार राहात रकम बितरण गरीएको छ । जिल्ला फूटबल संघ इलामको समन्वयमा एन्फाले २४ जना खेलाडी, पाँचजना फिफा रेफ्रि र एकजना प्रशिक्षकलाई राहात रकम बितरण गरेको हो । कोभिड–१९ को कारण सृजित समस्यामा परेका जिल्लाका फुटवल खेलाडी, रेफ्री र प्रशिक्षकलाई जनही २५ सय रुपैंयाँका दरले एन्फाको सहयोगमा जिल्ला फूटबल संघले राहात रकम बितरण गरेको संघका जिल्ला अध्यक्ष महेश श्रेष्ठले बताउनुभयो । जिल्लामा रहेको १३ वटा फूटबल क्लबमा आवद्ध खेलाडी, फिफा रेफ्री र एकजना प्रशिक्षकलाई राहत रकम वितरण गरेको हो । विश्व फूटबल महासंघ (फिफा) तथा एन्फाले खेलाडीको मनोबल बढाउनका साथै थोरै भएपनि उनीहरुलाई आफनो खर्च धान्न सहयोग पुगोस् भनेर राहात रकम बितरण गरेको हो । एन्फामा आबद्ध फूटबल संघ गठन भएका देशका ४८ वटा जिल्ला शाखा, काठमाडौंस्थित ’ए’, ’बि’, ’सि’ र ’डी’ श्रेणिको लिग प्रतियोगिता खेल्ने फूटबल क्लब तथा मोफसलमा प्रतियोगिताहरु आयोजना गर्ने फूटबल क्लबका खेलाडीलाई राहात रकम उपलब्ध गराउँदै आएको एन्फाका केन्द्रिय सदस्य एवं जिल्ला फूटबल संघ इलामका पूर्व अध्यक्ष निरोज खड्गीले बताउनुभयो ।

कोभिड १९ बाट अति प्रभावित बनेका खेलाडी तथा रेफ्री तथा प्रशिक्षकलाई राहत उपलब्ध गराउन एन्फाले सहयोग गर्दै आएको छ । राहात बितरण कार्यक्रम संघका जिल्ला अध्यक्ष महेश श्रेष्ठको अध्यक्षता एवं एन्फाका केन्द्रिय सदस्य निरोज खड्गीको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा संघका उपाध्यक्ष ज्ञानबहादुर राई, बिक्रम श्रेष्ठ लगायत अन्य पदाधिकारीको पनि उपस्थिती रहेको थियो ।

खेललाई आफनो पेशाको रुपमा बिकास गर्न चाहाने खेलाडीहरुलाई यस किसिमको राहतले थप हौसला प्रदान गर्ने संघका उपाध्यक्ष बिक्रम श्रेष्ठको भनाई छ । राहत रकम प्राप्त गरेका खेलाडीहरुले समस्याको यो समयमा जिल्ला फुटबल संघको समन्वयमा एन्फाले गरेको सानो सहयोगले पनि ठुलो महत्व राख्ने भन्दै आगामी दिनमा खेलप्रति थप लगाव र प्रतिबद्ध हुन प्रेरणा मिलेको बताएका थिए ।