इलाम , असोज १ : अन्तर विद्यालय क्रिकेटको उपाधि जुविलेन्ट इलाइट एकाडेमीले उचालेको छ । इलाम सदरमुकाम स्थित ठुलो टुडिखेलमा मङलबार सम्पन्न फाइनल खेलमा समता शिक्षा निकेतनलाई ७ रनले पराजित गर्दै जुविलेन्टले उपाधि चुमेको हो । यसअघिको संस्करणमा मन्टेश्वरी बोर्डिङलाई हराउँदै जुविलेन्टले उपाधि जितेको थियो ।
आजको फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको जुविलेन्टले निधारित २० ओभरमा १० विकेट गुमाउँदै ११० रनको योगफल तयार गरेको थियो । जुविलेन्टका लागि सनम लावतीले सर्वाधिक ३० रन जोडे भने सुशान्त इजमले १३ र क्रिस्टियन श्रेष्ठले १० रनको पारी खेले । अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । १११ रनको लक्ष्य पछयाउँदै जवाफी ब्याटिङ गरेको समताले १७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १०३ रनमा समेटिन पुग्यो ।
समताका लागि कप्तान आयुश बस्नेतले नट आउट रहदैँ ५२ रन जोडेपनि हार टार्न सकेनन् । समताको ब्याटिङ लाइन धरासायी बनाउन रेशभ ढकाल र अलराउन्डर अनुपम श्रेष्ठले समान ३/३ विकेट लिए । ढकालले आफ्नो स्पेलको ४ ओभर बलिङमा १३ रन दिएर ३ विकेट लिए । रेशभ म्यान अफ दि फाइनल चुनिए ।
प्रतियोगिताको बेस्ट बलर रेशभ ढकाल, बेस्ट ब्याटर अनुपम श्रेष्ठ र बेस्ट क्याचर सनम लावती चुनिएका छन । प्लेयर अफ दि सिरिज समताका आयुश बस्नेत र इमर्जिङ प्लेयर बिबि मेमोरियलका प्रतिक रसाइली चुनिएका छन । यसअघि ‘ग्रुप ए’ को खेलमा समताले जुविलेन्टलाई ५ विकेटले हराउँदै समुह बिजेता बनेको थियो । गत भाद्र २५ गतेदेखि संचालित प्रतियोगितामा इलामका ७ वटा विद्यालयको सहभागिता रहेको थियो ।‘ग्रुप ए’ मा जुविलेन्ट, समतासंगै गोल्डेन फ्युचर बोर्डिङ स्कुल र आदर्श मावि थिए । ‘ग्रुप बी’ मा बिबि मेमोरियल, प्रज्ञा सदन र फिक्कल मावि थिए ।
जिल्ला क्रिकेट संघ अध्यक्ष एवम नेपाल क्रिकेट संघ (क्यान) केन्द्रीय सदस्य अर्जुन पौडेलको अध्यक्षतामा भएको फाइनल खेलमा इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कोशी प्रदेश क्रिकेट संघका सचिब टिकाराम पुरी र नगर खेलकुद बिकास समितिका उपाध्यक्ष गणेस खतिवडाको उपस्थिति थियोे ।
प्रतिक्रिया