इलाम , १८ फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अब अस्पतालहरूले “औषधि छैन” भन्ने छुट नपाउने बताएका छन्।
इलाम अस्पतालको अनुगमन गर्दै उनले स्वास्थ्य बीमा बोर्डले तोकेका ९८ प्रकारका औषधिहरू अस्पतालमा अनिवार्य रूपमा उपलब्ध हुनुपर्ने स्पष्ट पारे।
उनले भने, “अब पनि अस्पतालमा औषधि छैन भन्नु गैरकानुनी मानिनेछ।” चिकित्सकले लेखेका औषधि नपाउने अवस्थालाई अन्त्य गर्न सरकारले कडा कदम चाल्ने बताउँदै उनले सरकारी अस्पतालहरूलाई स्वास्थ्य बीमाका औषधि अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिए।
स्वास्थ्य बीमासम्बन्धी केही व्यवस्थामा समस्या भए पनि सुधार गर्न लागिएको मन्त्री पौडेलको भनाइ छ। साथै, डाक्टरहरूलाई सरकारले खटाएको स्थानमै सेवा दिनुपर्ने बाध्यकारी व्यवस्था लागू गरिने उनले बताए।
इलाम अस्पतालका प्रमुख डा. प्रभु शाहले डाक्टरको दरबन्दीअनुसार चिकित्सक नहुँदा समस्या भइरहेको बताए। मन्त्री पौडेलले सुगम क्षेत्रमा चिकित्सक बस्न चाहने प्रवृत्तिलाई रोक्न सरकारले नयाँ नीति ल्याउने बताए।
मन्त्री पौडेलले अस्पतालहरूलाई आफ्नो क्षमताअनुसार माग गर्नुपर्ने भन्दै, स्वास्थ्य चौकीहरूले अत्याधुनिक उपकरणभन्दा पनि आधारभूत पूर्वाधार सुधारमा ध्यान दिनुपर्ने बताए।
उनले तीनै तहका सरकारहरूबीच समन्वय हुनुपर्ने र फरक-फरक नीति अवलम्बन गर्दा समस्या हुने भएकाले एउटै नीति बनाइनुपर्ने धारणा राखे।
इलाम अस्पताल व्यवस्थापनले मन्त्री पौडेललाई अस्पतालको भौतिक पूर्वाधार तथा सेवा विस्तारसम्बन्धी ज्ञापन पत्र बुझाएको छ। मन्त्री पौडेल पाँचथरको फालेलुङ गाउँपालिकाको प्रशासकीय भवन र आधारभुत अस्पतालको भवन उद्घाटन गरेर इलाम आईपुगेका थिए।
प्रतिक्रिया