खेल प्रशिक्षकको ‘पार्ट टाइम’ उद्यम

Share This
  •  
  • 136
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    136
    Shares
खेल प्रशिक्षकको ‘पार्ट टाइम’ उद्यम

मिलन राई
रोङ : कराँते प्रशिक्षक तथा जिल्ला खेलकुद विकास समिति इलामका कार्यालय प्रमुख नर बहादुर खवास आफ्नो ‘पार्ट टाइम’ बङ्गुर पालन व्यवसायमा विताउँछन् । एक लाखको लगानीमा शुरु गरेको व्यवसायमा उनको विहान वेलुका र फुर्सदिला क्षणहरु वित्ने गरेका छन् ।
शुरूमा ३० हजार लगानी गरि खोर निर्माण गरेर झापाबाट ७० हजार रकममा १० वटा बङ्गुरको बच्चा खरिद गरेको खवासको भनाइ छ । दशवटा बंगुरबाट शुरु भएको व्यवसायलाई फैलाउने तरखरमा रहेको खबासले सुनाए ‘दानापानीमा ७५ हजार खर्च गरेछु ।’
सालाखाला एक लाख ७५ हजार खर्च गरेका उनले पहिलो पटक ३ लाख १० हजारमा बङ्गुर विक्री गरेको सुनाए । त्यही नाफाले उनी यसको व्यवसायीकतामा हौसिएको बताउँछन् ।
रोङ गाउँपालिका ३ कुट्टीडाँडाका खबासले गाउँपालिकामा बङ्गुरपालन फार्म दर्ता गरेर व्यवसाय शुरु गरेका हुन् । उनी बिहान बङ्गुरलाई दानापानी गर्ने र कार्यालय जाने गर्छन । बेलुका कार्यालयबाट फर्केर फेरि बङ्गुरको स्याहारसुसारमा नै लाग्ने गर्दछन् ।
खवास मात्र होइन रोङ ३ स्थित मझुवा निवासी जयबहादुर राईले पनि बङ्गुरपालन व्यवसाय गर्दै आएका छन् । हाल उनले ३० बङ्गुर पालन गरिरहेका छन् । उनी पनि कराँते खेलाडी हुन् ।
त्यसैगरी तेक्वान्दो प्रशिक्षक बुद्धिराज भुजेल खेल प्रशिक्षण सँगसँगै होटल व्यवसाय सञ्चालन गर्दै आइरहेका छन् । उनले विजेता होटल एण्ड लज नामक होटल सञ्चालन गर्दै आएका छन् ।
तेक्वान्दो रेफ्री गणेश कुमार राई दुग्ध प्रशोधन उद्योग सञ्चालन गर्दे आएका छन् । इलाम पाथिभरा ललिपप उद्योग नामक ललिपप उत्पादन गरि इलामको फिक्कल ,कन्याम,कुटीडाँडा लगायत झापा जिल्लामा पनि उक्त मिठाई विक्री वितरण गर्ने उनको भनाइ छ । हाल कोरोना भाइरस कोविड १९ का कारण व्यवसाय हुन नसक्दा लाखौं घाटा भइरहेको उनले बताए ।
खेलबाट अनुशासन र गतिशिलता सिकेका प्रशिक्षकहरु भन्छन् ‘जीवनका समस्याहरुसंग जुध्न र उन्नती गर्न खेलले प्रेरणा थप्दछ ।’ त्यही प्रेरणालाई उपयोग गर्न सके हरेक क्षेत्रमा सफल बन्न खेलले सहयोग गर्ने उनीहरुको मत छ ।
खेलाडी उत्पादनको हव मानिने रोङ गाउँपालिकाका अन्तर्राष्ट्रिय रेफ्री योगेश चाम्लिङ, राष्ट्रिय प्रशिक्षक ताराकुमार राई ,नरबहादुर खवास,राम चाम्लिङ, हाल दुवईमा प्रशिक्षण गर्दै आएका सुस्मिता निरौला, सरोज निरौला, प्रीति बस्नेत र विमोचना गुरूङ लगायतले खेल क्षेत्रमा राम्रो छवि बनाइसकेका छन् ।
यहाँका कतिपय खेलाडीहरुले खेलसंगै कृषि, पशुपालन, होटल, निर्माण व्यवसाय लगायतका क्षेत्रमा खेलबाट बचेको समय उपयोग गरिरहेका छन् ।