नेपाली राष्ट्रिय फुटसल टिमले इरानमा सहभागिता जनाउने

काठमाडौं । एएफसी फुटसल च्याम्पियनसिप छनोटमा सहभागिता जनाउन नेपाली राष्ट्रिय फुटसल टिमको विदाई गरिएको छ ।

इरानमा आयोजना हुने छनोट खेल्न जाने नेपाली टोलीलाई शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले विदाई गरेको हो ।

१४ खेलाडी र ६ अफिसियलसहितको २० सदस्सीय नेपाली टोलीलाई एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ लगायतले विदाई गरे । नेपाली टिम आइतबार त्यसतर्फ जाने छन् ।

छनोटको सेन्टर र साउथ जोनमा रहेको नेपाल समूह ’ए’ मा रहेको छ । नेपालको समूहमा ताजकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान रहेका छन् ।

नेपालले ताजकिस्तानसँग कात्तिक ६ गते पहिलो खेल खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसँग कात्तिक ७ गते खेल्नेछ । अन्तिम खेलमा नेपालले अफगानिस्तानसँग कात्तिक ८ गते खेल्नेछ ।

छनोटको शीर्ष टिम फाइनल चरणमा छनोट हुनेछन् । फाइनल चरणको खेल भने फेब्रुवरी २७ देखि मार्च ८ गतेसम्म तुर्कमेनिस्तानमा आयोजना हुनेछ ।

नेपाली टिमको मुख्य प्रशिक्षकमा विष्णु गुरुङ र सहायक प्रशिक्षकमा गौरव बस्नेत रहेका छन् ।

प्रशिक्षक विष्णुले तयारी राम्रो भएको कारण इरानमा राम्रो नतिजा ल्याउने बताए ।

‘तयारी राम्रो भएको छ । हामी इरानमा आफ्नो स्तर अनुसार राम्रो नतिजा दिन्छौं,’ प्रशिक्षक गुरुङले भने ।

यस्तै राष्ट्रिय फुटबल टिमका पूर्व सदस्य तथा हाल फुटसल टिमका कप्तान विजय गुरुङले राम्रो नतिजाका लागि खेल्ने बताए ।

‘हामीले विगत धेरै दिनदेखि तयारी गरेका छौं । तयारी राम्रो भएको छ । त्यसैले राम्रो नतिजाको आशा गरौं,’ विजयले भने ।

नेपाली टिम :
अनिष श्रेष्ठ, सुमित आले, सन्जोग चाम्लिङ राई, सरोज तामाङ, आदिल हमिद, अभय राना, अरुज सिंह, विजय श्रेष्ठ, विजय गुरुङ, सरोज गुरुङ, बिनोद गुरुङ, आशिष लामा, मणी लामा र निर्मल गुरुङ