पर्यटकीय गन्तव्य छिन्टापु सिगार्ने योजना शुरु

पर्यटकीय गन्तव्य छिन्टापु सिगार्ने योजना शुरु

इलाम । जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरीएको इलामको छिन्टापुलाई सिगार्ने योजना निमार्ण शुरु गरिएको छ । इलामको निहारीका समाजसेवा मञ्चको आर्थिक सहयोगमा सन्दकपुर गाउँपालिकाले छिन्टापुको सैन्दर्यीकरणको योजना निर्माण गर्न सुरु गरेको हो ।
समुद्र सतहबाट तीन हजार २०० मिटर उचाइमा रहेको इलामका राम्रा गन्तव्यहरु पर्ने छिन्टापु जैविक विविधता तथा प्रकृति सौन्दर्यको संरक्षण गर्दै आगामी कामहरु कसरी गर्ने भन्ने मार्गचित्र सहितको योजना बनाउन लागेको मञ्चका कार्यकारी निर्देशक रामेश राईले जानकारी दिए ।
वसन्त ऋतुमा डाँडा पाखाभरि राताम्ये फुल्ने लालीगुराँस र छिन्टापुको पोखरीहरुमा पर्ने कञ्चनजङ्घा र कुम्र्भकर्ण हिमालको प्रतिविम्बमा रमाउन समेत पर्यटकहरु जाने गरेका छन् । योजना बनेपछि योजनाकै आधारमा थप विकासका काम गर्न समेत सहज हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश राईले जानकारी दिए ।
छिन्टापु आसपासमा सांस्कृतिक महत्व रहेका तालपोखरी, फुस्रेपोखरी, छिन्टापु पोखरीलगायतका दर्जनौँ पोखरीले रहेका छन् । सन्दकपुर गाउँपालिका–२ मा रहेको छिन्टापुमा फागुन, चैत र वैशाखमा चाँप, गुराँस र सुनाखरी फुल्ने गर्दछन् ।
छिन्टापुसम्मको भ्रमणलाई सहज बनाउन माईपोखरीदेखि टप्पु, खप्परे छिन्टापु पर्यटकीय पदमार्ग निर्माण गरिएको छ । प्रदेश नम्बर १ सरकारको १५ लाख बजेटबाट पदमार्ग निर्माण गरिएको छ ।
छिन्टापुलाई कालोपत्रे सडकबाट जोड्नका लागि इलाम नगरपालिकाको धारापानी, बुधबारे, गोरुवाले हुँदै छिन्टापु र पाँचथरको प्राङबुङ्गसम्म जोड्ने सडकको डिपिआर गर्ने काम सकिएको गाउँपालिकाले जनाएको छ । छिन्टापु क्षेत्रमा ३६ प्रजातिका गुराँसका बोटहरु रहेका छन् ।
लोपोन्मुख वन्यजन्तु रेडपाण्डा, भिरमौरी, झारल, पुतली र सयौँ प्रजातिका चराहरुको बासस्थान रहेको छिन्टापुलाई थप व्यवस्थीत गर्न सौन्दरीकरण योजनाले सहयोग गर्ने गाउँपालिका उपाध्यक्ष सोभा पराजुलीले बताइन् । छिन्टापु आसपासमा अहिले होमस्टे समेत सञ्चालनमा आएका छन् । इलाम सदरमुकामबाट ३५ किलो मिटर दुरीमा रहेको छिन्टापुलाई सडक सञ्जालले जोड्ने काम भइरहेको वडा अध्यक्ष गिरीराज खनालले बताए ।

तस्विर ः पर्यटकिय छिन्टापुको मनमोहक दृष्य । तस्विर सौजन्य ः सन्तोष राई