नियमित बजार अनुगमन गर्न माग

नियमित बजार अनुगमन गर्न माग

सूर्योदय : इलामको सूर्योदय नगर उद्योग वाणिज्य संघले फिक्कलमा आयोजना गरेको ‘राउण्ड टेवल’का सहभागिहरुले चाडवाडमा मात्रै हुने बजार अनुगमनलाई नियमित बनाउन आग्रह गरेका छन् ।
सूर्योदय नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरेको राउण्ड टेवलमा सहभागि उद्यमी व्यवसायीले बजार अनुगमले व्यवसायी र उपभोक्ताको हित गर्ने भएकाले बजार अनुगमन नियमित गर्नुपर्ने बताएका हुन् ।
सहभागिले सडक क्षेत्रमा लाग्ने बजारलाई समेत व्यवस्थत गर्नुपर्ने सुझाव दिए । व्यवसायी बिमल कार्कीले भने ‘जताततै पसल फिजाउने गरिएको छ यसलाई नियन्त्रण गरेर फराकिलो ठाउँमा बजार लगाउने व्यवस्था गर्नु आवश्यक छ ।’
उनीहरुले अव्यवस्थीत मासु पसललाई व्यवस्थीत गर्दै वधसाला निर्माण आवश्यक रहेको बताए । घर, सटर भाडामा समेत स्थानीय सरकारसँग समन्वय गरेर सम्झौताको लागि वाणिज्य संघले काम अघि बढाउनु पर्ने उनीहरुको सुझाव छ ।
सहभागिले प्राकृतीक विपतको समयमा राहतका लागि संघले राहत कोषको व्यवस्था गर्नुपर्ने सुझाव दिए ।
नागरिक चासो अभियानका सदस्य रमेश राईले संघले उपभोक्ता हित संरक्षणका लागि बेग्लै संयन्त्र बनाउन गर्नुपर्ने सुझाव दिए ।
राष्ट्रिय कृषक समूह महासंघका नगर अध्यक्ष डम्बर प्रधानले किसानले मल नपाएको गुनासो गर्दै मल व्यवस्थीत गर्न पहल गर्न सुझाव दिए । कार्यक्रममा पवन पोद्दार, राकेश देवान, दिपक प्रधान, भिष्म सुवेदी लगायतले बजार व्यवस्थापनका लागि संघले स्थानीय सरकारसंग मिलेर काम गर्नुपर्ने बताए ।
कार्यक्रमका सभापति संघका अध्यक्ष प्रमोद राईले उद्यमी व्यवसायीका सुझावहरु कार्यान्वायनका लागि संघले पहल शुरु गर्ने बताए । संघले यस अघि कन्याम, अन्तु, पशुपतिनगर, तीनघरेका व्यवसायीसंग राउण्ड टेवल छलफल सम्पन्न गरेको जनाएको छ ।