किरात लुङ्खिम मातृभाषा प्रशिक्षण सम्पन्न

किरात लुङ्खिम मातृभाषा प्रशिक्षण सम्पन्न


सूर्योदय : किरात लुङ्खिम राईहरुको लोप हुन लागेको मातृभाषा संरक्षणका लागि इलामको सूर्योदय नगरपालिका ११, केराबारीमा सञ्चालन गरेको भाषा प्रशिक्षण शनिबार सम्पन्न भएको छ ।
सूर्योदय नगरपालिकाको दुई लाख रुपयाँ आर्थिक सहयोगमा भाषा आयोगले बनाइदिएको पाठ्यक्रम अनुसारको दोस्रो चरणको भाषा प्रशिक्षण सम्पन्न भएको हो ।
तीन बर्षको प्रयासमा आधारभुत भाषाको ज्ञान लिएका सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाका लुङखिमहरु अब मुखले बोल्ने भाषालाई व्याकरणका दृष्टिले समेत व्यवहारीक प्रयोगमा ल्याउने प्रयासमा लागेका छन् ।


लुङ्खिम समाज नेपालका सचिव दुर्गामान राईले भने ‘गत बर्ष सम्म सामान्य बोलचालको शब्द सिक्यौ, अब बर्ष सिकाइलाई थप फराकिलो पारेका छौ ।’
कुल पुजामा कुल पुजारीले मात्रै जातको भाषा प्रयोग गर्दै आएकोमा तीन बर्ष अघि भाषा आयोगको आयोजनामा गाउँमै चार महिला सहित ३० जनाले भाषा सिकिका थिए । लुङ्खिम राई समाज नेपालका अध्यक्ष जंगबहादुर लुङ्खिम राईका अनुसार यस पटक जेष्ठ नागरिक देखि युवा युवतीले समेत भाषा सिकेका थिए ।’
वितेको दुई बर्ष लुङ्खिम भाषाको आधारभूत कक्षाले सामान्य बोलिचालीको कुरा सिकाएको अध्यक्ष लुङखिमले बताए । यस पटक पनि आयोगले निर्माण गरेको ‘लुङ्खिम खा’ (लुङ्खिम भाषा कक्षाको पाठ्यसामग्री)को आधारमा सहभागिलाई हरेक दिन विहान ८ बजे देखि १० बजे सम्म ४५ दिने तालिम प्रदान गरिएको थियो । जसमा ३० दिन प्रशिक्षण प्रदान गरिउको थियो भने १५ दिन स्वअध्यायनको अवसर प्रदान गरेको समाजका समाजका केन्द्रिय सदस्य पुर्ण बहादुर राईले जानकारी दिए ।
सूर्योदय नगरपालिकाका उपमेयर दुर्गा कुमार बरालले तालिम समापनको अवसरमा प्रमुख अतिथिको मन्तव्य राख्दै भाषा संरक्षणका लागि गरेको प्रयासको प्रशंसा गरे । उनले भाषा, संस्कृती संरक्षणको प्रयासमा नगरपालिकाले साथ दिने बताए । सूर्योदय नगरपालिका वाड न १ का वडा अध्यक्ष राजकुमार सेरेङले भाषा, सस्कृती, साहित्य संरक्षको प्रयासमा स्थानीय सरकारले सकारात्मक रुपमा साथ दिइरहेको बताए । कार्यक्रममा बोल्दै सूर्योदय नगरपालिका ११ का वडा अध्यक्ष सन्तोष राईले सबैको भाषा, संस्कृती र साहित्यको संरक्षणको लागि तीन तहको सरकारले निरन्तर सहयोग गर्नुपर्ने बताए । सूर्योदयन गरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराईले भाषाको संरक्षणमा समूदायको मात्रै प्रयास पर्याप्त नहुने भएकाले स्थानीय सरकारले सहयोग गरिरहेको बताए ।
प्रशिक्षक अरुणबहादुर लुङ्खिमले नियमित कक्षामा आउनेले मातृ भाषामै कुरा गर्न थालेको बताए । नेपालमा कुसुन्डा, तिलुङ, दुरा, बराम र लुङ्खिम गरी पाँचवटा लोपोन्मुख भाषाको संरक्षणको काम अहिले भाषा आयोगले गर्दै आएको छ ।
सचिव राईका अनुसार यस अघिका तालिममा घरमा प्रयोग गर्ने सामान, सम्मान, नाता गोतालाई प्रयोग गर्ने सिष्टाचार लगायतका कुरालाई प्राथमिकताका साथ सिकाइएको छ ।
इलामको सूर्योदय नगरपालिकाको केरावारी, आहालेमा १०० घर जती लुङ्खिम रहेको सचिब राईले बताए । उनका अनुसार इलामको रोङ गाउँपालिका, देउमाईदेउमाई, इलाम नगरपालिकामा समेत लुङ्खिमको बसोबास रहेको छ । लुङ्खिम भाषामा अहिले २४ वटा अक्षर रहेका छन् ।
समाज नेपालका अध्यक्ष जंगबहादुर लुङ्खिम राईको अध्यक्षतामा भएको कार्यक्रम सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गा कुमार बरालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य लता अधिकारी, कमल बहादुर राई लगायतले मन्तव्य राखेका थिए ।