महिला भलिबल खेलमा नेपाल विजयी

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । वैदेशिक प्रशिक्षणका लागि थाइल्याण्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टिमले चौथो मैत्रीपूर्ण खेलमा जित निकालेको छ ।वैदेशिक प्रशिक्षण तथा अभ्यास खेलका लागि थाईल्याण्डमा रहेको महिला भलिबल टिमले बिहिबार भएको खेलमा जापानको जुनियर टिमलाई ३–१ को सेटमा पराजित गरेको हो ।

नेपालले जापानी टिमलाई २५–१५, २०–२५, २५–१६ र २५–११ को सेटमा हराएको हो । अपराह्न ४ बजे जापानी टिमसँग खेल्ने तय भएपनि प्राविधिक कारणले बिहानै १० बजे नेपालले आफ्नो चौथो खेल खेलेको थियो ।यसअघि नेपालले थाईल्याण्डको स्थानीय टिम जरानसानिवोङ र बैंकक युनिभर्सिटी यु–२३ टिमलाई समान ३–१ को सेटमा हराएको थियो । यस्तै, थाइल्याण्डको यु–२१ युथ टिमसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

नेपालले शनिबार थाइल्याण्डको शीर्ष टिमसँग र बुधबार थाईल्याण्डकै युनिभर्सिटीको च्याम्पियन टिमसंग खेल्नेछ ।नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारी गर्न नेपाली टिम थाइल्याण्ड गएको हो ।थाईल्याण्डमा नेपालले ७ मैत्रीपूर्ण खेल खेल्नेछ । महिला टिमले कात्तिक २२ देखि २७ गतेसम्म हुने एभिसी सेन्ट्रल जोन खेल्नेछ भने मंसिर १५ देखि २५ गतेसम्म घरेलु भूमीमा हुने सागमा प्रतिस्पर्धा गर्नेछ ।