logo
  • २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • डिसेम्बर १९ मा आइपिएलको खेलाडी लिलामी ,सन्दिपमाथि संकट

    डिसेम्बर १९ मा आइपिएलको खेलाडी लिलामी ,सन्दिपमाथि संकट

    काठमाडौं। इण्डियन प्रिमियर लिगको २०२० सिजनको लागि खेलाडीको लिलामी आगामी डिसेम्बर १९ मा कोलकातामा हुने भएको छ । कोलकातामा पहिलो पटक लिलामी हुन लागेको हो । यसअघि धेरैजसो लिलामी बैंगलोरमा हुने गरेको थियो । खेलाडीको ट्रेडिङ विन्डो १४ नोभेम्बरमा बन्द हुनेछ । इएसपिएनक्रिकइन्फोका अनुसार आठै फ्रेन्चाइजीहरुलाई यसबारे जानकारी दिइएको छ ।

    यस वर्ष लिलामीको लागि हरेक टिमलाई कूल ८५ करोड दिइनेछ । यो गत वर्षको तुलनामा ३ करोड बढी हो । लिलामीमा कति खेलाडीले सहभागिता जनाउनेछन् भन्ने अहिले नै सार्वजनिक गरिएको छैन । गत वर्षको लिलामीपछि दिल्ली क्यापिटल्ससँग सबैभन्दा धेरै ८.२ करोड रुपैयाँ बजेट बाँकी छ । रोयल च्यालेन्जर्स बैंगलोरसँग सबैभन्दा कम मात्रै १.८ करोड बाँकी छ । यसमा सबै फ्रेन्चाइजीहरुले ३ करोड रुपैयाँ थप पाउनेछन् ।

    आइपिएल २०२१ को लागि सबै खेलाडीहरु लिलामी प्रक्रियाबाट जानुपर्नेछ तर यस पटक भने फ्रेन्चाइजले अनुबन्ध गरेका खेलाडीहरु नै रिटेन गर्न पाउँछन् । त्यसैले यसपटक लिलामी सानो हुनेछ । पछिल्लो पटक ठूलो लिलामी जनवरी २०१८ मा भएको थियो । त्यतिबेला टिमलाई मात्रै ५ खेलाडी रिटेन गर्न छुट दिइएको थियो ।

    यसपटकको लिलामीमा सबैभन्दा धेरै बजेट दिल्ली क्यापिटल्ससँग रहेको र उसले आफ्नो चाहना पनि बताइसकेको हुँदा यो फ्रेन्चाइजमा आबद्ध नेपाली खेलाडी सन्दिप लामिछानेमाथि संकट बढेको छ । दिल्लीले यसै वर्षको ट्रेडिङ विन्डोबाट मुम्बइका स्पिनर मयंक मार्कण्डेलाई ल्याएको छ । उता किंग्स ११ पंजाबले आफ्ना कप्तान रविचन्द्रन अश्विनलाई रिलिज गरेकोमा उनलाई पनि अनुबन्ध गर्ने दिल्लीको तयारी छ । अश्विन दिल्लीमा आउने लगभग निश्चित छ । यस्तोमा नेपाली बलर सन्दिप लामिछाने संकटमा पर्न सक्छन् ।

    यसपटकको ट्रान्सफर विण्डोबाट मयंक मार्कण्डेलाई अनुबन्ध गरेको दिल्लीसँग स्पिनर धेरै भएका छन् । २०१८ को सिजनमा सन्दिप लामिछाने, अमित मिश्रालाई लिएर खेलेको दिल्लीले २०१९ को सिजनमा अक्षर पटेललाई ल्यायो । त्यसपछि नै स्पिनरबीच को खेल्ने भन्ने प्रतिस्पर्धा बढिसकेको थियो । यसपटकको ट्रान्सफर विन्डोबाट मार्कण्डेलाई पनि ल्याइएपछि सन्दिपले मौका पाउन कठिन भइसकेको छ ।

    मुम्बइबाट २०१८ को सिजनमा खेलेका मार्कण्डेले १४ खेलमा १५ विकेट लिएका थिए । तर, २०१९ को सिजनमा मुम्बइबाट राहुल चहर चम्किएपछि मार्कण्डेले ३ खेलमा मात्र मौका पाए । राहुल चहर पाएपछि मार्कण्डे आफूलाई आवश्यक नपर्ने ठानेर मुम्बइले उनलाई बेच्यो तर दिल्लीमा उनी सन्दिपको प्रतिस्पर्धी बनेर आए । त्यसमाथि यसपटकको अक्सनमा दिल्लीले अश्विनलाई किनेमा सन्दिपमाथि थप संकट आउनेछ । सन्दिपको मूल्य मात्रै २० लाख भएकोले दिल्लीले उनलाई रिलिज त नगर्ला तर खेलमा मौका पाउने सम्भावना भने घटेको छ ।



    निगरानी    
  • २०७६ आश्विन १५, बुधबार ०९:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP