पञ्चकन्या मन्दिरमा पञ्चकन्या ग्रुपले सामूदायीक भवन बनाउने घोषणा

पञ्चकन्या मन्दिरमा पञ्चकन्या ग्रुपले सामूदायीक भवन बनाउने घोषणा

सूर्योदय : इलामको सूर्योदय नगरपालिका ११ को करिब २५० बर्ष पुरानो पञ्चकन्या मन्दिरमा नेपालको व्यवसायीक घराना पञ्चकन्या ग्रुपले व्यवस्थित सामुदायिक भवन निर्माण गर्ने घोषणा गरेको छ ।
सूर्योदय नगरपालिकको आर्थिक सहयोगमा पञ्चकन्या मन्दिर विकास तथा संरक्षण समितिले निर्माण गरेको हवन कुण्डको उद्घाटन कार्यक्रमको अवसरमा ग्रुपका प्रवन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले पञ्चकन्या ग्रुपले मन्दिर परिसरमा सामुदायीक भवन निर्माण गर्ने घोषणा गरेका हुन् । उनले मन्दिरमा थप संरचना निर्माणका लागि १ लाख ११ हजार नगद समेद समितिलाई उपलव्ध गराउने बताए ।
उनले पञ्चकन्या ग्रुपको शुरुवात नै पवित्र पञ्चकन्या मन्दिरबाट भएकाले यसको विकासमा गु्रपल निरन्तर काम गर्ने समेत बताए । ग्रुपले यस अघि मन्दिर क्षेत्रमा भौतिक निमार्णका कामहरु गरिसकको छ ।
पञ्चकन्या ग्रुप ५० बर्ष अघि स्थापना भएको व्यवसायीक घराना हो । यो समूहको स्थापना इलामको फिक्कलमा जन्मिएका प्रेम बहादुर श्रेष्ठले गरेको हुन् । अहिले यो ग्रुपले फलाम देखि जलविद्युत सम्म १० बटा क्षेत्रमा काम गरिरहेको छ ।
प्रवन्ध निर्देशन श्रेष्ठले स्थानीय स्तरमा केही व्यवस्थापनको काम भएपछि भवन निर्माणको काममा अघि बढ्ने बताए । उनले पञ्चकन्या क्षेत्रको विकासका लागि गुरु योजना निर्माण आवश्यक रहेको समेत बताए ।


सूर्योदय नगरपालिकका मेयर रण बहादुर राईले धार्मीक पर्यटकीय स्थल पञ्चकन्याको विकासका लागि नगरपालिकाले गुरुयोजना निर्माण गर्ने आश्वासन दिए । उनले यस क्षेत्रको विकासका लागि आवश्यक बजेटको व्यवस्था गर्ने समेत बताए ।
रोङ गाउँपालिकाका अध्यक्ष मनि कुमार स्याङ्बोले पाथिभरा, पञ्चकन्या लगायतका धार्मिक पिठहरुको विकासका लागि स्थानीय सरकारले मिलेर काम गर्नु आवश्यक रहेको बताए ।
समितिका अध्यक्ष भिष्म प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा सूर्योदय नगरपालिका ११ का वडाअध्यक्ष सन्तोष राईले मन्दिरको वर्तमान समितिले प्रभावकारी रुपमा काम गरिरहेको बताए । उनले ऐतिहासीक मन्दिरको व्यवस्थापन र प्रचारमा सबैले मिलेर काम गर्नुपर्ने बताए । कार्यक्रममा वडा न ३ का वडा अध्यक्ष लोक बहादुर प्रधानले मन्दिरको विकासका लागि स्थानीयले समेत चासो देखाउनु पर्ने बताए ।
कार्यक्रमका अध्यक्ष भिष्म प्रधानले मन्दिर क्षेत्रको विकासका लागि प्रसस्त कामहरु गर्न बाँकी रहेकाले तीन तहको सरकारले निरन्तर सहयोग गर्नु आवश्यक रहेको बताए । समितिका अध्यक्ष समेत रहेका प्रधानको अध्यक्षता, सूर्योदय नगरपालिकाका मेयर रण बहादुर राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समितिका सहसचिव उमेश पौड्यालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन समितिका सचिव ज्योती अधिकारीले गरेका थिए ।