काठमाडौं । कांग्रेस युवा नेता तथा समाजसेवी डम्वर खड्काले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता इलामे खेलाडीलाई सम्मान गरेका छन् ।
खड्काले इलामका पाँच खेलाडीलाई सम्मान गरेका हुन् । सम्मान पाउने खेलाडीमा सन्दकपुर गाउँपालिकाका छिरिङ गुरुङ, देउमाई नगरपालिकाकी जुनी राई, सूर्योदयकी अन्जिला तुम्बापो सुब्बा, इलामका विजय बुर्जा र माङसेबुङ गाउँपालिकाकी विनीता बुढाथोकी छन्।
गुरुङले फुटबलमा स्वर्ण, राईले उसुमा स्वर्ण, सुब्बाले फुटबलमा रजत, बुढाथोकीले बिच भलिबल र बुर्जाले बास्केटबलमा कांस्य पदक जितेका थिए।
इलाम विकास समाजले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा समाजसेवी डम्बर खड्काले नगद पुरस्कारसहित सम्मान गरेका हुन्। स्वर्ण, रजत र कांस्य पदक विजेतालाई क्रमशः २५ हजार, २० हजार र १५ हजार हस्तान्तरण गरिएको थियो। नेकपा नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले खेलाडीहरूलाई समाजका तर्फबाट प्रमाणपत्र प्रदान गरेका थिए।
खेलाडीहरूले इलामेहरुले विभिन्न खेल पनि खेल्दा रहेछन् भन्ने स्थापित गरिदिएको पूर्वसभामुख नेम्बाङले बताए। ‘उहाँहरूले हाम्रो शिर ठाडो बनाइदिनुभएको छ। हाम्रो सम्मान बढाइदिनुभएको छ’, उनले भने, ‘अप्ठेराहरूका बाबजुद देशकै शिर ठाडो पारिदिनुभएको छ।’ सागमा तीन दिनसम्म भारतको ‘बोल्ती बन्द’ भएको उनले उल्लेख गरे। ‘तेस्रो दिनपछि जब मेडलमा नेपाल पछाडि प¥यो भारतको दबदबा कायम छ भन्न थाल्यो’, उनले भने, ‘त्यो हिसाबमा हामीले मेडलहरु ल्यायौं।’
समाजसेवी खड्काले इलामका गाउँबाट आएर पदक जित्ने खेलाडीहरूप्रति गौरव महसुस भएको बताए। चियालगायत कृषिमा चिनिएको इलामको पहिचान खेलमा पनि स्थापित भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य निरोज खड्गीको भनाइ थियो।