इलामः नेपाली काङ्ग्रेस इलामले इलामका तीनवटा नगरपालिकामा भएका गतिविधिले नागरिकले सास्ती भोग्नु परेको भन्दै कार्यशैली सच्याउन माग गर्दै बुधबार ज्ञापन पत्र बुझाएको छ ।
स्थानीय तहले कर र दस्तुरका नाममा नागरिकलाई मर्का पारेको भन्दै ज्ञापन पत्र मार्फत खबरदारी शुरु गरेको जिल्ला सचिव खगेन्द्र देवानले बताए ।
काङ्ग्रेसको नगर कार्यसमितिको अगुवाईमा सूर्योदय नगरपालिका, देउमाई नगरपालिका र माई नगरपालिकामा ज्ञापन पत्र बुझाएको देवानले जानकारी दिए । यस अघि इलाम नगरपालिकामा ज्ञापन पत्र बुझाई सकेको सो पार्टीले जनाएको छ । स्थानीय सरकारले नागरिकले धान्ने नसक्ने गरी कर वृद्धि गरेको, विकास निर्माणमा अनियमितता बढेको, स्थानीय सरकारले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई कार्यकर्ता भर्तीकेन्द्र बनाएको भन्दै काङ्ग्रेसले ज्ञापन पत्र बुझाएको हो ।
काङ्ग्रेसले विकास निर्माणमा कमिसन तन्त्र मौलाएको, अत्यावश्यक सुविधाबाट नागरिक बञ्चित भएको लगायतका विषयमा समेत स्थानीय सरकारको ध्यानाकर्षण गराएको सूर्योदय नगर सभापति मणि गुरुङले जानकारी दिए । काग्रेसले फागुन २ गते ६ वटा गाउँपालिकामा ज्ञापन पत्र बुझाउने सचिव देवानले जानकारी दिए ।