logo
  • २०८३ जेष्ठ २९, शुक्रबार | Fri, 12 Jun 2026
  • फाकफोकथुम–१ मा महिला सीप विकास तालिम सम्पन्न

    • निगरानी
    • २०८३ जेष्ठ २९, शुक्रबार २३:३१ गते
    फाकफोकथुम–१ मा महिला सीप विकास तालिम सम्पन्न

    इलाम : फाकफोकथुम गाउँपालिका वडा नं. १ मा पाँच दिने महिला लक्षित सीप विकास तालिम सम्पन्न भएको छ। तालिममा २८ जना महिलाको सहभागिता रहेको थियो।

    फाकफोकथुम गाउँपालिकाको आर्थिक सहयोग तथा महिला सञ्जाल समिति वडा नं. १ को आयोजनामा सञ्चालित तालिममा नेतृत्व विकास, उद्घोषण कला तथा सार्वजनिक मन्तव्य, व्यक्तित्व विकास लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

    महिला सञ्जाल समिति वडा नं. १ की अध्यक्ष राधिदेवी थापाको सभापतित्व तथा वडा अध्यक्ष कर्णबहादुरको प्रमुख आतिथ्यमा सम्पन्न समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथिले महिलाहरूको क्षमता अभिवृद्धि र आत्मनिर्भरता प्रवर्द्धनका लागि यस्ता तालिम आवश्यक रहेको बताए।

    कार्यक्रममा पूर्व वडा अध्यक्ष टेकवीर राईले आफ्नो कार्यकालमा पनि सबै वर्ग, क्षेत्र र लिङ्गका व्यक्तिलाई समेटेर समावेशी ढङ्गले काम गरिएको उल्लेख गर्दै वर्तमान वडा समितिले पनि सोही दिशामा काम गरिरहेको बताए। उनले यस्ता तालिमले महिलाहरूको क्षमता विकास र नेतृत्व निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

    त्यसैगरी वडा सदस्य गोमा भट्टराई, वडा सचिव विनोद कार्की, प्रशिक्षक तोयानाथ भट्टराई तथा सहभागीका तर्फबाट सरिता ढुङ्गानाले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारेर समाज र परिवारमा सकारात्मक परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका थिए। कार्यक्रमको सञ्चालन सुष्मा कार्कीले गरेकी थिइन्।

    पाँच दिनसम्म सञ्चालन भएको तालिमले महिलाहरूमा नेतृत्व क्षमता, प्रभावकारी सञ्चार तथा सार्वजनिक रूपमा आफ्नो विचार प्रस्तुत गर्ने आत्मविश्वास अभिवृद्धि गर्न सहयोग पुगेको सहभागीहरूले बताएका छन्।



    निगरानी    
  • २०८३ जेष्ठ २९, शुक्रबार २३:३१ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP