सविता पाण्डे , इलाम माघ १ : नेपाल वायुसेवा निगमले आजदेखि इलाम काठमाण्डौ उडान सुरु गरेको छ । इलाम स्थित फाल्गुणन्द सुकिलुम्बा बिमानस्थलबाट साप्ताहिक उडान भर्ने नेपाल वायुसेवा निगमका कार्यकारी निर्देशक युवराज अधिकारीले बताउनु भएको छ । नियमित उडानको लागि नगरपालिका र ट्राभल एजेन्सीहरुको सकृयतामा भर पर्ने र निरन्तर उडानको लागि यात्रुको उपलब्धता मुख्य कुरा भएको उहाँको भनाई छ । उडान सेवाको लागि आधारभुत सुविधाहरु विकसित गर्नु पर्ने अधिकारीको भनाई छ । इलाममा तेल भर्ने व्यवस्था नभएकोले ११ जना यात्रु मात्र ल्याउनु पर्ने बाध्यता भएकोले आधाभुत सुविधाहरु उपलब्ध हुन सके नियमित उडानको लागि सहज हुने कार्यकारी निर्देशक युवराज अधिकारी बताउनु हुन्छ ।
इलाम नगरपालिको पहलमा निगमले हप्ताको एक दिन हवाई सेवा सुरु गरेको छ भविष्यमा साताको दुई दिन उडान गरिने जनाइएको छ । हप्ताको दुईपटक उडान गर्ने गरी इलाम नगरपालिका र निगम सँग मौखिक सम्झौता भएको छ । नियमित हवाई सेवाको लागि वातावरण तयार गर्न नगरपालिका लागीरहेको इलाम नगरपालिकाका मेयर केदार थापले बताउनु भयो ।नेपाल नागरिक उडड्यान प्राधिकरणले व्यवस्थित गर्न जरुरी रहेको र यात्रुको चाप अनुसार अन्य निजी एयरलाइन्स कम्पनीहरु सँग समेत समन्वय गरिने मेयर थापाले बताउनु भयो । पुर्वी पहाडी जिल्लाहरु इलाम सहित पाँचथर , ताप्लेजुङ भारतको दार्जिलिङका यात्रुले पनि सेवा लिने भएकोले निरन्तरताको लागि प्रयास गरिने बताउनु भयो ।
इलाम–काठमाडौं, काठमाडौं–इलाम हवाई सेवा सञ्चालनका लागि निगमले भाडादर समेत निर्धारण गरेको छ । इलाम–काठमाण्डौ प्रति व्यक्ति भाडादर ६३ सय रुपैंयाँ र काठमाडौं–इलाम प्रतिब्यक्ति भाडादर ६५ सय रुपैंयाँ निर्धारण गरेको छ । यस्तै निगमले ७० बर्ष नाघेका जेष्ठ नागरिकलाई ५० प्रतिशत, २५ बर्ष ननाघेका बिद्यार्थीलाई २५ प्रतिशत र २ बर्षदेखि १२ बर्ष उमेर समूहका बालबालिकालाई भाडादरमा २५ प्रतिशत छुट दिने जनाएको छ ।
यस अघि तारा एयरलायन्सले नगरपालिकासंग १२ वटा उडानका लागि सम्झौता गरेको थियो । सम्झौतामा नगरपालिकाले आर्थिक लगायतका धेरै दायित्व बहन गरेको थियो । तर नगरपालिकाले आर्थिक दायित्व बहन गर्न नसक्ने जनाएपछि तारा एयरलायन्सले नगरपालिकासंग पुन सम्झौता नगरेर उडान बन्द गरेको थियो ।
२०६८ सालबाट निर्माण सुरु भएको बिमानस्थलबाट १० वर्ष पछि ब्यवसायिक उडान सुरु भएको थियो । बिमानस्थलमा तारा एयरको १९ सिटे विमानले २०७५ साल जेठ २१ गते परीक्षण उडान गरेको थियोे । सुकिलम्बा विमानस्थलबाट नियमित उडान भए इलाम, पाँचथर सहित भारतको, दार्जिलिङ, सिक्किम लगायतका यात्रुलाई सहज हुने देखिन्छ । इलाम –काठमाण्डौ हवाई सेवामा जोडिदा पर्यटकको आवागमन बढ्ने सरोकारवालाको अपेक्षा छ ।
प्रतिक्रिया