जन्म थलोमा ज्ञानदिल दासको सम्झना

इलामः जोसमनी सन्त परम्पराका प्रचारक,सामाजिक अभियान्ता, साहित्यकार एवं ज्ञानदिल दासको उनकै जन्म थलोमा सम्झना गरिएको छ ।
नेपाली काव्यलेखनमा निर्गुण भक्तिधाराका केन्द्रबिन्दु मानिने जोसमनी सन्तकविहरूमा ज्ञानदिल दास लगायतलाई प्रमुख मानिन्छन् । फाकफोकथुम गाउँपालिका ३ आमचोकमा जन्मीएका दासको प्रचार गरेर फाकफोकथुमको पर्यटन विकास गर्न सकिने गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ बताउँछन् ।
भारतको सांस्कृतिक वैभव जागृत हुनमा सन्तहरूका साधना र तपश्चर्याले आधारभूत महत्व राखेको पाइन्छ । नेपाली साहित्यमा विशेष रूपले प्रभाव पार्ने सन्तहरू जोसमनी सन्तहरू रहेको फाकफोकथुममा आयोजीत ज्ञानदिलदासबारे बहस एवं संवाद कार्यक्रमका वक्ताहरुले बताए ।
सन्त कविहरूमध्ये ज्ञानदिल दासले जनसाधारणलाई सचेत तुल्याउन आध्यात्मिक जागरणको अभियानमा साहित्यलाई प्रमुख माध्यम बनाएको सहित्यका अध्येताहरु बताउँछन् ।
जोसमनी धार्मिक आध्यात्मिक जागरण र अभियानका एक सशक्त सन्तकवि ज्ञानदिल दासको जन्म स्थलबारे भने फरक फरक मत देखा परेको छ ।
डाक्टर राजकुमार क्षेत्रीले सन्तकवि ज्ञानदिल दास र उनको अध्यात्म चेतनामूलक काव्यात्मकताः परिचयात्मक निरूपण नामको आलेखमा दासको जन्म सन् १८२१ मा पूर्वी नेपालको इलाम जिल्लाको फिक्कल भन्ने ठाँउमा लामिछाने थर भएको उपाध्याय ब्राह्मण परिवारमा भएको अनि मृत्यु सन् १८८३ मा पश्चिम सिक्किमको गेलिङमा भएको उल्लेख गरेका छन् ।
हालसम्म प्राप्त यिनका अध्यात्म चेतना मूलक साहित्यिक कृतिहरूमा उदयलहरी र भजन सङ्ग्रह मुख्य रहेको क्षेत्रीले उल्लेख गरेका छन् ।
नेपालमा लखन थापा र अरू कतिपयले निरङ्कुश र अत्याचारी राणा शासनका ्े विरोध गरिरहेको समयमा कवि ज्ञानदिल भने आफ्ना जोसमनी सन्तहरूलाई एकजुट बनाइ धार्मिक आध्यात्मिक चेतना अर्थात् सन्तमतको प्रचार प्रसारको अभियानलाई तिब्ररूपमा अघि बढाइरहेका थिए । विरोधी राजनैतिक सङ्गठन र राजनैतिक गतिविधि सम्झेर जङ्गबहादुर राणाले उनलाई पनि पक्रेर ६ महिनासम्म जेलमा थुनेको क्षेत्रीले उल्लेख गरेका छन् ।
सन्त ज्ञानदिल दासले आफ्ना रचनाहरू र मत प्रचारको क्रममा ब्रह्माणवाद, धार्मिक आडम्बर र रूढ़ीवादप्रति सक्दो विरोध जनाएका छन् ।
यो रूम्जाटारको कोदाको पीठो
निर्गुणको दाउन ।
धर्म र कर्म गुरुङले ग¥यो
छक् पर्यो बाहून ।
जस्ता नेपाली जनजिब्रोमा रमाउने सृर्जना गर्ने दासको योगदानका लागि सबैले मिलेर काम गर्नुपर्ने ज्ञानदिलदास प्रतीष्ठान, इलामका अध्यक्ष गुरुभत्त लामिछानेको बताए ।
प्रतिष्ठानका अध्यक्ष लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा फाकफोकथुम सरोकार समाजका सचिव प्रकाश परियारले ज्ञानदिलदास एवं फाकफोकथुम पर्यटनलाई संगै अघि बढाउन सकिने बताए ।
पालिका प्रमुख रामकुमार श्रेष्ठले ज्ञानदिलदास फाकफोकथुमको साझा सम्पती रहेकोले ज्ञानदिलदास सम्बन्धि खोज अनुसन्धान, प्रकाशन एवं प्रसारण गर्दै उहाँको योगदान अन्तरास्ट्रिय स्तर सम्म पुर्याउन लागि पर्ने बताए ।
उपाध्यक्ष सरस्वती राइलेले फाकफोकथुमको ख्याति बढाउन र विकास निर्माणलाई युद्द स्तरमा अघि बढाउन भारतको सिक्किम एवं दार्जी्लिङ र नेपालको ओखलढुंगाको रुम्जाटारसँग भगिनी सम्बन्ध स्थापनाको लागि पहल गर्ने बताइन् ।
नेपाल पर्यटन बर्ष २०२०लाई लक्षित गर्दै ज्ञानदिलदास एवं फाकफोकथुमको पर्यटन प्रबर्द्धनको लागि विभिन्न कार्यक्रम आयोजना गरि महोत्सव गरिने गाउँपालिकाले जनाएको छ ।