माङसेबुङ गाउँपालिका अध्यक्षमा एमालेका हेमन्त राई र उपाध्यक्षमा जसपाका विनोद नेम्बाङ विजयी

माङसेबुङ गाउँपालिका अध्यक्षमा एमालेका हेमन्त राई र उपाध्यक्षमा जसपाका विनोद नेम्बाङ विजयी

इलाम जेठ २ ।इलामको माङसेबुङ गाउँपालिका अध्यक्ष पदमा नेकपा एमालेका उम्मेद्वार हेमन्त राई र उपाध्यक्षमा जनत समाजवादी पार्टी नेपालका विनोद नेम्बाङ विजयी भएका छन् ।गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोलाई ३ सय २३ मतान्तरले पराजित गर्दै एमालेका राई अध्यक्ष पदमा विजयी भएका हुन् ।एमालेका राईले ३ हजार ८ सय १८ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका डिकेन्द्र इदिङ्गोले ३ हजार ४ सय ९५ मत पाएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिए ।मंगोल नेशनल अर्गनाइजेशनका प्रेमकुमार केरुङले १४ मत मात्र पाए ।इदिङ्गो निवर्तमान गाउँपालिका अध्यक्ष हुन् । २०७४ को स्थानीय तह सदस्य निर्वाचनमा राईलाई नै पराजित गर्दै इदिङ्गो अध्यक्षमा विजयी भएका थिए । ५ वर्षपछि दुवै नेताबीच दोश्रो पटक आमनेसामने भएका हुन् । यसपटक भने राईले बाजी मार्न सफल भए ।

राई एमालेका माङसेबुङ गाउँकमिटीका अध्यक्ष हुन् भने इदिङ्गो नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हुन् ।त्यस्तै एमालेकी उम्मेद्वार सुनिता सुब्बालाई ६ सय ८३ मतान्तरले पराजित गर्दै नेम्बाङ उपाध्यक्ष पदमा विजयी भएका हुन् । गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका नेम्बाङले ३ हजार ७ सय २९ मत पाउँदा उनका निकटतम प्रतिष्पर्धी एमालेकी सुब्बाले ३ हजार ४६ मत पाएकी छन् ।

सुब्बा निवर्तमान उपाध्यक्ष हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा समेत नेम्बाङ र सुब्बा उपाध्यक्ष पदका प्रतिष्पर्धी थिए । सो निर्वाचनमा एमालेकी सुब्बा विजयी भएकी थिइन् । यसपटक नेम्बाङले बाजी मारेका छन् ।

तत्कालिन संघीय समाजवादी पार्टी नेपाल इलामका उपाध्यक्ष रहेका नेम्बाङ हाल जनता समाजवादी पार्टी नेपालका प्रदेश कोषाध्यक्ष हुन् ।माङसेबुङ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमुक्तिको संयुक्त गठबन्धन थियो । वडा नम्बर १ मा भने एमाले र माओवादी केन्द्रको गठबन्धन थियो ।१२ हजार ५ सय ६८ मतदाता रहेको माङसेबुङमा ८ हजार ३ सय ७ मत खसेको थियो । नयाँ बुलन्द बाट