logo
  • २०८२ बैशाख ५ | Fri, 18 Apr 2025
  • कोरोना कहरमा सेवाग्राहिलाई गुन लगाउदै इलाम अस्पताल

    कोरोना कहरमा सेवाग्राहिलाई गुन लगाउदै इलाम अस्पताल


    सविता पाण्डे , इलाम

    फाकफोकथुम गाउँपालिका ६ लक्ष्मण राई कोभिड संक्रमित भई निको भएर अहिले आफ्नो दैनिकीमा फर्किनु भएको छ । घर फर्कदै गर्दा उहाँले सुनाउनु भयो ‘अस्पतालमा यती राम्रो व्यवहार पनि पाइन्छ भन्ने सोचेको थिइन, सोचेभन्दा राम्रो सेवा पाए ।’
    कोभिड संक्रमित भएपछि हिड्डुल गर्न र बोल्न नसक्ने अवस्थामा इलाम अस्पताल भर्ना भएपछि १२ दिन सम्मको अस्पताल बसाई पछि उहाँ घर फर्किनु भयो । अस्पतालको सैयामा रहदा डाक्टर र नर्र्सहरुले कोभिड विरामीलाई गरेको व्यवहारले राई मात्रै हैन अरु विरामीले पनि सन्तुष्टी व्यक्त गरे ।दिनरात नभनी नर्सहरुले २४ सै घण्टा र आवश्यक पर्दा डाक्टरहरु खटिएकोले आफुलाई सहज भएको बताउनु भयो ।
    कोभिड १९ संक्रमण दोस्रो लहरमा संक्रमण दर बढेपछि इलाम अस्पतालमा दुई सैया रहेको इन्टेन्सिभ केयर युनिट (आइआइसियु )सेवा लाई हाई डिपेन्डेन्सी युनिट (एचडियु) वार्ड बनाएर सेवा संचालनमा ल्याइयो । गत जेठको पहिलो सातादेखि यो सेवा संचालन गरिएको थियो । सिमित जनशक्तिको भरमा अस्पतालले हिम्मत गरेर सुरु गरेको एचडियु सेवा सफल भएको अस्पताल प्रशासनले जनाएको छ । जनशक्ति र उपकरणहरुको अभावमा एचडियु संचालन गर्न चुनौती पुर्ण भएपनि सेवा दिन सफल भएको अस्पतालका कोभिड फोकल पर्सन डाक्टर विश्रुत सापकोटाले बताउनु भयो ।अस्पतालमा कोरोना संक्ररमतको चाप बढेको बेलामा उपकरणहरुको अभावमा रेफर गर्नु परेको डा. सापकोटाले बताउनु भयो ।

    इलाम अस्पतालमा कोरोना संक्रमित ६९ जनाले सेवा लिएका छन । जसमध्ये कोरोना भाइरसको संक्रमण भएका निकै जटिल विरामी २१ जनाले एचडियु वार्डमा सेवा लिए । अस्पताल व्यवस्थापक क्षितिज खतिवडाका अनुसार २१ जना मध्ये ११ जनालाई अस्पतालले रेफर ग¥यो भने ३ जनाको उपचारको क्रममा मृत्यु भएको थियो । अन्य ७ जना कोेभिड संक्रमित निको भएर घर फर्किएका थिए । अन्यको जेनेरल कोभिड अस्पतालमा उपचार भएको थियो । कोभिड संक्रमित भएका सामान्य अवस्था भएकालाई अस्पतालमा उपचार गर्यो भने जटिल समस्या भएकालाई अन्य अस्पतालमा समन्वय गरी रेफर गरेको जनाइएको छ । खतिवडाले भन्नु भयो ‘यहाँ उपचार सम्भव नभएकालाई अन्य अस्पताल पठाउन समन्वय ग¥यौ ।’
    सामान्य लक्षण समेत नदेखिएका कोभिड संक्रमितलाई जेनेरल कोभिड अस्पतालमा राखेर उपचार गरेको उहाँको भनाई छ । कोभिड संक्रमण दर बढ्दै गएपछि सुरुको चरणमा अस्पतालले निकै समस्या झेलेको थियो । पछि उपकरण र स्वास्थ्य सामाग्री स्थानीय प्रदेश र सघीय सरकार मार्फत उपलब्ध भएपछि उपचारमा सहज बन्दै गएको खतिवडाले बताउनु भयो । इलाम नगरपालिकाले करीब एक महिना सम्म ३ जना नर्सहरुलाई अस्पतालको प्रसुति कक्षमा पठाएको थियो ।‘ इलाम नगरपालिकामा नै रहेको यस अस्पतालको प्रसुति सेवा बन्द गर्नु पर्र्ने अवस्था आइसकेको भएपछि नगरले जनशक्ति उपलब्ध गराएको थियो ।’ खतिवडाले भन्नु भयो ।

    जोखिम मोलेर प्रसुती सेवा

    इलाम अस्पतालमा कोभिड संक्रमित एक जना महिलाको सफल शल्यक्रिया गरी प्रसुति गरेकोे थियो । इलाम नगरपालिका – ११ की २१ वर्षिया वविता राईको शल्यक्रिया गरिएको थियो । कोभिड संक्रमण भएपनि उहाँको अवस्था सामान्य रहेको खासै लक्षण नदेखिएको राईले बताउनु भयो । कोभिड संक्रमण भएर आफ्नै ठाउँमा रहेको अस्पतालमा शल्यक्रिया सहितको सेवा पाउदा खुशी लागेको बताउनु भयो । डाक्टरको उपचार सेवा र परामर्श राम्रो लागेको राईको भनाई छ । उहाँले भन्नु भयो ‘नर्सहरुले डाक्टरहरुले माया गरेर उपचार सेवा दिनु भयो , बेलाबेला परामर्श दिदै हौसला प्रदान गर्नु भयो ।’ कोभिड संक्रमणको जोखिम बढिरहेका बेला प्रसुति सेवा लिन जिल्ला बाहिर घर बाट टाढा जान परेको भए समस्या हुने भन्दै इलाम अस्पतालमा सेवा पाउदा परिवारलाई सहज भएको राईले बताउनु भयो ।


    इलाममा कोरोना संक्रमण दर उच्च रहेकै बेला ८० बढीले प्रसुती सेवा लिएका छन । जसमध्ये ३१ जनाको शल्यक्रिया गरी प्रसुति गराइएको अस्पतालले जनाएको छ । देशभर कोरोना संक्रमण बढ्दै गएपछि कोरोना उपचारमा स्वास्थ्य संस्था केन्द्रित भएपछि प्रसुति लगायत अन्य विरामीहरुले सेवा पाउन समस्या भइरहेको थियो । जिल्लामा सम्भव हुने प्रसुति सेवा इलाम अस्पतालमा पाउदा धेरैलाई सहज भएको सेवा लिएकाहरु बताउछन ।
    कोरोेना संक्रमण दर र मृत्यु हुने संख्या बढ्दै गएपछि गएको बैशाख अन्तिम सातादेखि इलाममा निषेधाज्ञा जारी छ । संक्रमितको संख्या बढ्दो क्रममा हुदाँपनि अन्य कतिपय अस्पतालमा ओपिडि सेवा बन्द भएपनि इलाम अस्पतालमा ओपिडि सेवा भने बन्द नगरेको अस्पतालले जनाएको छ । दुईवटा एचडियु सैया सहित ४२ सैयामा राखेर कोभिडका विरामीलाई उपचार गरेको जनाईएको छ ।

    अभावको बीच सेवा

    जनशक्ति अभावकै कारण कतिपय उपकरण प्राप्त भए पनि प्रयोगविहीन भएका छन । इलाम अस्पतालमा विषेशज्ञ सहित १४ चिकित्सकको दरबन्दी हो तर अहिले स्त्रीरोग विशेषज्ञ एक जना मात्र स्थायी डाक्टर छन । अस्पतालको लागि आवश्यक दरबन्दी ५९ जना हो तर स्थायी कर्मचारी २९ जना मात्र छन । अस्पतालमा चार जना मेडिकल अधिकृतको दरबन्दी भएपनि अहिले २ जना मेडिकल अधिकृत छात्रवृत्ति करारमा मात्र छन । अस्पतालमा ९ जना कन्सलट्यान्टको दरबन्दी भएपनि ३ कन्सलट्यान्ट मात्र कार्यरत रहेका छन । ३ जना कन्सलट्यान्ट मध्ये २ जना छात्रवृति करारमा कार्यरत छन भने एकजना स्थायी मेसुको रुपमा कार्यरत गाइनोक्लोजिस्ट छन ।
    इलाम अस्पतालमा आइसियु भेन्टिलेटर सहित विशेषज्ञ डाक्टरको सुविधा नहुदाँ इलाम बासीले पटक पटक आवाज उठाउने गरेका छन । कोरोना कहरका बेला समेत जनस्तरबाट आवज उठे । भएको उपकरण प्रयोग हुन नसकेको भन्दै नागरिकले गुनासो गरीरहेका छन ।


    इलाम अस्पताललाई विभिन्न संघ संस्था तथा व्यक्तिहरुले स्वास्थ्य साम्रगी सहयोग गरे । देश विदेशमा रहेका इलामेलीहरुले गृह जिल्लामा कोभिड संक्रमण बड्दै गएपछि उपचारमा सघाउ पुर्याउन दिल खोलेर सहयोग गरे । अक्सिजन सिलिन्डर , वेड ,अक्सिजन कन्सन्ट्रेटर लगायत सामाग्री र उपकरण इलाम अस्पताललाई उपलब्ध गराएका छन । प्रदेश , स्थानीय र संघीय सरकार मार्फत अस्पताललाई स्वास्थ्य सामाग्री प्राप्त भएको अस्पताल व्यवस्थापक क्षितिज खतिवडाले बताउनु भयो । रेडियो नेपालबाट



    निगरानी डेक्स    
  • २०७८ असार १३, आईतवार १५:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP