सत्तामा बस्ने सबैको छानविन गर्न कांग्रेस उपसभापति गुरुङ्गको प्रस्ताव (सम्मेलनमा पारित राजनीतिक प्रतिवेदन सहित )

सत्तामा बस्ने सबैको छानविन गर्न कांग्रेस उपसभापति गुरुङ्गको प्रस्ताव (सम्मेलनमा पारित राजनीतिक प्रतिवेदन सहित )


माई (इलाम)ः नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सत्तावाट बाहिरीएपछि प्रतिपक्षी अतालिएर गालीगलौजमा उत्रिएको बताएका छन् । इलामको माई नगरपालिकामा नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति १(१)को प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उपसभापति गुरुङले सो कुरा बताएका हुन् ।
उनले सुनकाण्डका आरोपीलाई अघिल्लो सरकारले उन्मुक्ति दिएको भन्दै प्रश्न गरे ‘उहाँहरुको सूशासन त्यही थियो ?’ असल शासनको कुरा मात्रे गरेर नहुने भन्दै अहिले सम्म सत्तामा बसेका सबैको सम्पती छानविन गर्न आवश्यक रहेको बताए ।
उनले संविधान संसोधन गरेर सांसदको सख्या घटाउनु पर्ने बताए । उनले प्रत्यक्ष निर्वाचन प्रणालीमै समानुपातीको व्यवस्था राख्नु पर्ने घारणा राखे ।
उनले अर्थतन्त्र सुधारका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिनु पर्ने बताए । उनले स्थानीय मदिरालाई ब्राण्डीङ गरेर करको दायरामा ल्याउनु पर्नेमा समेत जोड दिए । उनले सम्बन्धीत मन्त्रालय र त्यहाँका सचिवले यस क्षेत्रमा काम नगरेको कारण दुबै काम रोकीएको बताए ।


उनले पार्टी विधिमा चल्न नसकको स्विकार गरे । उनले आफू पार्टीलाई विधिमा चलाउन प्रयास गरिरहेको बताए ।
सम्मेलनमा प्रदेश सभा क्षेत्रीय कार्यसमितिका सभापति निश्कल राईले पार्टीको संरचनात्मक सुधार, उम्मेद्वार छनौट प्रकृयामा सुधार लगायतका प्रस्ताव सहितको राजनीतिक, सांगठनीक प्रतिवेदन पेश गरेका थिए ।
सम्मेलनमा नेपाली कांग्रेस इलामका जिल्ला सभापति डम्बर खड्का, पुर्व सभापति केशब थापा, क्षेत्रीय सभापति समशेर राई, नेता भेषराज आचार्य, जिल्ला उपसभापति खगेन्द्र देवान लगायतले मन्तव्य राखेका थिए ।