logo
  • २०८१ चैत्र ७ | Thu, 20 Mar 2025
  • सूर्योदय नगरपालिका इलामको पहिलो बालमैत्री स्थानीय तह

    सूर्योदय नगरपालिका इलामको पहिलो बालमैत्री स्थानीय तह

    इलाम । सूर्योदय नगरपालिका इलामको पहिलो बालमैत्री स्थानीय तह घोषणा भएको छ । ५८ औं बाल दिवसको अवसर पारेर नगरपालिकाले बालमैत्री स्थानीय शासनयुक्त र बालश्रममुक्त नगर घोषणा गरिएको थियो ।

    पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सूर्योदयलाई बालमैत्री पालिका घोषणा गरे । उनले बालबालिका संरक्षणको भूमिका राज्यको भएको बताए ।

    बालमैत्री स्थानीय शासन घोषणा गर्दै सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले दिगो विकासका लक्ष्य पूरा गर्न अघि बढेको बताए । उनले दिगो विकासका लागि बालमैत्री स्थानीय शासन महत्त्वपूर्ण भएको बताए । ’एक वर्षको समृद्धिका लागि खेती गर्नुहोस् । दश वर्षको समृद्धि चहानुहुन्छ भने रूख रोप्नुस् । सय वर्षको समृद्धिका लागि बालबालिकाको संरक्षण गर्नुस्,’ उनले भने,’बालमैत्री स्थानीय शासन घोषणा गर्न १८ महिनादेखि मिहिनेत गरेका छौँ । ५१ वटा राष्ट्रिय सूचक सँगै नगरपालिकाका ३ सूचक पूरा गरेर घोषणा गरेका हौँ ।’उनले सूर्योदय नगरपालिकाको पहिचान हुने गरी स्थानीय पाठ्यक्रम निर्माण गरिएको बताए ।

    कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख चित्रकला बराइली, इलाम नगर प्रमुख केदार थापा, सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाबहादुर गुरुङ, राष्ट्रिय बालअधिकार परिषदका समन्वय अधिकारी सुमन अधिकारी, सूर्योदय नगर बालसञ्जालकी अध्यक्ष सुम्निमा राई, सदस्य रिन्छेन तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कार्यक्रममा सूर्योदय नगरपालिका क्षेत्र भित्रका एसईई र कक्षा ८ को परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालयहरुलाई सम्मान समेत गरिएको थियो । सोही कार्यक्रममा बालमैत्री पालिका निर्माणमा सहयोग गर्ने व्यक्ति र संस्थाहरुलाई कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रमका अध्यक्ष सूर्योदय नगरपालिका प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराईले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले जातीय झाँकी प्रदर्शन गरेका थिए ।



    निगरानी संवाददाता    
  • २०७९ भाद्र २९, बुधबार १७:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP