समाजवादी चिन्तक प्रदीप गिरीको निधन

समाजवादी  चिन्तक प्रदीप गिरीको निधन

इलाम । नेपाली कांग्रेसका नेता, समाजवादी चिन्तक तथा सांसद प्रदीप गिरीको निधन भएको छ। नेपाली कांग्रेस केन्द्रीय समितिले गिरीको निधन भएको विज्ञप्तिमार्फत जनाएको छ ।

७५ वर्षका नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३० मा निधन भएको कांग्रेसले जनाएको छ। घाँटीको क्यान्सरबाट पीडित गिरीको छातीमा निमोनियाको संक्रमण भएको थियो । उनको विगत तीन सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो । परिवारको आग्रहमा शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको थियो ।

नेता गिरीमा निमोनिया बढेको र यसले शरीरका अधिकांश अंगहरु फेल भइरहेको शनिबार दिउँसो उनकी धर्मपत्नी भारती सिलवालले विज्ञप्तिमार्फत जनाएकी थिइन । गिरीलाई स्वासप्रस्वास प्रक्रिया सहज बनाउन बिहिबार बिहानदेखि भेन्टिलेटरको सपोर्टमा राखिएको थियो ।

गिरीको पार्थिव शरीरलाई आइतबार विहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पतालमै श्रद्धान्जलीका लागि राखिने जनाइएको छ । ११ः३० देखि २ बजेसम्म पार्टी कार्यालय सानेपामा राखिने कांग्रेसले जनाएको छ ।

गिरि आफनो सैध्दान्तिक निष्ठा, सन्तुलित विचार र देशभक्तिका कारण जनताका बीच अत्यधिक लोकप्रिय थिए । बरिष्ठ पत्रकार किशोर नेपालले गिरीका बारेमा लेखेका छन्, ‘लोकतान्त्रिक समाजवादी चिन्तन र सैध्दान्तिक दृष्टिकोणको अनुगामी बनेर उहाँका सुस्पष्ट राजनीतिक बिचारको कार्यान्वयनगर्नु आजको नेपाली समाजको आबश्यकता हो । देशलाइै आमूल परिवर्तनको नयाँ बाटोमा हिंडाउन खोजी रहेका नेपालका तन्नेरी पुस्ताले प्रदीप गिरिका बिचारहरुको अध्ययन र अनुशीलनगर्नु समीचीन हुनेछ ।’

भारतका चर्चित समाजवादी चिन्तक डा.राममनोहर लोहियाका विचार र चिन्तनबाट प्रभावित गिरी नेपाली राजनीतिमा एउटा राजनीतिज्ञ मात्रै थिएनन् । उनले आफूलाई एउटा विचारक, दार्शनिक र त्योभन्दा धेरै समाजवादी चिन्तकको रुपमा स्थापित गरेका थिए । धेरैले उनलाई उनलाई गान्धीवादी समेत भन्छन् ।

लामो समय नेपाली कांग्रेसमा रहेर राजनीति गरे पनि बौद्धिक नेताको छवि बनाएका गिरीलाई कम्युनिष्ट राजनीतिक दर्शन बोक्ने नेता र दलहरुले पनि उत्तिकै सम्मान गर्छन् । त्यसो त उनले कम्युनिष्ट नेता कार्यकर्ताका अघिल्तिर उभिएर कम्युनिष्ट विचार र दर्शनको ज्ञान समेत बाँडे । जीवनभर कांग्रेसको राजनीति गरेका उनलाई पार्टीभित्र नेताहरुको नेपालमा कम्युनिष्ट फैलाउन सघाएको आरोप समेत लगाउँथे ।

सिरहाको बस्तीपुरमा २००४ सालमा बुवा मित्रलाल गिरी र पुण्यप्रभा गिरीको कोखबाट जन्मिएका गिरीले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए । विभिन्न राजनीतिक आन्दोलनमा सहभागी हुँदा गिरीले करिब चार वर्ष जेल जीवन बिताए ।

संसदीय राजनीतिमा भने गिरी २०५१ सालपछि मात्रै सत्रिय भए । उनले २०५१ सालको संसदीय निर्वाचनमा सिरहा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भए । ०५६ मा भने उनी पराजित भए । २०६४ र ०७० सालको संविधानसभा सदस्य निर्वाचनमा उनी समानुपातिक तर्फबाट संविधान निर्माणको काममा संलग्न भए ।

२०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने गिरीले सिरहा क्षेत्र नं. १ बाट चुनाव लडे । बाम गठबन्धनका बीच पनि उनले चुनाव जिते । उनी प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सदस्य थिए ।

संसद्मा मधेशी, महिला, दलित र पिछडिएको समुदायको पक्षमा निरन्तर बोल्ने नेता गिरी मधेस आन्दोलनको भाष्य निर्माण गर्ने नेतामध्ये पर्छन् । मधेसी जनताको भावनालाई नजिकबाट बुझेका उनले संविधान निर्माणमा भूमिका खेलेपनि २०७२ सालमा संविधान जारी हुँदा संविधानमा हस्ताक्षर भने गरेनन् ।

अध्ययन, अनुसन्धान र लेखनमा रुचि राख्ने गिरीका लेलिनको जीवनी, नारी, माक्र्सवाद र अर्थशास्त्र लगायत विषयमा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

गिरीको निधन प्रति प्रधानमन्त्री शेरबहादुर देउवा, काग्रेस नेता डा. शेखर कोईराला सहित विभिन्न दलका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।