इलामःपञ्चकन्या हाइड्रो पावर कम्पनीले सुरूङमार्गबाट पानी चुहावट भएपछि गाउँनै जोखिममा परेको गुनसो आएपछि व्यवस्थापनले विद्युत उत्पादन बन्द गरेको छ ।
जिल्लाको सन्दकपुर गाउँपालिका –४ माबुमा रहेको हाइड्रो पावरको भासिएको क्षेत्रमा जोखिम कमगर्नका लागि व्यवस्थापनले पानी बन्द गरेको वडा अध्यक्ष वर्तमान गुरुङले जानकारी दिए ।
स्थानीय विद्युत विपद सरोकार समितिले तत्काल समस्या समाधानका लागि माग गरेपनि अटेर गरेको आरोप लगाएको छ ।
अध्यक्ष गुरुङका अनुसार सुरूङ मार्गको तल्लो क्षेत्रमा पहिरो गइरहेको छ । केही क्षेत्रमा ढिस्को झरेको छ । थप जमिन समेत भासिएकाले जोखिम बढ्दै गएको छ ।
अध्यक्ष गुरुङले भने ‘आउटलेटमा पानी बन्द भएपनि सुरुङमा पानी भएकाले खतरा घटेको छैन ।’
व्यवस्थापनले केहि दिन हेरेर आवश्यक सुधारको काम थाल्ने बताएको अध्यक्ष गुरुङले बताए । उनका अनुसार प्रेसर पाइप रहेको भागबाट उत्तर पुर्वी भागको डेढ किलोमिटर क्षेत्रमा धाजो फाटेको छ । विभिन्न ठाउँमा पानी लिक भएको उनले बताए । व्यवस्थापन विधुत लाईनमा देखिएको समस्यावारे प्राविधिक प्रतिवेदन पर्खेर बसेको कारण समस्या लम्बिएको स्थानीयको आरोप छ ।
व्यवस्थापन पक्षले साउन १३ मा भुगर्भविद सहित विज्ञको टोली पठाएर आयोजनाको अध्यायन गरेको थियो । इलामबाट फर्केको टोलीका सदस्यहरुमा कोभिड १९ देखिएको कारण प्रतिवेदन आउन ढिलो भएको जवाफ दिने गरेको अध्यक्ष गुरुङले बताए । उनले भने ‘प्रतिवेदन आएपनि नआएपनि मर्मत शुरु गरेर समस्या समाधान गर्नुको विकल्प छैन,काम छिटो शुरु गर भन्ने स्थानीयको माग हो ।’
स्थानीय १ सय ४७ घरपरिवारको दुई सय रोपनी भन्दा बढी जमिन जोखिममा परेका अध्यक्ष गुरुङले बताए । पेनस्टक फुटेमा ठूलो जनधनको क्षती हुने स्थानीयको भनाई छ । वडाअध्यक्ष गुरुङले भने ‘हाइड्रो फुट्यो भने यस भन्दा तलका माइका हाइड्रो समेत प्रभावित हुन्छन् ।
प्रतिक्रिया