इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल धावन मार्ग उद्घाटन

इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल धावन मार्ग उद्घाटन


इलाम,फागुन १।
इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको नवनिर्मित धावन मार्ग उद्घाटन गरिएको छ । पुर्व प्रधानमन्त्री एवम् नेकपा समाजबादिका नेता झलनाथ खनाल र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मंत्री प्रेम बहादुर आलेले संयुक्त रुपमा विमानस्थल उद्घाटन गर्नुभएको हो ।विमानस्थल धावनमार्ग उद्घाटन गर्दै पुर्व प्रधानमंत्री खनालले विमानस्थल निर्माण पछि राजधानीसँग इलामको यात्रा एक घण्टा तय भएको बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंत्री प्रेम बहादुर आलेले इलाम पर्यटन सम्भावनाले भरीपुर्ण जिल्ला रहेको बताउँदै जहाजको नियमित उडानका लागि कुनै पनि कुरामा कमी हुन नदिने जानकारी बताउनुभयो । उहाँले आजैदेखि उडानको शुरुवात भएकाले यात्रुको चाप हेरेर विमानको सेड्युल तय हुने बताउनुभयो । मन्त्री आलेले निजि कम्पनी जस्तै साना जहाज थप्ने तयारीमा नेपाल बायुसेवा रहेको जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा प्रदेश १ पर्यटन मंत्री खिनु लङ्वा, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, नेपाल वायुसेवाका कार्यकारी अध्यक्ष युवराज अधिकारी, सांसद सुजाता परियार, सुर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राईले इलाममा चाँडै नै सेवा उपलव्ध गराउन चाहिने पुर्वाधार र उपकरणको व्यवस्था गरिने तत्परता व्यक्त गर्नुभयो ।

गत माघ २६ गते परिक्षण उडान सम्पन्न भएपछि नेपाल वायुसेवाले आजको उडान मार्फत धावनमार्गको उद्घाटन गरिएको जनाएको छ । निजि कम्पनीलाई समेत नियमित जहाज संचालन गर्न कुनै समस्या नहुने प्राधिकरणले जनाएको छ ।

२०५८ सालमा सर्वे सुरु भई सुकिलुम्बा विमानस्थलमा २०६८ चैत्रदेखि निर्माण शुरु भएको थियो । आठ करोड ४० लाख लागतमा गत वर्ष नै धावन मार्ग र पार्कीङ स्थलमा कालोपत्र निर्माण भएको थियो । जम्मा ६ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र सम्पन्न भइसकेको छ । विमानस्थल निर्माणका लागि स्थानीयले ३ सय २८ रोपनी जमीन उपलव्ध गराएका थिए ।