काठमाडौं– दैनिक उपभोग गरिने तरकारीको मूल्य अन्य दिनको तुलनामा चाडपर्वका समयमा दोब्बर खपत हुने गरेको पाइन्छ ।खपत बढेसँगै व्यापारीले चर्को मूल्यमा तरकारी विक्री वितरण गर्दछन् र चाडपर्व सकिएसँगै तरकारीको मूल्य सस्तो हुने गर्दछ ।केही दिनअघिदेखि लगातार वृद्धि भइरहेको तरकारीको मूल्य बुधवार घटेको छ ।
काठमाडौंको मुख्य थोक बजार कालीमाटीमा आज बुधवार तरकारीको भाउ सस्तो भएको छ । जसमा हरियो धनियाँ सस्तो भएको छ ।मंगलवार अर्थात् भाइटीकाको दिन हरियो धनियाँ किलोको ६ सय १५ रुपैयाँ खुद्रा मुल्य तोकिएको थियो । बुधवार किलोमा १ सय ७० रुपैयाँ भाउ घटेर ४ सय ४५ रुपैयाँ खुद्रा मुल्य तोकिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
मंगलवारको तुलनामा बुधवार गान्टे मुलाको भाउ किलोमा ५० रुपैयाँले घटेर १ सय ५ रुपैयाँ खुद्रा मुल्य तोकिएको छ ।त्यस्तै पाते च्याऊ १ सय ९० रुपैयाँ, डल्ले च्याऊ किलोको ५ सय १५ रुपैयाँ, मूला किलोको ५५ रुपैयाँ, गाजर किलोको १ सय ६५ रुपैयाँ खुद्रा मूल्य तोकिएको छ ।
बजारमा बुधवार रातो आलु (भारतीय) किलोको ३५ रुपैयाँ, बन्दा किलोको ६५ रुपैयाँ, रायोको साग किलोको १ सय ६५ रुपैयाँ, पालुंगोको साग र चमसुरको साग किलोको १ सय ५५ रुपैयाँ, अदुवा किलोको २ सय २५ रुपैयाँ र सुकेको खुर्सानी किलोको ३ सय ९० रुपैयाँ खुद्रा मुल्य तोकिएको समितिले जनाएको छ ।