इलााम । आसन्न स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को तर्फबाट इलाम नगरको मेयरमा धिरेनचेम्जोङले उम्मेद्धवारी दिएका छन्। चेम्जोङ कृषि उत्पादन वृद्धि गरी ब्रान्डिङ गरेर अन्तराष्ट्रिय स्तरमा बजारीकरण गर्ने , चिया तथा दुग्ध उद्योगीलाई विद्युत महसुलमा सहुलियत प्रदान गर्ने , इलामलाई शैक्षिक हबको रुपमा विकास गर्ने , सबै वडामा कालोपत्रे सडक सञ्जाल विस्तार, गर्ने योजना लिएर मतदाताको घरदैलोमा पुगेका थिए ।
को हुन धिरेन चेम्जोङ ?
पत्रकारीता र खेलकुदमा उर्जाशील समय विताएका चेम्जोङ विद्यार्थीकाल देखि नै राजनीतिमा लागे । नेपाल पत्रकार महासंघ इलामका पुर्व अध्यक्ष चेम्जोङ माइभ्याली फुटवल क्लवको अध्यक्ष बने । इलाम नगरपालिकाको ७ फूलगाछीमा जन्मिएका धीरेन चेम्जोङको बाल्यकाल पढाइ, राजनीति र खेलमा बित्यो । उनी १३ वर्षकै उमेरमा नेकपा (माले)को रेडगार्ड (बाल सैन्य दस्ता)मा आबद्ध भए । पार्टीका भूमिगत नेताहरूलाई सरकारी दमनबाट बचाउन त्यतिबेला बाल दस्ता प्रयोग गरिन्थ्यो । उनले त्यतिबेलैदेखि उनको संगत कम्युनिस्टका भूमिगत नेताहरूसँग भयो । यहीक्रममा १४ वर्षको उमेरमा उनलाई प्रहरीले पक्रियो । बालक भएका कारण प्रहरीले धेरै समय नियन्त्रणमा राख्न चाहिँ सकेन ।
केहीपछि उनी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा आबद्ध भए । त्यतिबेला यस्तो संगठनमा आबद्ध हुनुलाई सरकारले ‘अराष्ट्रिय तत्व’ भन्थ्यो । तर, उनले हार खाएनन् । न्यायको स्वर बुलन्द गर्न उनी निरन्तर लागिरहे । क्याम्पसमा पनि अनेरास्ववियुका नेता–कार्यकर्तासँग उनको भेट र सहकार्य भयो । इलामको बजारमा जम्मिएर अनेरास्ववियुमा लाग्दा उनलाई घरमा बास पाउनसमेत सहज थिएन । बारम्बार घरी–घरी जेल–नेल र घरी–घरी सर्वसाधारणका घर पुग्नेक्रम चलिरह्यो । सहिद रत्नकुमार बान्तवाको हत्यापछि पार्टी सम्हाल्न जनशक्ति कम हुँदैथियो । त्यहीबेला विद्यार्थीहरूमार्फत् पार्टीलाई जीवन दिन धीरेन, हीरा थापा, छवि खनालहरू नै सक्रिय थिए । यहीक्रममा उनलाई पार्टीले नै महेन्द्ररत्न बहुमुखी क्याम्पसको जागिरे बनायो । उनलाई जागिरे बनाउनुको उद्देश्य सरकारी दमनबाट केही सुरक्षित गर्दै पार्टीको काम गर्नलाई नै थियो ।
क्याम्पसमा जागिरे रहेकै बेला उनी इलामको पत्रकारितामा प्रवेश गरे । सुरुमा दृष्टि साप्ताहिक त्यसपछि जनआस्था साप्ताहिकमा काम गरे । इलाममा पनि सूूत्रधारश्री साप्ताहिक स्थापना गरेर धर्म गौतम, धीरेन चेम्जोङहरूले नै बसालेको जगमा अहिले इलामको पत्रकारिता खुड्किलो चढिरहेको छ । उनी नेपाल पत्रकार महासंघ इलाम शाखाको दुई कार्यकाल लगातार सभापति बने । विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका कारण उनले पढाइलाई निरन्तरता दिन सकेनन् । प्रहरी–प्रशासनको आँखाबाट जोगिएर भएपनि स्कुल कलेज त गए तर आफूमाथिको ‘वारेन्ट’का कारण परीक्षा दिन सजिलो हुँदैनथ्यो । इलाम नगरलाई आफ्नो नेतृत्वमा पाँच वर्षपछि ‘आहा !’ भनेर चिनाउने खालको बनाउने संकल्प लिएका छन । चेम्जोङ निडर, साहसी र स्पष्टवक्ताका रूपमा परिचित छन ।
प्रतिक्रिया