इलामे महिलाको इलम

इलामे महिलाको इलम

सविता पाण्डे ,इलाम ।

घरयासी काममा मात्र व्यस्त इलाम नगरपालिकाका ८ तिल्केनीकी दिपा गुरुङलाई घरको भित्रको काम मात्र गरेर बस्न मन लागेन । श्रीमान बैदेशिक रोजगारीमा गएपछि आफूले पनि आय आर्जन हुने काम गर्न पाए परिवार चलाउन अझ सहज हुन्छ भन्ने उहाँलाई लाग्यो । त्यसपछि कामको खोजी गर्दा ललिपप उद्योगमा काम गर्न थाल्नुभयो । २०६८ सालदेखि २ वर्ष सम्म अरुको उद्योगमा दैनिक ज्यालादारीमा काम गर्र्दैै जादा उहाँले आफ्नै उद्योग खोल्ने सपना देख्नुभयो ।
अरुको उद्योगमा काम गर्दा गर्दै आफै उद्योगी बन्ने सपना सकार पार्नु त्यति सजिलो कुरा थिएन । अरुकोमा काम गर्ने कामदारले आफू जस्तै धेरै कामदारलाई रोजगारी दिनु त झन परको कुरा भयो । तर मनमा हिम्मत र अटोठ भयो भने जस्तो सुकै अप्ठयारो काम पनि सम्भव हुन्छ भन्ने उदाहरण बन्नु भएको छ, महिला उद्यमी दिपा गुरुङ । उहाँ भन्नु हुन्छ ‘म पनि सक्ने रहेछु ललिपप उत्पादन गर्न भन्ने लाग्यो र उद्योग चलाउन अठोट गरेको हु ’। पहिले देखि नै महिलाहरुले पनि केही न केही गर्नु पर्छ भन्ने लागथ्यो र पक्कै सक्छु भन्ने लाग्यो र आँट गरे सफल भए खुशी छु उहाँले थप्नु भयो ।

कामदार बाट उद्योगी बन्ने दीपाको सपना पुरा गर्न धेरै समय लागेन । अन्तत २०६९ साल आफनै नाममा ग्रीन सिटी ललीपप उद्योग सुरु गर्नु भयो । आफुमा आत्माविश्वास भयो भने कुनैपनि सपना सकार पार्न समय नलाग्ने गुरुङ बताउनु हुन्छ । वित्तिय संस्थाहरुबाट ऋण लगानी र श्रीमानले विदेशबाट पठाएको रकमले पाँचलाख रुपैयाको लगानीमा ललीपप उद्यो सुरु गरेको उहाँ बताउनु हुन्छ । सुरुमा ६ जना कामदारको रुपमा राखेर उद्योग सुरु गर्नु भएकी गुरुङले अहिले ३५ जना भन्दा बढी महिलाहरुलाई रोजगारी दिनु भएको छ । गुरुङ भन्नु हुन्छ ‘अर्काकोमा रोजगारी गर्ने भएकोले अलिक समय अरुकै उद्योगमा काम गरे केही समय काम गरे पछि लगानीको लागि श्रोत जुटाउन लागि परेको र उद्योग स्थापन गरे ’ । संघ संस्थाबाट ऋण लिएर र श्रीमानले विदेशबाट पठाएको रकम जोहो गरेर उद्योगमा लगानी गनु भयो । पाँचलाख लगानी गरेर उद्योग सुरु गरेको व्यवसाय अहिले २० लाख बढीको व्यवसाय पुगेको बताउनु हुन्छ गुरुङ ।

अडियो दिपा गुरुङ

परिवारको गुजारा चलाउन श्रीमान बैदेशिक रोजगारीमा जानु पर्ने बाध्यता बन्यो तर उहाँले उद्योग संचालन गरेर व्यवसाय बढ्दै गएपछि श्रीमान गणेश प्रसाद गुरुङलाई पनि स्वदेशमा नै बोलाउनु भयो र अहिले दिपाले सुरु गरेको उद्योगमा उहाँको श्रीमानले सहयोग गदै आउनु भएको छ । उद्योग सुरु गर्दा लगानी पो डुब्ने हो कि भन्ने आशंका परिवारमा थियो । आफ्नै श्रीमानले पनि विश्वास गर्न नसकेको दीपाको उद्यम सफलताले बैदेशिक रोजगारीमा गएका श्रीमान आफ्नै उद्योगमा रमाएका छन । परिवार सँग टाढिएर रोजगारी गर्नु पर्ने बाध्यतालाई दीपाको सफलताले नजिक बनाएको उहाँ खुशी हुनुहुन्छ । गुरुङ भन्नु हुन्छ बैदेशिक रोजगारीमा जानु भन्दा स्वदेशमा केही गर्न सके राम्रो हुन्छ । गरे जे हुन्छ अहिले अवसर धेरै छ हिम्मत गरे स्वरोजगार बन्न धेरै उपायहरु रहेको बताउनु हुन्छ । आट हिम्मत गरे खासै निराश बन्नु पदैन । उहाँ आफ्नै देशमा जताततै अवसर देख्नु हुन्छ ।
धेरै दिदी बहिनी भएकोले परिवारमा दुख दुखै भएकोले अध्ययन गर्न नपाएको उहाँ बताउनु हुन्छ । आफुले पढाइलाई अघि बढाउन नपाए पनि आफ्नो क्षमता अनुसारको काम गरीरहेकोमा उहाँ सन्तुष्ट हुनुहुन्छ । आफ्नो क्षमता अनुसार काम गर्न शिक्षाले नरोक्ने उहाँको विश्वास छ ।
ग्रिन सिटि ललीपप उद्योगको उत्पादन पाँचथर देखि काठमाण्डौ सम्म पुग्ने गरेको छ । ६÷७ प्रकारको ललीपप र बम्बैसन उत्पादन गदै आउनु भएको छ । वर्षाको समयमा भन्दा हिउँदमा बढी व्यापार हुने भएकोले मासिक रुपमा सरदर सबै खर्च कटाएर ५०÷६० हजार मासिक आम्दामी हुने उहाँको भनाइ छ ।

कहिले बिक्री नहुने सड्ने ,कहिले कामदार नपाउने समस्या बाहेक खासै समस्या झेल्नु परेको छैन उहाँले । कहिले काही कच्चा पदार्थ अभाव , कच्चा पदार्थ बिग्रिने सड्ने घाटा व्योहोनु पर्ने , जनशक्ति अभाव , बजारमा धेरै उत्पादनहरु आउने भएकोले कहिले बिक्री नहुने जस्ता समस्या हुने गरेको छ । साना साना समस्या बाहेक खासै समस्या भोग्नु नपरेकोले उद्योग सुरु गरे पछि खासै पछाडि फर्किनु नपरेको गुरुङ बताउनु हुन्छ । दुधबाट बन्ने मिठाइको परिकार ललीपप र बम्बैसन इलामको कोसेली भएकोले पनि इलाम घुम्न आउनेहरुले इलामको कोसेलीको रुपमा लैजाने गर्दछ । जति धेरै पर्यटक आवागमन बढ्छ यसको व्यापार पनि फटाउने गरेको छ ।

कुनै पनि क्षेत्रमा सफल हुन इमानदारिता हुनपर्ने , परिवारले साथ दिनु पर्ने बताउनु हुन्छ उहाँ । कुनै पनि कर्म प्रति आत्माविश्वास , लगनशीलता र जागरुकता भयो भने सफलता पाउन सकिन्छ भन्ने सकारात्मक सोच राख्नु गुरुङ ।
आम नेपाली महिला जस्तै चुलो चौकाको काम सम्हालेर आफनो उद्योगलाई व्यवस्थित गर्दै सामाजिक क्षेत्रमा पनि उतिकै सकृय हुनुहुन्छ । अहिले इलाममा भएका संघ सस्थाहरुमा बसेर सामाजिक कामलाई पनि प्राथमिकता दिने गरेको उहाँको भनाइ छ । दीपा गुरुङ अहिले इलाम उद्योग वाणिज्य संघको जिल्ला सदस्य पनि हुनु हुन्छ भने विभिन्न सहकारी संस्था तथा सामाजिक संस्थामा पनि आबद्ध हुनुहुन्छ ।

भविष्यमा व्यवसाय बढाउने र धेरै महिलाहरुलाई रोजगारी दिने उहाँको सपना छ । उहाँ भन्नु हुन्छ रोजगारीको लागि विदेश जान नपरोस स्वदेशमा सबैलाई रोजगारीको अवसर मिलोस । राज्यबाट पनि उद्यम गर्न चाहानेलाई सहयोग गरिदियोस भन्ने गुरुङको चाहाना छ ।
आफनो व्यवसायलाई अझै बढाउदै लैजाने उहाँले बताउनु भयो । घिउ छुर्पी अकबरे खोर्सानी अचार जस्ता उत्पादन आफनै उद्योग बाट उत्पादन गर्ने गुरुङको योजना रहेको सुनाउनु भयो । गुरुङको पे्ररणादायी उद्यम सफलताबाट पनि इलामका कतिपय महिलाहरु उद्यम तर्फ आर्कषित भएका छन ।

इलाममा कपडाको पसल संचालन गर्दै आउनु भएकी कमला बास्कोटाले ३ वर्ष देखि आफ्नै उद्योग संचालन गरी रहनु भएको छ । पसल संचालन गदै गर्दा त्यही व्यवसायको कारण उद्योग वाणिज्य संघ अन्र्तगतको महिला उद्यमी इकाइमा आबद्ध हुनु भयो । त्यही इकाईमा जानेआउने भएपछि भए पछि अरु महिलाले आफनै नाममा संचालन गरेको उद्योग भएपनि उहाँको श्रीमानको नाममा दर्ता भएको पसल भएकोले उहाँलाई पनि लाग्यो आफ्नै पहिचान भएको केही व्यवसाय होस । उहाँ भन्नु हुन्छ ‘आफै प्रोपाइटर भएको आफनै पहिचान भए हुन्थयो भन्ने लाग्थ्यो । त्यही समयमा ओखलढुङामा संचालन भएको खाद्य मेलामा महिला उद्यमी इकाइको प्रतिनिधित्व गर्दै अरु नै उद्योगको उत्पादन लिएर सहभागी हुदा पुरस्कृत हुनु भयो । उहाँ भन्नु हुन्छ ‘मेरो उद्योग नै छैन अरुको उद्योगको उत्पादनबाट पुरस्कृत भए भने अब आफ्नै सामान विक्री गरेर पुरस्कृत हुनु पर्छ भन्ने पे्ररणा मिल्यो । पुरस्कृत भएरर फर्किर आएपछि केही न केही सुरु गर्नु पर्छ भन्ने उहाँलाई लाग्यो ।

के गरौ के गरौ भन्ने अन्यौलताका बीच अकबरेको अचार बनाएर बेच्ने योजना सहित २०७३ सालमा नमुना कलेक्सन अचार उद्योग दर्ता गर्नु भयो । उहाँ भन्नु हुन्छ आफ्नै नाममा उद्योग दर्ता भए पछि एकदमै उत्साहित भए । उहाँ थप्नुभयो आफ्नै नाममा उद्योग सुरु गरेपछि आफैलाई गौरव लाग्यो । झण्डै एक दशक अघि उहाँ भित्र रहेको उद्यमी बन्ने चाहाना वास्तविकतामा परिणत भयो । फोटो
उद्योग दर्ता गरे पछि केही न केही सुरु गर्ने सोच बनाउनु भयो र सुरुमा १५ केजी अकबरे खोर्सानी किनेर अचार बनाउन सुरु गर्नु भयो । उद्योग सुरु गरेको वर्ष ३० मन ( ४० केजी को एक मन ) खोर्सानी किनेर प्रशोधन गरी विक्री गर्नु भयो । सुरुमा ५ लाख लगानी गरेर उद्योग सुरु गरेपछि पहिलो वर्ष नै २५ प्रतिशत भन्दा वढी नाफा कमाउन सफल भए पछि उत्साहित भएर हरेक वर्ष लगानी बढाउदै गएको बताउनुहुन्छ । अहिले उहाँको उद्योगमा अकबरे खोर्सानीको धेरै भेराइटी बन्ने गरेको छ । अकबरेको अचार सहित इलाममा पाइने जडीबुटी मिसाएर अचार उत्पादन गदै आउनु भएको छ । अचारको माग बढ्दै गएपछि आफुमा अझ जाँगर बढाएको उहाँ बताउनु हुन्छ ।
इलाममा अचारका धेरै नै उद्योगहरु संचालनमा छन तर बास्कोटाले त्यही अकबरेमा जडीबुटी मिसाएर फरक स्वादमा उत्पादन गर्नु भएको छ । त्यही फरक स्वाद नै उपभोक्ता आर्कषित गर्ने कडी बन्यो । पछिल्लो समय जडीबुटी बाट बनेका परिकार प्रति उपभोक्ताको आर्कषण बढ्न थालेको बताउुनु हुन्छ । जडीबुटीको मिश्रण भएकोले पनि धेरै तिर बाट माग आउने गरेको बताउनुहुन्छ । बास्कोटाले उत्पादन गर्नु भएको अचार इलामका बजार सहित झापा, विराटनगर, काठमाण्डौ लगायतका सहरहरुमा विक्री हुदै आएको छ ।
इलाम बजारमा २५ वर्ष देखी व्यापार गर्दै आउनु भएकी कमला बास्कोटा अरुले उत्पादन गरेको कपडा बेच्दा बेच्दै उद्यमी बन्नु भयो । अरुले तयारी गरेको सामान बिक्री गर्नु र आफैले सामान उत्पादन गर्नु निकै अन्तर भएको उहाँको अनुभव छ । व्यसायमा १० प्रतिशत अप्ठयारमय तर उद्योगमा ९० प्रतिशत समस्या हुने उहाँको भनाइ छ । सामान उत्पादन गरेपछि विक्री हुन्छ कि हुदैन बजारीकरण कसरी गर्ने भन्ने पनि समस्या उद्योग संचालन गर्दा हुने अनुभव सुनाउनु हुन्छ बासकोटा ।

अडियो कमला बास्कोटा

उद्योगमा धेरै नै जोखिम हुने बताउनु हुन्छ । आफ्नो उत्पादनमा उपभोक्तालाई बानी पार्न निकै नै धैर्य गर्नु पर्ने उहाँको अनुभव छ । हरेक महिलाले के गर्दा आफु स्वरोजगार बन्न सकिन्छ भन्ने सोच्नु पर्ने बताउनु हुन्छ । आर्थिक रुपमा महिलाहरु अगाडी आएमा कुनै पनि समस्या नहुने उहाँ बताउनु हुन्छ । महिलालाई कसरी स्वारोजगार बनाउन सकिन्छ भन्ने सोच राख्नु हुने बास्कोटा आफ्नो उद्योगमा पनि महिलालाइ नै रोजगारी दिएको बताउनु हुन्छ । उद्योग संचालन गर्न श्रीमान र छोरा छोरीबाट धेरै नै सहयोग पाएकोले पनि उद्योग संचालन गर्न सहज भएको बास्कोटा बताउनु हुन्छ ।

उद्यमी कमला बास्कोटा

इलाम उद्योग वाणिज्य संघकी उपाध्यक्ष तथा महिला उद्यमी विकास इकाइ इलामकी अध्यक्ष अनुजा सुवेदीको अनुसार इलाममा महिलाहरु उद्यम तर्फ आर्कषित भएका छन । धेरै महिलाहरुले उद्योग संचालन गरी सफल उद्यमी बनीरहेका छन भने रोजगारी समेत सृजना गरी रहेका छन । इकाइमा ६० जना बढी उद्यमीहरु आबद्ध छन भने जिल्लाभर उद्यमीहरु समेटन डाटा संकलन गरिने योजना रहेको बताउनुु भयो । इकाईले महिलाहरुको लागि उद्यमशीलता विकास तालीमहरु संचालन गर्दै आएको सुवेदीले बताउनु भयो । उहाँ भन्नुहुन्छ ‘हामीले महिलाहरुलाई उद्योगी बनाई आर्थिक स्तर उकास्न महिलाहरुलाई लक्षित गरी सीपमुलक तालीम संचालन गरीरहेका छौ ।

इलाममा पछिल्लो समय उद्यमी महिलाहरुको संख्या बढ्दै गएको छ भने महिला उद्यमीहरु सफल पनि बन्दै गएका छन । सरकारले गत साउन देखि महिलाको नाममा उद्योग व्यवसाय दर्ता गर्दा छुट दिए पछि इलाममा महिला व्यवसायीहरु बढ्दै गएको छन । सरकारले महिला संचालक रही एक करोड रुपैया सम्म पूजीँ रहेको उद्योग व्यवसाय दर्तामा एक सय रुपैया निवेदन दस्तुर, एकसय रुपैया रजिष्ट्रेशन शुल्क बाहेक अन्य शुल्क नलाग्ने व्यवस्था सृजना गरेपछि महिला संचालक भएको उद्योग व्यवसाय दर्ता संख्या बढेको घरेलु तथा साना उद्योग कार्यलयका सुचना अधिकारी युवराज घोर्साइले बताउनुभयो । कार्यलयमा पुरुषको नाममा भन्दा पनि महिलाको नाममा उद्योग दर्ता गराउनेको संख्या दिनदिनै बढ्दै गएको घोर्साइले बताउनुभयो । घरेलु कार्यलयले सीप विकास र उद्यमशीलता तालीम स्थानीय तह सँग मिलेर संचालन गदै आएको छ । घरेलु मार्फत संचालन हुने तालीममा ७० प्रतिशत महिला सहभागीता हुनु पर्ने व्यवस्था गरेकोले तालिममा महिला सहभागीता बढी हुने र महिला संचालक रहेको उद्योग बढ्दै गएको हुन सक्ने घोर्साइको भनाई छ ।
चालु आर्थिक वर्षको चार महिनाको अवधीमा एकसय ३८ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग विकास समितिको तथ्याङकमा छ । जसमध्ये सबैभन्दा बढी महिलाको नाममा उद्योग दर्ता भएका छन । महिलाको नाममा ९३ वटा र पुरुषको नाममा ५२ वटा उद्योग दर्ता भएको रेकर्ड छ । हालसम्म घरेलु कार्यलयमा तीन हजार नौसय १७ उद्योग दर्ता भएकोमा नौसय ७१ वटा महिलाको नाममा रहेको तथ्याङक छ ।
महिलाको नाममा धेरै जसो डेरी उद्योग , कृषि फार्म , गाइपालन , वाख्रा पालन , मौरी पालन , पुष्प व्यवसाय , ढाका उद्योग , बंगुरपालन , चिया उद्योग सिलाइकटाई , व्युटीपार्लर , अचार उद्योग , ललीपप उद्योग रहेका छन ।