कन्यामको “भिजन”

कन्यामको “भिजन”


मन कुमार लाप्चा
सूर्योदय नगरपालिका स्थित कन्याम चियाबारीको दृश्य सवैलाई आकर्षक लाग्ने दृश्य हो । कन्यामको दृश्यपान गर्न चियाको जननी मानिएको छिमेकी राष्ट्र भारतको दार्जिलिङबाट समेत मानिसहरु आउँछन् । नेपालमा त यस्तो विशेषता बोकेको विशाल चियाबगान अन्य स्थानमा छैनन् । करिव दुइ सय ४० हेक्टर क्षेत्रमा फैलिएको यो बगान “फोटोजेनिक” भएकाले कन्यामको चर्चा दिनहुँ बढिरहेको छ ।
आजभोली त सामाजिक सञ्जालमा कन्याम चिया बगान माथि बनेको संरचनाको खुबै चर्चा चुलिएको छ । विकासप्रेमी जनताले केहि न केहि पुर्वाधार निर्माण हुँदा खुशी नहुने कुरै आएन । तर चर्चा यति धेरै भावनात्मक रुपमा गरियो कि हुँदा हुँदा कन्यामको फोटो हालेर प्राकृतिक सुन्दरता , प्राकृतिक बरदान भनेर पनि चर्चा गरेको पाइयो । उनीहरुको बुझाइमा शायद यो सडक पनि प्रकृतिकै देन हो । केहि “ लाल बुझक्कड” हरुले त यो सवै यहाँका मेयरको करामत भन्न पनि छाडेनन् । देवत्वकरण हुँदै जाँदैछ । हिजो आज यस क्षेत्रका सांसद र पुर्व प्रधानमंत्री झलनाथ खनाललाई चाँहि उनीहरुले विर्से जस्तो गरेका छन् ।
कन्यामका चिया बगानमाथी ठूलो कंक्रिटका संरचना बनाएर केहिलाई बहादुरी देखाएजस्तो लागेको छ । मानौ केहि कालोपत्रे सडक निर्माण हुँदा, चिया बगान मिल्काएर यहाँ कंक्रिटका पार्क बन्दा, सीमेन्टमाथि रातो पोतेर झलक्क बनाउदा यहाँका “लाल बुझक्कड”हरुलाई समाजबाद आएजस्तो लाग्या होला । यो बुझाई फगत उनीहरुको मात्र नभएर आम बुझाई पनि बन्दै गएको छ । हामी पनि चियाबारी मासेर सिमेन्टका मुर्ति डढ्याउँदा महान कार्य भन्न बेर लाउदैनौं । प्राकृतिक सुन्दरता कुरुप बनाएर संरचना निर्माण गर्दा पनि खुब राम्रो मान्ने जमात छ हाम्रो ।
कन्यामका चियाबारीमा रातारात डोजर कुदाउँदा राम्रो भो । कन्यामका थुम्का थुम्का डाँडालाई डोजर लगाएर सम्याउँदा राम्रो भो । हुँदा हुँदा हरियो परियो चियाका बुट्टाको फोटो आउनुको सट्टामा पहिरोयुक्त फोटो खिचेका हामीलाई झनै राम्रो भो । चियाबारीमा नाकमुख छोपेर धुलो छल्दै यात्रा गर्दा पनि हामीलाई रामै भो । कन्यामलाई पहिरोरुपी दृश्यमा परिणत गर्ने मेयर “भिजन बोेकेका नेता ” भएका छन् ।
कन्याम क्षेत्रमा सडक फराकिलो बनाउँने कार्यमा सडक डिभिजन इलामको भुमिका प्रशंसनिय छ । कम्तिमा ठेक्का पट्टाबाट निर्माण कार्य समयमै रफ्तार लिएर सम्पन्न हुने चरणमा छ । मेची लोकमार्गमा नियमित हुने यो कार्य सधैभरी भएमा आम जनता झनै खुशी हुने थिए । तर बर्षौदेखि खुम्चीएको मेची लोकमार्गका विकल्पमा धेरै सडकहरु भटाभट यस अघि नै निर्माण हुन थालेपछि कन्यामको चौडा सडकको महत्व घट्ने निश्चित छ । यद्यपी रातारात पहिरो बनाइएको कन्यामको करिव पाँच सय मिटर भाग निर्माण गरेर पहिरो पुर्ने काम चाहि सडकले गरिदिएको छ । भत्काइएको पाल्टाँगे देखि कुटिडाँडा सडकको पहिरो टाल्ने योजना चाहि शायदै अरु एकाध वर्ष कुर्नुपर्नेछ ।
कन्याममा विकासको “आफ्नै मोडल” बताउँनेहरु बनाइनसक्दै कालोपत्रे सडक भत्किन थालेपछि आलोचना खेप्न बाध्य भएका छन् । यद्यपी यो मोडेलको विकास यसअघि नदेखिएको होइन । इलामको ख्याती प्राप्त माइपोखरी जाने सडक यस्तै मोडलका कारण वर्षौदेखि अझै कालोपत्रे बन्न सकेको छैन । दुइ चार वर्षमा एक किलोमिटर बनायो । अर्कोवर्ष भत्किसक्छ । पुन एक किलोमिटर बनायो । अर्कोवर्ष सडकमा कालो भन्ने केहि हुँदैन । यस्तो विकासलाई पुर्वतिर विकासको “आफ्नै मोडल” भन्ने गरिएको छ ।
आफ्नै विकासको मोडलभित्र जनताका घर भत्काउने योजना पनि पर्दछन् । यो मोडलभित्र सवै आफ्नै मातहतमा ल्याउने योजना पनि पर्दछन् । चियाबारीबाट नीजि घरगोठमा जाने सडकका योजना, चियाका बुट्टा मासेर नीजि होटल रिसोर्टमा सडक पुर्याउने योजना पनि पर्दछन् । यो मोडेलमा सरकारी स्वामीत्वको चिया बगान घटाउँदै अतिक्रमण गर्ने र मेला बजार बनाउने योजना पनि पर्छन ? जनताका घरमा डोजर चलाउनेहरुले राजमार्गका विचमा रहेका विद्युतका पोल हटाउन के ले रोकेको हो ? कालोपत्रे राजमार्गका बीचमा पोल रहनु पनि “नयाँ मोडल” हो की ।
कन्यामलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउँन ठूला ठूला विकासका मोडल आवश्यक देखिदैन । यहाँको विकासको पहिलो शर्त नै चिया बगान, देशको सम्पत्ति, धर्तिको स्वर्ग जे जे भन्नुस त्यसको संरक्षण हो । हरियाली कायम राख्नु र चिया बगानलाई सदाबहार बनाउनु हो । यहाँ माथि भएका चारै तर्फका अतिक्रमण हटाउने, तारबार हटाउने, चिया बगान मिच्ने कार्यलाई दुरुत्साहन गर्ने र भएका संरचना आकर्षक रुपमा मर्मत गर्ने हो भने यसको महत्व बढेर जान्छ । पर्यावरणलाई हानी नोक्सानी नहुनेगरी संरचना निर्माण गर्नु बुद्धिमानी हुनेछ । चियाबारीको सुन्दरता एक रति पनि कम हुन नदिनु राम्रो । किनकी सम्म परेका भुभागमा चिया बगान अन्य धेरै स्थानमा छन् ।
सरकारी स्वामीत्वमा रहेको कन्याम चियाबगान झापा इलामका अन्य छ वटा चिया सँगै सरकारले त्रिवेणी संघाई ग्रुपलाई ५० वर्षका लागि लीजमा दिएको थियो । विकास पुर्वाधारलाई आफ्नो मोडेल बनाउनेहरुले चिया बगाननै लीजमा हैन लीलामी गरेको हो भन्ने भ्रम छर्ने गरेका छन् । कन्याम चियाबगान सरकारको अर्थात अझैपनि जनताको सम्पत्तिलाई केहि नेताहरुले जुँगाको लडाई बनाएका छन् । कन्याम लाई अरु कसैबाट खोसेर आफूले बहादुर प्राप्त गरेजस्तो । नीतिगत सरकारका कमजोरी भएमा त्यसलाई सुधार गरेर हरियो सुन्दर चियाबारीको चुस्त व्यवस्थापन गर्न सके चाहिँ त्यसलाई बरु मोडेल मान्न सकिएला ।
कन्याम चिया बगानको प्रचार प्रसार र यसको सुन्दरताले धेरै घुमन्तेहरु आकर्षित भएका छन् । श्रीअन्तु, पशुपतिनगर, हाँसपोखरी, पाथीभरा, गुगल डाँडा समेतका क्षेत्रको यो सँगै प्रचार प्रसार गर्न सकेमा मात्र पर्यटकहरुको गन्तव्य बनाउन सकिन्छ । कन्याममा आयो । हावा खायो । फोटो खिच्यो । घरमै चिया खान पुग्यो । यसलाई पर्यटन भनिदैन । त्यसबाट स्थानीय क्षेत्रका मानिसहरुको जनजिविकामा केहि परिवर्तन ल्याउदैन । हरियालीका बीच भागमा टहरा राखेर नगरपालिकाको मात्र आयश्रोत बढाउनु पर्यटन होइन । आम समुदायले पर्यटन मार्फत जीविकोपार्जनमा ठोस परिवर्तन ल्याउने मोडल आवश्यक छ । स्थानीय कृषि उत्पादन (चिया, अलैची, अदुवा, बेसार, चीज, छुर्पी, घीउ, पनीर, किवि, अकवरे, कुखुरा, अण््डा, आदि ) को विक्रिलाई प्राथमिकता दिनु आवश्यक छ । आधारभुत रुपमा पर्यटनको परिभाषामा पनि कम्तिमा २४ घण्टा विताउनेलाई मात्र पर्यटक भनिन्छ । बनभोज खाएर घरबाटै दारुपानी ल्याएर डम्पिङ साइड बनाउँदा पर्यटक मान्नु आवश्यक छैन । स्थानीय परिकार, साँस्कृतिक कोशेलीहरु , घोडचढी लगायतका व्यवस्थापनले नै यहाँको पर्यटन बढ्न सक्छ ।
अन्तत ः कन्याम चियाबारीको आकर्षण बृद्धि गराउन भुमिक खेल्नु सवैको साझा दायित्व हो । यस क्षेत्रको संरक्षण सम्बद्र्धनका लागि आफ्नो क्षमता र बुता अनुसारको योजना मात्र प्रभावकारी हुन्छ । अरबौंको योजना मात्र समाधान होइन । वातावरण संरक्षण र रैथाने संस्कृति विकासले कन्याम अझै आकर्षक बन्ने छ । हात मिल्काएर शरिर बनाउँने सोच त्यागौं । चिया रहेमा मात्र कन्याम रहन्छ । कन्याम रहेमा विकासले सार्थकता पाउँछ ।