‘भालेले अण्डा पार्दा’ धादिङका सोमबहादुर प्रहरी खोरमा

काठमाडौं। कुखुराको सानो अण्डाका कारण धादिङका एक किसान प्रहरी नियन्त्रणमा पुगेका छन् । भालेले पारेको दावी गरिएको सो अण्डाका कारण धादिङको खनियावास गाउँपालिका–२ झार्लाङ, कलङम्रङका सोमबहादुर तामाङ प्रहरी नियन्त्रणमा परेका हुन् । सोमबहादुरका छिमेकीले यो अण्डा भालेले पारेको भनिदिएका थिए । यही कारण यो अण्डाले ठूलो काण्ड मच्चाएको हो ।

अन्नपूर्ण पोस्टमा मनीष दुवाडीले लेखेको समाचारअनुसार सोमबहादुरको कुखुराको खोरमा शनिबार असामान्य रुपमा सानो अण्डा भेटिएको थियो । सानो अण्डा भेटेपछि सोमबहादुरले छिमेकीलाई देखाए । छिमेकीले भालेले पारेको अण्डा सानो हुने र यसको मूल्य १ करोडभन्दा बढी पर्ने बताउँदै यो अण्डा भालेले पारेको भनिदिए । विस्तारै यो अण्डा बहुमूल्य भएको हल्ला फैलियो ।

सोमबहादुरले अण्डा बहुमूल्य हुन्छ भन्ने लागेपछि त्यसको फोटो खिचे र अण्डालाई भकारीमा लुकाए । उनले सदरमुकाममा रहेका आफन्तलाई सो अण्डाको लागि ग्राहक खोजिदिन पनि आग्रह गरे । तर, २ दिनपछि सोमबहादुरले जब लुकाएको ठाउँमा अण्डा खोजे अण्डा त्यहाँ थिएन । अण्डा हराएपछि उनी झाँक्री गजबहादुर लामाकहाँ पुगे । झाँक्रीले सोमबहादुरका छिमेकी रामकुमार तामाङले अण्डा चोरेर चितवन पठाएको भनिदिए ।

झाँक्रीको आरोपसँगै सोमबहादुरका नातामा सालो पर्ने मंगबहादुर तामाङ र चोरीको आरोप लागेका रामकुमारबीच यस विषयमा सदरमुकामको एक होटलमा झगडा भयो । झगडापछि रामकुमारले निराधार आरोप लगाएर आफ्नो अपमान गरिएको भन्दै प्रहरीमा अण्डाधनी सोमबहादुर र झाँक्री गजबहादुरविरुद्ध मानहानीको मुद्दा हालिदिएपछि सोमबहादुर र गजबहादुरलाई प्रहरीले पक्राउ गरेको हो । गजबहादुर लामा तिनै झाँक्री हुन जसले जण्डिसको उपचार गर्ने बहानामा बिरामीको पेटमा प्वाल पारिदिएका थिए। पछि ती बिरामीको मृत्यु भएको थियो ।