पत्रकार महासंघ इलाममा १५ जना पदाधिकारी निर्विरोध निर्वाचित

पत्रकार महासंघ इलाममा १५ जना पदाधिकारी निर्विरोध निर्वाचित

इलाम , चैत २३ आगामी चैत २५ गते बुधबार हुन लागेको नेपाल पत्रकार महासंघको निर्वाचन अन्तर्गत पत्रकार महासंघ इलाम शाखाको १८ पदाधिकारी मध्ये १५ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष, उपाध्यक्ष महिला र सह सचिब पदमा भने निर्वाचन हुने भएको छ । आइतबार उम्मेद्धारी दर्ता गराउने क्रममा नेपाल प्रेस युनियन, प्रेस चौतारी र प्रेस मञ्चको संयुक्त प्यानलबाट उम्मेद्धारी दर्ता गराएपछि सोमबार (आज) २ बजेसम्म मनोनयन फिर्ता लिने समय तोकिएको थियो । तोकिएको समयमा कसैले पनि मनोनयन फिर्ता नलिएपछि १५ जना निर्बिरोध निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको छ । उम्मेद्धारी दर्ताको क्रममा अध्यक्ष, महिला उपाध्यक्ष र खुल्ला सह सचिब पद बाहेक अन्य पदहरुमा दुई प्यानलबाट उम्मेद्धारी नपरेपछि १५ पदाधिकारी निर्बिरोध निर्वाचित भएको घोषणा गरेको निर्वाचन समितिले जनाएको छ । उता अध्यक्ष पदमा प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस मञ्च नेपालको संयुक्त गठबन्धनबाट युनियनका युवराज भट्टराई (विप्लव), महिला उपाध्यक्षमा सुनिता खालिङ राई र सहसचिब खुल्ला प्रेम अधिकारीको उम्मेद्धारी परेको छ भने प्रेस संगठन नेपालका तर्फबाट अध्यक्षमा सुजन तिमसिना, महिला उपाध्यक्षमा बुद्धमाया सोङमि र सहसचिब खुल्लामा रोजेश पराजुलीको उम्मेद्धारी परेकाले यी तीन पदमा भने बुधबार निर्वाचन हुने भएको हो । निर्वाचन समितिले घोषणा गरे अनुसार निर्बिरोध निर्वाचित हुनेहरुमा उपाध्यक्ष खुल्लामा ख्याम भुजेल, सचिबमा भिम चापागाइँ, सहसचिब समाबेशिमा ज्ञानु केदेम लिम्बू र कोषाध्यक्षमा राम योङहाङ रहेका छन् । यस्तै महिला सदस्यमा सुजता सुनुवार, दलित सदस्यमा तीलबिक्रम सुन्दास, जनजाती सदस्यमा काकीराम लावती र समावेशी सदस्यमा भगीरथ भण्डारी निर्बिरोध निर्वाचित भएका छन् । यसैगरी अन्य सदस्यहरुमा गणेश घिमिरे, लोकेन थेबे, बालकृष्ण बस्नेत, टिका खतिवडा, किरण पौडयाल, गोविन्द भटटराई र रमेशकुमार पराजुली निर्बिरोध निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको छ । यसैगरी राष्ट्रिय परिषद सदस्यमा उम्मेद्धारी दिने पाँचजना र प्रदेश परिषद सदस्यमा उम्मेद्धारी दिने १५ जना पनि निर्बिरोध निर्वाचीत भएको घोषणा गरीएको छ ।