सविता पाण्डे
इलाम । जिल्ला निर्वाचन कार्यलय इलामले जिल्लाको दश वटै स्थानीय तहमा निर्वाचनका लागि अन्तिम तयारी गरीरहेको छ । निर्वाचनका लागि मतदान अधिकृत, कर्मचारी ,सुरक्षाकर्मी ,तथा मतदान सामाग्री हिजो र आज जिल्लाको दशवटै पालिकामा पठाइएको छ । आगामी २७ जिल्लाको सबै मतदान केन्द्रम कर्मचारी सुरक्षाकर्मी तथा मतदान सामाग्री व्यवस्थापन गर्ने गरी तयारी भइरहेको जिल्ला निर्वाचन अधिकारी देविचरण फुयालले बताउनु भयो । मतदान स्थलमा पुगेर मतदान अधिकृतले निर्वाचन तयारी सर्वपक्षिय वैठक र परिचय पत्र वितरण गर्ने कार्य गर्ने बताइएको छ ।
जिल्लामा एकसय ५१ वटा मतदान स्थल र २ सय ८५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । इलाममा कुल २ लाख २४ हजार ७ सय ४८ जना मतदाता रहेका छन । एक लाख १५ हजार पाँच सय ५४ पुरुष र एक लाख नौ हजार एक सय ९२ महिला मतदाताको संख्या रहेको छ ।
यसैबीच स्थानीय तहको निर्वाचन पछि मतगणनाका लागि मतगणना स्थलको समेत व्यवस्थापन गरिएको छ । मतगणना स्थलमा सीसी टिभी क्यामेराको पनि व्यवस्थापन गरिएको छ । भोट काउन्टिङ भिडियो म्यानेजमेन्ट सिस्टम जडान गर्ने निर्वाचन आयोगको निर्देशन अनुसार इलाम जिल्लामा पनि प्रबन्ध गरिएको जिल्ला निर्वाचन अधिकारी देविचरण फुयालले जानकारी दिनु भएको छ ।
इलाम सदरमुकाम स्थित मुख्य निर्वाचन अधिकृतको कार्यलयमा रहेको मतगणना स्थलमा तार जाली सम्मको व्यवस्था गरिएको फुयालले बताउनु भएको छ ।
चार वटा नगरपालिका र छ वटा गाउँपालिकाका सहित ८१ वडामा चुनावी प्रतिस्पर्धा हुदैछ । जिल्लाको १० सै पालिकामा २ सय २५ उम्मेद्धार निर्वाचित हुदै छन ।
रेडियो नेपाल अनलाईन बाट