घर घरबाट सहयोग गर्ने समय

घर घरबाट सहयोग गर्ने समय

जीवन शर्मा
विश्व महामारीको चपेटामा छ । हाम्रो देश पनि यस महामारीबाट बच्न अनेक उपायहरुको अवलम्बन गरिरहेको छ । यो सबैमा जगजायर नै छ ।
हो हामीबाट केही कमजोरी भयो । समस्याको गाम्भिरतालाई मध्यनजर गर्दै एकहप्ता अगाडि नै लग डाउन गर्नुपर्‍थ्यो । तर त्यसो गरिहाल्दाका पनि समस्या धेरै थिए । त्यतातिर पनि नजर जानू आवश्यक थियो र गयो पनि ।
हामीले ह्वात्तै आफू रहेको ठाउँ छोडेर हिडिहाल्नु हुने थिएन । त्यही सुरक्षामा बसेको भए हुने थियो । आपत पर्दा सरकार थियो । सरकारले आवश्यक पहल गरेर ल्याउने थियो । तर, आयौ आफ्नो घर ।आउने आफ्नै घर हो । आयौ त के भयो र ? कसलाई मन लाग्दैन र बिपत्तिमा आफन्तसङ्गै बस्न ? तर आएको जानकारी आफ्नो सम्पर्क नम्बरसहित सरकार ९स्थानीय सरकार० लाई दिएको भए हुने थियो । त्यो पनि भएन । घरमै बसेको भए हुन्थ्यो तर त्यसो पनि भएन । यी हामीबाट जानीनजानी भएका भुलहरु हुन । खैर यी भैसके अब जा…ही..भनेर फाइदा पनि छैन ।
हाम्रा लागि सबै सरकारहरु लागि परिरहेका छन । सत्तोसराप गर्ने बेला होइन यो । वार्ड, पालिका, नगर, प्रदेश, केन्द्र सबै चिन्तित छन खटिरहेका छन । सुरक्षाकर्मी स्वास्थ्यकमी ज्यानको बाजि थापेर खटिरहनुभएको छ । असहयोगको माला जपेर ठूला ठूला कुरा गर्ने बेला होइन यो ।
घर छिमेक गाउँ समाज र समुदायलाई कपोलकल्पित कुरा गर्दै भ्रम छर्दै ठालु पल्टिने बेला पनि होइन यो । आफ्नो ठाउँबाट सकेसम्मको सहयोग गर्ने बेला हो यो । सरकारले यो गरेन उ गरेन त्यो गरेन भनेर आदर्श छाट्ने बेला होइन यो । सरकार यो पनि गर्दैछ उ पनि गर्दैछ त्यो पनि गर्दैछ । बरु हामीले चाहिँ के गर्‍यौ त्यो चाहिँ सोचौ । बरु सकिन्छ भने हामीसङ्ग दुई महिनालाई खान पुग्ने छ भने एकछाक कटाएर भरे नै खानेकुरा नहुनेलाई बाडौ । सहयोग त यो पो हो त । सकिँदैन भने चुपचाप घरमै बसौ । यो पनि त सहयोग हो । आतंकित पार्न भ्रम छरेर कथित ज्योतिष बन्ने यत्न नगरौ । मलाई थाहा थियो मैले भनेको थिए जस्ता कुरा गरेर सवैकुराको जान्ने जानकार बन्ने यत्न नगरौ । यो समय जानकार भन्ने होइन जतिसक्दो आफ्नु सुरक्षा आफै गर्ने समय हो ।
समय आत्तिने होइन शान्त रहने हो । त्यस्तो केही भएको छैन र आशा गरौ केही पनि हुनेछैन । घरमै छौ आफ्ना नानीहरुलाई समय दिउ । नया नया कुरा सिकाउ । पकाउन सिकाउ लेख्न सिकाउ पढ्न सिकाउ । सस्कार सिकाउ । घर ब्यवहारका कुरा सिकाउ नैतिक शिक्षा दिउ । धर्म सस्कृती परम्पराका कुरा सिकाउ । फुल रोप्न सिकाउ । आफ्ना जीवनका अबिस्मरणिय कुराहरु सुनाएर सुख दुख चिन्न सिकाउ ।
गाउँ फर्कनेलाई पनि घृणा नगरौ उसको अन्त्तत आउने ठाउँ यहि हो भन्ने ठानौ । सकेको र जानेको सहयोग गरौ । सबैभन्दा मुख्य चाहिँ सरकारबाट जारी गरिएको लक डाउनलाई ईमानदारपुर्वक पालना गरौ । सबैभन्दा ठूलो सहयोग यहि हो घर्को लागि गाउँको लागि सरकारको लागि र आफ्नो लागि । लेखक पत्रकार हुन्